Trending

दुई कर्मचारीमा कोरोना देखिएपछि आयल निगमको नेपालगन्ज इन्धन डिपो बन्द

 नेपालगन्ज :   नेपाल आयल निगम लिमिटेडको इन्धन डिपो, मा कार्यरत दुई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरूलाई आइसोलेसनमा राखेर उपचार थालिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार गत बुधबार गरिएको पिसिआर परीक्षणमा दुई कर्मचारीलाई कोराेना देखिएको थियो । त्यसपछि बिहीबारदेखि नेपालगन्ज कार्यालय बन्द गरिएको छ ।

‘बिहीबारदेखि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ,’ उनले भने, ‘कार्यालय खुलेपछि पनि रिजर्भ राखिएका कर्मचारीबाट काम हुन्छ ।

पिसिआर परीक्षणमा सहभागी भएका कर्मचारीलाई काममा लगाइनेछैन ।’

निगमले प्रत्येक डिपो–कार्यालयमा रिजर्भ कर्मचारी राखिरहेको छ ।

‘अहिले निगमका अधिकांश कार्यालय एकतिहाइ कर्मचारीबाट सञ्चालित छन् । र, बाँकी कर्मचारीलाई ब्याकअप फोर्सका लागि रिजर्भमा राखिएको छ,’ उनले भने, ‘कुनै समस्या भए रिजर्भ कर्मचारीलाई खटाइन्छ ।

रिजर्भ राखिएका कर्मचारीहरू नियमित कार्यालय जानु नपर्ने व्यवस्था मिलाएका छौँ ।’

नेपालगन्ज कार्यालय पाँच दिनका लागि बन्द गर्नुपरेपछि पश्चिम क्षेत्रमा इन्धन आपूर्ति गर्न केही असहजता हुनेछ ।

किनभने नेपालगन्जले ६ नम्बर प्रादेशिक कार्यालय, सुर्खेत र दाङस्थित शाखा कार्यालयमा समेत इन्धन उपलब्ध गराउँदै आएको थियो ।

नेपालगन्ज कार्यालय बन्द भएपछि त्यसअवधिभर ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवा र ७ नम्बर प्रादेशिक कार्यालय, धनगढीबाट इन्धन ओसार्ने व्यवस्था मिलाइएको छ ।

यसरी इन्धन ओसार्दा भैरहवा र धनगढीकै ट्यांकर प्रयोग गर्न निर्देशन दिइएको छ ।

त्यस्तै दाङका लागि भैरहवा डिपोबाट र सुर्खेत कार्यालयका लागि धनगढीबाट इन्धन ओसार्ने व्यवस्थासमेत मिलाइएको निगमले जनाएको छ ।