सुर्खेतमा खड्का र थानी समुहको रस्साकस्सी

कर्णालीपत्र संवाददाता १ मंसिर २०७८, बुधबार ११:२५

सुर्खेत : सुर्खेतमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ९ वटा पालिकाको अधिवेशन आज बुधबार हुने भएको छ।

कांग्रेस सुर्खेतको पालिका अधिवेशन आज बुधबार हुन लागेको जिल्ला निर्वाचन अधिकृत मदन रेग्मीले बताए। सुर्खेतका ९९ वडाकै अधिवेशन सकिएको र आज पालिका अधिवेशन हुन लागेको रेग्मीले जानकारी दिए।

कात्तिक २८ गतेलाई वडा अधिवेशन तोकिए पनि  पार्टीभित्रका दुई समुहबीच सहमति नहुँदा तोकिएको दिनको भोलि र पर्सीपल्टसम्म मतदान भएको थियो।

सुर्खेतमा यसपालि नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी समूहलाई ठुलो धक्का लागेको छ।

यसअघि थानीको पकड क्षेत्र मानिने वीरेन्द्रनगरका धेरै वडामा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का समूहले जित हात पारेको छ।

नेताहरू हृदयराम थानी, कमराज रेग्मी लगायतका नेताहरूको गृहनगर भएका कारण पनि वीरेन्द्रनगरमा यसअघि खड्का समूह कमजोर थियो। तर विगतदेखि नै थानी समूहबाट राजनीति सुरु गरेका केही नेताहरू खड्का समूहमा गएपछि थानी समूहलाई धक्का लागेको हो।

वीरेन्द्रनगरमा आफ्नो पकड भत्किएपछि थानी समूहले नगर सभापतिमा बलियो र मध्यमार्गी उम्मेदवार उठाउने रणनीति लिएको छ। खड्का समूहले भने नगर सभापतिमा उपेन्द्र खड्कालाई अघि सारेको छ। उनी वडा नं ६ बाट सबैभन्दा बढी एक सय १५ मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए।

सुर्खेतका ९९ वटा वडा मध्ये ७५ भन्दा बढी वडामा आफूहरूको नेतृत्व आएको खड्का समूहको दाबी छ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद नमिल्दा कर्णाली प्रदेशका सुर्खेत र डोल्पामा कांग्रेसको वडा तहको अधिवेशन हुन सकेको थिएन।

६५ वटा वडा भएको डोल्पाका तीन वटा गाउँपालिकामा अझै पनि वडा अधिवेशन हुन नसकेको नेपाली कांग्रेसका जिल्ला सभापति अंगत बुढाले बताए।

‘माथिल्लो डोल्पामा रहेका तीन वटा गाउँपालिकामा वडा तहको अधिवेशन पनि गर्न सकिएको छैन। अन्यमा गरिए पनि मान्छे पुर्‍याउनै हम्मे-हम्मे छ,’सभापति बुढाले भने, ‘ठुली भेरी नगरपालिका सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रिपुरा सुन्दरी नगरपालिकामा पनि सहमतिको प्रक्रिया चलेको छ।’

पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डोल्पामा मङ्सिर ६ गतेसम्म सबै तहका अधिवेशन सक्ने तयारी गरेको सभापति बुढाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *