अफगानिस्तानका पूर्वराष्ट्रपतिकी छोरीको ब्लग : अमेरिकाले बुवालाई ‘कम्युनिष्टको कठपुतली’ भन्यो, तालिबानले क्रुरतापूर्वक झुन्ड्याए

कर्णालीपत्र संवाददाता १३ आश्विन २०७८, बुधबार १२:३९

म अफगानिस्तानका पूर्वराष्ट्रपति मोहम्मद नाजिबुल्लाहकी छोरी हुँ। मेरो कथा पहिलो पटक सार्वजनिक गर्दैछु, किनभने म इतिहास दोहोरिरहेको देख्दैछु।

सन् १९९६ सेप्टेम्बर २७ को रात सधैँ लामो हुने गर्छ। म ‘मिड टर्म’ परीक्षाको लागि जागै भएर पढिरहेको थिएँ। त्यही बेला मेरो बुवालाई काबुलस्थित संयुक्त राष्ट्रसंघको परिसरबाट बाहिर लगेको सुनेपछि मेरो आमा शान्त तर, असहज हुनुहुन्थ्यो।

पहिला त म आशावादी थिएँ। मेरो बुवा आफ्नो परिवारसँग मिल्न फर्किनुहुन्छ भन्ने विश्वास थियो। उहाँ नेतृत्वको सरकारको शक्तिमा फेरबदल भएपछि काकाका साथ १९९२ अप्रिल १६ देखि नै संयुक्त राष्ट्रसंघको परिसरमा बस्दै आउनुभएको थियो। उहाँको राजीनामा र बहिर्गमन संयुक्त राष्ट्रसंघको योजनाको एउटा हिस्सा थियो। गृहयुद्धको अन्त्य र गठबन्धन सरकारका लागि शान्तिपूर्ण ढंगले बाटो खोल्न त्यसो गरिएको थियो। तर, शक्तिशून्य अवस्थाका कारण अफगानिस्तान चाँडै नै अराजकताको भुमरीमा फस्यो।

त्यसको चार वर्षपछि ममी, म र मेरा दिदीहरुहरु बुवालाई पर्खँदा छटपटी महसुस गरिरहेका थियौँ। जब तालिबान भनेर चिनिने समूह अफगान राजधानी वरिपरि घुमिरहेको थियो, म विश्वस्त थिएँ कि मेरो परिवारको पुन:मिलनको दिन टाढा छ। मेरो आमाको नजिक बाबुलाई पर्खिरहेको निर्दोष बच्चाको अनुहार थियो, उहाँ भने कतै क्षितिजमा गम्भीर वास्तविकताको महसुस गरिरहनुभएको थियो। ममीले रातभरि समाचार हेरिरहनुभयो। ‘मेरो छैटौँ इन्द्रिय मलाई भनिरहेको छ कि उहाँ फर्किएर आउनुहुने छैन,’ ममीको आँखामा देखिएको डरले हामीलाई त्यही बताइरहेको थियो।

सन् १९९० को दशकमा, संसारलाई इन्टरनेटले जोड्नुअघि, मान्छेहरुलाई तालिबानबारे थोरै मात्र जानकारी थियो। रेडियो रिपोर्टहरुमा देशको दक्षिण–पश्चिम क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको थियो, जहाँ तालिबान मिलिसियाहरु उनीहरुले थालेको युद्धलाई ‘शान्ति, सुरक्षा र स्थायित्वका लागि भएको’ बताइरहेका थिए। त्यस्तो समाचार युद्धबाट थकित अफगानीहरुका लागि लोकप्रिय बन्यो।

तालिबानहरु काबुल प्रवेश गर्नु केही घन्टाअघि मात्र हामीले बुवालाई भेटेका थियौँ। उहाँको आवाजमा कुनै अस्वाभाविकपन थिएन। मलाई अस्पष्ट याद छ कि, उहाँका शब्दहरु सामान्य थिए।

त्यो रातको सुरुवाती केही घन्टामा तालिबानहरु राजधानी शहर काबुल प्रवेश गरेपछि संयुक्त राष्ट्रसंघ परिसरको गेट ढक्ढक्याउन पुगे। अनि ‘ब्रेकिङ न्युज फ्ल्यास’ आयो : अफगानिस्तानका पूर्वनेता, राष्ट्रपति नाजिबुल्लाहलाई फाँसी दिइएको छ।’ मलाई त्यो ‘फाँसी’ शब्दको अर्थ थाहा थिएन। म मेरो दिदीतिर फर्किएँ, तर उहाँको भावशून्य अनुहारले मलाई पीडा दियो। म हतारमा शब्दकोष समाउन पुगेँछु।

म मेरो व्यक्तिगत कथा २५ वर्षपछि यसकारण भन्दैछु कि, अफगानिस्तानमा अहिले जे हुँदैछ, त्यो चिन्ताजनक रुपमा समान छ। फेरि तालिबानहरुले सत्ता हत्याएका छन्। २५ वर्षपछि मेरो र मेरो पुस्ताको अरु धेरै जनाको जीवन सधैँको लागि परिवर्तन हुँदैछ– र त्यो राम्रोका लागि भएको छैन।

