एजेन्सी : तालिबानले यो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ।
विश्वका नेताहरुलाई महासभामार्फत सम्बोधन गर्न चाहेको तालिबानले बताएको हो।
अफगानिस्तानको सत्तामा रहेको तालिबानका विदेशमन्त्रीले सोमबार पत्र पठाएर सम्बोधनका लागि अवसर दिन आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसंघको एक समितिले त्यसमाथि छलफल गर्ने छ।
तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता शुहेल शहीनलाई संयुक्त राष्ट्रसंघका लागि अफगान राजदूतका रुपमा नियुक्त गरेको छ।
तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको हो। अहिले आफ्नो सत्ता रहेकाले यसअघिको सरकारले नियुक्त गरेको दूतले देशको प्रतिनिधित्व गर्न नसक्ने तालिबानले बताएको छ।
तालिबानले उच्च तहको सम्मेलनमा सहभागी हुनका लागि गरेको आग्रहमाथि संयुक्त राष्ट्रसंघको क्रेडिन्सियल कमिटीमा छलफल हुनेछ। यो कमिटीमा अमेरिका, चीन र रुससहितका ९ देश छन्।
तर सो कमिटीको बैठक आउँदो सोमबार अन्त्य हुने महासभाको मुख्य सत्र पहिले हुने सम्भावना न्यून छ। तबसम्मका लागि अफगानिस्तानको पूर्वसरकारले नियुक्त गरेका गुलाम इसाक्जाई नै संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत रहने छन्।
उनले महासभाको अन्तिम दिन सेप्टेम्बर २७ मा सम्बोधन गर्ने छन्। तालिबानले भने गुलामले अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ।
मंगलबार भएको संयुक्त राष्ट्रसंघको एक बैठकमा कतारले विश्वका नेताहरुलाई तालिबानसँग सम्पर्कमा रहन आग्रह गरेको थियो। उनीहरुलाई बहिष्कार गर्दा ध्रुवीकरण थप बढ्ने कतारको भनाइ छ।
अफगानिस्तानमा भइरहेको राजनीतिक घटनाक्रममा कतार मुख्य पात्र बनेर उदाएको छ। तालिबानको मुख्यालय कतारमै छ भने अमेरिका र तालिबानको वार्ता पनि त्यहीँ भएको थियो।