सर्वोच्चद्वारा पूजाआजा रोक गरिनुको कारण माग

कर्णालीपत्र संवाददाता १४ आश्विन २०७७, बुधबार ०७:२४

सर्वोच्च अदालतले पूजाआजाका लागि पशुपतिनाथलगायतका मन्दिर हालसम्म पनि खुला नगरिनुको कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायसँग माग गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथलगायतका मन्दिर पूजाआजाका लागि हालसम्म पनि खुला नगरिनुको कारण पेस गर्न आदेश दिएको हो । इजलासले त्यस्तो कारण १५ दिनभित्र पठाउन पनि आदेशमा भनेको छ ।

ले   मुलुकमा लगाइएको लकडाउन (बन्दाबन्दी)को अवधि सकिएको भए पनि हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलगायतका मठमन्दिर हालसम्म पनि खुला नगरिएको हुनाले त्यसलाई खुलाई पाउन माग गर्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा नेपालमा झन्डै ९० प्रतिशत हिन्दू धर्म मान्ने व्यक्ति रहेका उल्लेख गर्दै लकडाउन खुलिसकेपछि पनि उनीहरूको आराध्य देव पशुपतिनाथको मन्दिरलगायतका मठमन्दिर खुला नहुने कार्यले संवैधानिक हक हनन भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत भदौ ३१ गते आदेश जारी गरी मठ, मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजाबाहेक भीडभाडजन्य गतिविधि सञ्चालन गर्न रोक लगाएको थियो ।

रिट निवेदक पौडेलले अप्रत्यक्षरूपमा मस्जिद, चर्चलगायतका स्थलहरू खुला भए पनि हिन्दूहरूको आस्थाको केन्द्र भने हालसम्म खुला नगरिएका कारण भेदभाद भएको उल्लेख गर्नुभयो । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको भदौ ३१ गतेको आदेशलाई खारेज गर्न माग गरिएको छ ।

हाल मुलुकमा बन्दाबन्दीको अवस्था हटिसकेको, सम्पूर्ण यातायातका साधन, हवाई उडान, होटेल, रेस्टुरेन्टसमेत सञ्चालनमा आइसकेको अवस्थामा पनि मन्दिर बन्द राख्ने कार्यले नेपालको संविधानको धारा २६ मा रहेको धार्मिक स्वतन्त्रताको हक हनन भएको रिट निवेदनमा उल्लेख गरिएको छ । धारा २६ (१) मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने स्पष्ट गरिएको छ ।

यसै गरी सरकारको कार्यले मुलुकी देवानी संहिता, २०२० को दफा २० को उपदफा (२) को खण्ड (ज) मा रहेको सार्वजनिक नैतिकता र परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको हनन भएको रिट निवेदनमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त

१४ आश्विन २०७७, बुधबार ०७:२४
सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनौट गरी नियुक्ति दिन गएको असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा नेतृत्वको तीन […]