एजेन्सी । वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मूला उमारेका छन । अन्तरिक्षमा उमारिएको मुलालाई सन २०२१ मा पृथ्वीमा ल्याइनेछ ।
नासाकी अन्तरिक्ष यात्री तथा फ्लाइट इन्जीनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेस स्टेशनमा उमारिएको मूला संकलन गरेकी छिन ।
केटले २० वटा मूलालाई सन २०२१ मा पृथ्वीमा ल्याउनका लागि भन्दै प्याक गरेर कोल्ड स्टोरमा राखेकी छिन ।
नासाले यो अनुशन्धानलाई प्लान्ट हेबिटेट ०२ (Plant Habitat-02) नाम दिएको छ । अन्तरिक्षमा उमारिएको मूलामा आवश्यक पोषक तत्व रहेको र खान योग्य रहेको बताइएको छ ।
वैज्ञानिकहरुले २७ दिन अर्थात पृथ्वीमा भन्दा छिटो मूलाको खेती तयार हुनेमा विश्वस्त भएकाले अन्तरिक्षमा मूला उमारेका हुन ।
मूला छिटो तयार हुने बाली भएकाले यसलाई अध्ययनका लागि प्रयोग गरिएको वैज्ञानिकहरुले बताएका छन ।
नासाले जनाए अनुसार अन्तरिक्षमा मूलाको खेती गर्न निकै राम्रो देखभालको आवश्यकता पर्छ । मूला खेती गरिएको स्पेशको कक्षमा रातो, निलो, हरियो र सेतो एलईडी लाइटको प्रकाश दिने ब्यवस्था गरिएको छ ।
यसबाट मूलाको विरुवा राम्ररी हुर्कन्छ । अन्तरिक्षमा उमारिएको यो मूलालाई फ्लोरिडाको केनेडी स्पेश सेन्टरमा उमारिएको मुलासंग तुलना गरिनेछ ।
अन्तरिक्षमा जीवनको सम्भावना बारे अध्ययन गर्न मूलाको खेती गरिएको वैज्ञानिकहरुले बताएका छन ।
मूलाको हुर्काइको गति प्रायगरी जेनेटिक रुपमा अन्तरिक्षमा अध्ययन गरिने स–साना फुल फुल्ने अराबिडोप्सिस नामक बनस्पति जत्तिकै रहेको वैज्ञानिकहरुले बताएका छन ।
विरुवाको अनुशन्धानका लागि अन्तरिक्षमा तयार पारिएको एडभान्स प्लान्ट हेबिटेट भनिने विशेष कक्षमा मूला उमारिएको नासाले जनाएको छ ।