यादवलाई पार्टीबाटै निकाल्ने ठाकुर पक्षको तयारी

कर्णालीपत्र संवाददाता २८ बैशाख २०७८, मंगलवार १५:५३

काठमाडौँ– भावी सरकार गठनको विषयलाई लिएर जसपा आन्तरिक किचलोमा फस्ने भएको छ।

वैकल्पिक सरकार गठनको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबीच सोमबार संसदबाटै सुरु भएको दुई धार अब पार्टीको आधिकारिकता, कसको पक्षमा बहुमत र एकअर्कालाई कारबाही गर्ने दिशातर्फ उन्मुख भएको छ।

पुुस ५ गते ओलीले संसद विघटन गरेपछि फागुन २३ गतेसम्म नेकपामा र अहिले एमालेमा देखिएको दृश्य जसपामा दोहोरिने एक नेताले बताए। यस अवधिमा नेकपा र एमालेमा एक पक्षले अर्कोलाई प्रष्टिकरण सोध्ने, निलम्बिन गर्ने र पार्टीबाटै निष्कासन गर्ने होड चलेको छ।

पार्टी नीति र निर्णय विपरीत चलेको भन्दै ठाकुर पक्षले उपेन्द्र यादव र बाबुराम भट्टराईलाई पार्टीबाटै निकाल्नेसम्मको तयारी सुरु गरेको छ।

नेता राजेन्द्र महतोले उपेन्द्र यादव र बाबुराम भट्टराई पार्टी फुटाउन लागिपरेको आरोप लगाए। उनले शेरबहादुर देउवा र प्रचण्ड आफ्नो पार्टी फुटाउन लागिपरेको र त्यसमा सभामुख अग्नि सापकोटाले समेत साथ लिएको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘देउवाजी र प्रचण्डजी हाम्रो पार्टी फुटाउन लाग्नुभएको छ। सभामुखले पनि त्यसलाई साथ दिनुभयो। हिजो देख्नुभएन जसपाबाट ठाकुरजी बोलेपछि उपेन्द्रजीलाई पनि संसदमा समय दिएको, यो त जात्रै भयो नि!’

महतोले निर्णय विपरीत पार्टी फुटाएर सरकारमा जान लागे यादवलाई कारबाही गर्ने चेतावनी दिए। उनले देश सञ्चारसँग भने, ‘उहाँहरु पार्टी फुटाएर सत्ता लिप्सामा लाग्दै हुनुहुन्छ। यदि फुटाउन लाग्नुभयो भने पार्टीले प्रष्टिकरण सोधर कारबाही गर्छ।’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतको प्रस्तावको विपक्षमा यादव पक्षका १७ जनाले मतदान गरेका थिए भने ठाकुर पक्षका १५ जना तटस्थ बसेका छन्। यादवले कांग्रेस र माओवादी केन्द्रसँग सरकार बनाउन तम्सिएपछि ठाकुर र महतो त्यसलाई रोक्न सक्रिय छन्।

ठाकुर पक्ष नयाँ सरकारमा तटस्थ बसेर परोक्ष रुपमा चुनावमा जाने केपी ओलीको योजनालाई सहयोग गर्ने रणनीतिमा लागेको छ।

सोमबार नै शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दललाई सरकार बनाउने अवसर दिन माग गर्दै राष्ट्रपतिलाई सार्वजनिक रुपमा आह्वान गरेका थिए। त्यसको केही घण्टामै राष्ट्रपति कार्यालयबाट ७६ (२) कै सरकार गठनका लागि आह्वान पनि भइसकेको छ।

यादव र बाबुराम भट्टराई पक्षको निर्णयलाई निस्तेज पार्न ठाकुरले सामेबार राति नै राष्ट्रपति कार्यालयलाई मेलमार्फत पत्र पठाउँदै  जसपाको पहिलो अध्यक्ष आफू भएको र पार्टी वैकल्पिक सरकार बनाउन पार्टीले कुनै निर्णय नगरेको जानकारी दिएका छन्।

ठाकुरले मंगलबार कार्यालय खुलेपछि लिखित औपचारिक पत्र पनि राष्ट्रपति कार्यालयमा दर्ता गराएको ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी दिए।

पत्रको व्यहोराबारे जानकारी दिँदै उनले भने, ‘बहुमतको सरकार बनाउनका लागि प्रयास थालिएको पत्रमा उपेन्द्र यादवको हस्ताक्षर व्यक्तिगत हो। पार्टीको आधिकारिक पहिलो अध्यक्ष म हुँ। पार्टीले कुनै पनि सरकारमा सहभागी हुने निर्णय लिएको छैन। त्यसकारण जसपा सरकार गठनको प्रक्रियामा सहभागी हुँदैन।’

विज्ञप्तिमार्फत पनि ठाकुरले जसपा वैकल्पिक सरकार निर्माणको खेलमा नरहेको जनाएका छन्।

स्रोतका अनुसार ठाकुरले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीलाई प्रत्यक्ष भेटेर त्यसबारे बताउने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य अधिकार माग्दै उच्च अदालतमा रिट

२८ बैशाख २०७८, मंगलवार १५:५३
सुर्खेत — अक्सिजनलगायत स्वास्थ्य सेवा सुलभ बनाउन र मानव अधिकारको संरक्षण गर्न माग गर्दै सुर्खेत उच्च अदालतमा दुईवटा रिट परेका छन् । निवेदकले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश अस्पताललाई विपक्षी बनाएका छन् । अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभाव देखाई […]