मेरो बुवा राष्ट्रपति बन्नुअघि हाम्रो जीवन काबुलमा आनन्दसँग चलिरहेको थियो। हामी सानो अपार्टमेन्टमा बस्थ्यौँ। बुवा कामबाट फर्किएपछि साँझ हामी सबै एक साथ खाना खान्थ्यौँ। त्यो दिनका गतिविधि सुनाउथ्यौँ। तर, बुवा राष्ट्रपति भएपछि यो सबै परिवर्तन भयो।

हामी हाम्रो आरामदायी अपार्टमेन्टबाट भव्य राष्ट्रपति भवनमा सर्‍यौँ। हाम्रो नयाँ बसोबासस्थलमा सुरक्षागार्ड अति धेरै थिए र त्यो सुरक्षित थियो। पर्याप्त खेलमैदान थियो। तर, हाम्रा साथीहरु थिएनन्। त्यो आनन्ददायी वातावरणबाट टाढिएका थियौँ। बुवा सधैँ व्यस्त हुनुहुन्थ्यो। सँगै बसेर खाना खानु पनि दुर्लभ थियो।

बुवा अग्लो र बलियो हुनुहुन्थ्यो। उहाँको प्रभावशाली व्यक्तित्वका कारण ‘नाजिब द बुल’ उपनाम दिइएको थियो। तर, अरु साना छोरीहरुलाई जस्तै मेरो लागि बाबा ‘हिरो’ हुनुहुन्थ्यो।

सन् १९८६ को एक रात, मुजाहिदीनले काबुल नजिक कर्घालेकस्थित गोलाबारुदको डिपोमा आगो लगाए। विष्फोटको अवाजले शहर नै थर्कियो। म अत्तालिएर रोएको थिएँ। त्यति बेला बुवाले मलाई ब्लाङ्केटले छोपेर अङ्गालोमा बलियोसँग बेर्नुभएको थियो। ‘तिमी मसँग सुरक्षित छौ, कसैले हानी गर्न सक्दैन,’ भन्नुभएको थियो। मैले विश्वास गरेको थिएँ। तर, सन् १९९६ मा तालिबानले काबुलमा मार्च गरेपछि उहाँलाई सुरक्षित राख्ने कोही भएन।

मैले उहाँलाई अन्तिम पटक ट्राफिक पोलमा झुन्डिरहेको देखेकी हुँ। उहाँलाई काकासँगै झुन्डाइएको थियो। तालिबानले उहाँहरुलाई तमासा बनाएर प्रदर्शन गरेको देखेपछि मैले अपमानित र सहयोगविहीन महसुस गरेँ। त्यति बेला म १३ वर्षको थिएँ। हामी अफगानिस्तान छाड्न बाध्य भयौँ। मैले मेरो बुवा, मेरो घर र अफगानिस्तान फर्किने आशा जम्मै गुमाएँ।

मान्छेहरु यो अवस्थामा देशबाट निकालिएर बाँच्नुको अनुभूति कल्पना गर्ने प्रयास गर्नसक्छन्। यो शब्दमा व्याख्या गर्न निकै गाह्रो छ। हामी सुरक्षित छौँ, तर हाम्रो भूमि छैन।

सन् १९९२ मा मेरो बुवाले अफगानिस्तान इस्लामी चरमपन्थीको पकडमा जानुअघि नै सुरक्षा कवच बनिदिन अमेरिकासँग आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, ‘यदि अफगानिस्तामा कट्टरपन्थी आए भने अरु कयौँ वर्षसम्म युद्ध जारी रहनेछ। लागुऔषध तस्करीका लागि अफगानिस्तान केन्द्र बन्नेछ र आतंकवाद मौलाउने छ।’

उहाँको चेतावनीलाई बेवास्ता गरियो। सोभियत सेना अफगानिस्ताबाट फर्किएपछि फेब्रुअरी १९८९ मा लगभग सबै पश्चिमा देशले दूतावास बन्द गरेर मेरो बुवाको शासनलाई बहिस्कार गरे। उहाँलाई ‘कम्युनिष्टको कठपुतली’ भएको बताए। हत्यारा र देशद्रोही भएको आरोप लगाए। उहाँ एक्लैले युद्ध लड्नुभयो।

एक दशकपछि उहाँको भविष्यवाणी सत्य सावित भयो। नोभेम्बर ११ को हमलापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्‍यो र इश्लामिक आतंकवादीविरुद्ध सबैभन्दा लामो युद्ध सुरु भयो। म आश्चर्यमा छु, के दुनियाँले उहाँको कुरा सुनेको भए सबै कुरा अलग भएर जान्थ्यो?

तालिबानले व्यक्तिगत र अभिव्यक्ति स्वतन्त्र फेरि एक पटक खोसेका छन्। धेरै अफगानीहरु देश छाडेर भागिरहेका छन्। मेरो परिवारजस्तै धेरैले सम्झनाका ‘सुट्केस’ र घर फर्किने आशा लिएर बाँचेका छन्। के तिनीहरु अब न्युयोर्क शहरमा अर्को उबर ड्राइभर हुनेछन्? वा कुनै कुनाको पसलमा हँसमुख कबाब बिक्रेता हुनेछन्? अनि तिनीहरुको घर फर्किने कुरा के हुन्छ?

द गार्जियनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवादित मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

१३ आश्विन २०७८, बुधबार १२:३९
काठमाडौं । दुई दिनअघि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै […]