Trending

के छ नेकपाले जारी गरेको अपानिमा? ( मुख्य मुख्य बुँद्धाहरु)

काठमाडौं  :  पार्टीभित्र देखा परेका विवाद र मतभेदलाई आगामी दिनमा नदोहोर्‍याउने प्रतिवद्धतासहित नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । २९ भदौमा जारी अपानिमा २६ भदौको स्थायी कमिटीको बैठकलाई आगामी दिनमा पुराना विवाद ननिकाल्ने प्रतिवद्धताको प्रस्थानविन्दु अर्थात् निश्चित समय निर्धारण गरेका हुन् । अन्तर पार्टी निर्देशिकामा भएका मुख्य बुँद्धाहरु

प्रदेश सरकार पुनर्गठन 

प्रदेश सरकारले प्रभावकारी काम नगरेको निस्कर्षमा नेकपा पुगेको छ ।  सोहीअनुसार अपानि पनि जारी गरिएको छ । अपानिमा भनिएको छ, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटजस्ता नीतिगत विषय र राजनीतिक नियुक्तिजस्ता विषयमा निर्णय गर्दा सम्बन्धित प्रदेश कमिटीका पदाधिकारीसँग समन्वय गर्ने । आवश्यकताअनुसार पार्टीसँगको परामर्श र समन्वयमा मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरिने छ ।’

नेताविरुद्ध सामाजिक सञ्जालमा नलेख्नू

पार्टीको प्रचार संयन्त्रलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउने तर विभिन्न वेबसाइट तथा डिजिटल प्लेटफर्महरूमार्फत देखा परेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने अपानिमा उल्लेख छ । साथै, सञ्चारमाध्यमा पार्टी हितविपरीतका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने पनि भनिएको छ ।

त्यसैगरी, व्यक्तिगत हितलाई पार्टीगत हितको मातहतमा राख्न नसक्दा अन्तरविरोध हुर्कने, अराजकता मौलाउने र कटुतापूर्ण बन्दै गएको अपानिमा उल्लेख छ । अध्यक्षद्वयले जारी गरेको अपानिले त्यस्तो अन्तरविरोध, गुटबन्दी र पद्धतिहीनतामा नेतृत्वको समेत कमजोरी रहेको स्वीकार गरेको छ । त्यस अर्थमा सबैलाई आत्मसमीक्षा र आत्मलोचित हुँदै भविष्यमा त्यस्ता कमजोरी नदोहोर्‍याउन अपानिमार्फत निर्देश गरिएको छ ।

अपानिमा भनिएको छ, ‘सम्बिन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ-आफना गल्ती, कमजोरीप्रति आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरी दोहोरिन नदिन निर्देशित गर्दछ ।’

त्यसैगरी, अपानिले पार्टी एकताको मर्म र भावना र दुई पार्टी एकता गर्दाका सहमतिका आधार अनुसरण गर्न पनि निर्देश गरेको छ । आन्तरिक विवादलाई कटुता, शत्रुतापूर्ण बनाउने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुटका अलगअलग बैठक बस्ने र निर्णय गर्ने र सार्वजनिक रूपमा आरोपप्रत्यारोमा उत्रिने शैलीलाई मर्यादित र विधिसम्मत बनाउन प्रण गर्ने पनि अपानिमा उल्लेख छ ।

‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्ने जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ,’ अपानिमा भनिएको छ ।

सांसदले जीवनशैली बदल्नू

नेकपाले नेता/कार्यकर्तालाई आफ्नो कार्यशैली र जीवनशैली परिवर्तन गर्न निर्देश गरेको छ । ‘पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, नीति, विधि र पद्धति स्थापित गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधिको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएका आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्ने निर्णय गर्दछ,’ अपानिमा भनिएकाे छ, ‘सबैलाई विशेषतः जिम्मेवार कमरेडहरूलाई पारदर्शी जीवनशैली अपनाउन आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ ।’

असोजभित्र एकता टुंग्याउनू

दुई पार्टी एकता भएकाे झण्डै दुई वर्षमा पनि एकता प्रक्रिया टुंगो नलागेको भन्दै अध्यक्षद्वयले जारी गरेको अपानिमा असोजभित्र सक्न निर्देश उल्लेख गरिएकाे छ । अबको एक महिनामा सबै आयोग, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ नागरिक मञ्च, पोलिटब्युरो, केन्द्रीय विभाग, प्रदेश सम्पर्क कमिटी र स्थानी तहका कमिटीहरूलगायत सबै कमिटीलाई संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण गर्ने जनाएको छ ।

नेताका प्रतिष्ठान गुटका अखडा 

अपानिमा उल्लेख गरेअनुसार नेताको नाममा रहेका प्रतिष्ठान वा संघसंस्था गुटबन्दीको माध्यम बन्दै गएकाले नियमन गरिने भएको छ । त्यसका लागि ती प्रतिष्ठानको आर्थिक स्रोत र क्रियाकलापबारे तथ्यपरक जानकारी प्राप्त गर्ने र त्यसमा पार्टीका नेता कार्यकर्ता वा सदस्यहरूको सदस्यको संलग्नताको स्वरुप निश्चित गर्ने अपानिमा उल्लेख छ । ती सबैको व्यवस्थापनका लागि नेकपाको सचिवालयले कार्यदल गठन गर्ने र प्रतिवेदनअनुसार आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी फेरबदल

राजनीतिक तथा संगठनात्मक क्षेत्रको कामलाई गतिशील तथा प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने पनि अपानिमा उल्लेख गरिएको छ । ‘परिभाषित कामको मूल्यांकनमा आधारित भएर केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरूको कार्यविभाजिनको पुनरावलोकन गरिने छ,’ अपानिमा भनिएको छ ।

३३ प्रतिशत महिला 

दुवै अध्यक्षले पार्टीलाई समावेशी बनाउने क्रममा सबै तहका कमिटीमा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएका छन् । साथै, अपानिमा राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनका मञ्चहरूमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता पनि उल्लेख गरिएको छ ।

तत्काल कारबाही फुकुवा 

पार्टीले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने तथा कारबाही फुकुवा गनुपर्नेलाई विषयमा तत्काल टुंगो लगाउने पनि अपानिमा भनिएको छ । ‘पार्टीमा मागा भई आएका अनुशासनात्मक कारबाही गर्नुपर्ने वा कारबाही फुकुवा गर्नुेपर्ने विषयमा यथाशीघ्र टुंगो लगाइनेछ,’ अपानिमा भनिएको छ ।

अर्को एक बुँदामा पनि त्यस्तै प्रसंग उल्लेख गरिएको छ । त्यसमा भने महानगर कमिटीको विवाद, कतिपय जिल्ला र सो मातहतका पार्टी कमिटी गठनको समस्यादेखि अनुशासन उल्लंघनका घटनाको अध्ययन अनुसन्धान गरी असोजभित्र टुंगो लगाउने उल्लेख गरिएको छ ।

महाधिवेशनमा सिर्जनात्मक सिद्धान्त 

पार्टी एकताको मर्मअनुसार महाधिवेशन सहमतिका आधारमा गर्ने नेकपाको अपानिमा उल्लेख छ । २५ चैतदेखि ३० सम्म काठमाडौंमा हुने महाधिवेशनका अन्य प्रक्रिया भने पार्टी विधानअनुसार गर्ने उल्लेख गरिएको छ ।

अपानिका अनुसार महाधिवेशनबाट नयाँ सिर्जनात्मक सिद्धान्तलाई संस्थागत गरिनेछ । मार्क्सवाद र लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषताअनुसारको सिद्धान्त संस्थागत हुनेछ । त्यसका लागि पूर्वएमालेको शान्तिपूर्ण आन्दोलन र पूर्वमाओवादीको सशस्त्र जनयुद्धको सकारात्मक वैचारिक पक्षलाई समेटिनेछ ।

महाधिवेशन तयारीका लागि १५ कात्तिकदेखि १७ सम्म हुने केन्द्रीय समितिको बैठकले दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायतका संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका टुंगो लागाउने छ ।

त्यसैगरी, संगठन विभागले असोजभित्र जिल्ला कमिटीले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभाग पठाउने र मंसिरभित्र संगठित सदस्यता नवीकरण सक्ने अपानिमा उल्लेख छ ।

छलफलपछि मात्रै संसद पुग्ने विधेयक  

सरकारले पार्टीसँगको छलफलपछि मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विधेयक संसदमा लैजाने अपानिमा उल्लेख छ । त्यसैगरी, भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा सरकार आफैँले थालेकाे छानबिन प्रक्रिया छिटो टुंगो लगाउने पनि भनिएको छ । अनुपयुक्त प्रशासनिक खर्च कटौती गर्ने र मितव्ययिताको नीति अवलम्बन गर्ने प्रतिवद्धता पनि अपानिमा गरिएकाे छ ।

सांसद्‌लाई प्रशिक्षण 

संसदीय दलको विधानअनुसार काम नभएको भन्दै अपानिमा अब प्रभावकारी बनाउने तथा संरचना निर्माण तथा क्रियाशील बनाउने भनिएको छ । अहिलेसम्म नेकपाको दुईवटा भवनमा रहेका संसदीय दलको कार्यालयलाई एउटै  भवनमा ल्याउने पनि अपानिमा उल्लेख गरिएको छ ।  साथै, सांसदहरूलाई सम्बन्धित विषयमा प्रशिक्षणको व्यवस्था पनि गरिनेछ ।

सीमा टुंगो लगाउन वार्ता 

नेकपाले अपानि जारी गर्ने क्रममा कालापानी क्षेत्रको सीमा विवाद टुंगो लगाउन भारतलाई ऐतिहासिक तथ्यको सम्मान गर्न र सुगौली सन्धिअनुसार काली नदी पूर्वको सबै भूभाग नेपालको हुने यर्थाथलाई स्वीकार गर्न र नेपालको भौगोलिक अखण्डताको कदर गर्दै वार्तामा आउन आग्रह गरेको छ ।

परिमार्जनपछि एमसीसी पास

अमेरिकी सहयोग परियोजना (एमसीसी) परिमार्जनपछि मात्रै संसदबाट अनुमोदन गर्ने अपानिमा उल्लेख छ । एमसीसीको अध्ययनका लागि गठन गरेको कार्यदलको प्रतिवेदन स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने र सम्झौतालाई राष्ट्रिय हितमा हुने गरी आवश्यक परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने अपानिमा उल्लेख छ ।