गर्भवती श्रीमतीको परीक्षाका लागि स्कूटरमा पार गरे १२ सय किलोमिटरको यात्रा

कर्णालीपत्र संवाददाता २१ भाद्र २०७७, आईतवार १०:१४

   

एजेन्सी ।    धनजंय हांसदा र सोनी हेंब्रम भारतमा आजकाल निकै चर्चित छन् । स्कुटरबाट करिब १२ सय किलोमिटरको यात्रा गरेर झारखण्डबाट मध्य प्रदेश पुगेका यी आदिवासी दम्पत्तीको कहानी अहिले निकै चर्चामा छ ।

धनंजयले स्कुटरमा यो यात्रा यसकारण गरेका थिए किनभन उनी आफ्नी श्रीमती सोनीको डिप्लोमा इन एलिमेन्ट्री एजुकेशन (डिलेड) को परीक्षाका लागि मध्यप्रदेशको ग्वालियर पुग्नु थियो ।

स्थिती सामान्य हुँदो हो त उनीहरु जसीडीह (झारखण्डस्थित गोड्डा नजिकैको रेलवे स्टेशन) बाट दिल्लीसम्मको यात्रा रेलमार्फत् गर्दथे । त्यहाँबाट अर्को रेलले उनीहरुलाई ग्वालियर पुर्याइदिन्थ्यो । लकडाउनका कारण यो सम्भव थिए । यो रुटमा अहिले हप्तामा एक दिन मात्रै रेल चल्छ । यस्तोमा ग्वालियर पुग्ने एकमात्र माध्यम सडक नै थियो ।

कार वा कुनै अन्य सवारीमा यो यात्रा असाध्यै महँगो हुन्थ्यो । तसर्थ, धनंजय र सोनीले स्कुटीमार्फत् ग्वालियर जाने योजना बनाए । गहना धितो राखेर १० हजार भारु उधारो लिए र यसरी नै बहुचर्चित यात्राको सुरुवात भयो । सोनी आजकाल सात महिनाकी गर्भवती छिन् । यस्तोमा उनको यात्रा जोखिमयुक्त थियो ।

यदि हिन्दी फिल्मको स्क्रिप्ट हुँदा हो त यो कहानी तीन घण्टामा पूरा हुन्थ्यो । पपकर्न र ड्रिङ्क्सका लागि १०–१५ मिनेटको मध्यान्तर पनि हुन्थ्यो ।

तर यहाँ धनंजय र सोनी न त फिल्मका अभिनेता हुन् न नै यो कहानी फिल्मी हो त्यसैले उनीहरुलाई यो यात्रा पार गर्न तीन दिन लाग्यो । २८ अगस्ट बिहान गोड्डाको गंगटा बस्तीबाट निस्केको यो दम्पत्ति ३० तारिख दिउँसो ग्वालियर पुग्यो ।

यतिबेला यी दुईले सडकको किनारामा रात बिताए । कहिले वर्षा झेले र कहिले प्रचण्ड गर्मी ।

धनंजयको कहानी उनकै शब्दमाः

धनंजय हांसदाले उनले कुनै पनि हालतमा आफ्नी श्रीमतीलाई परीक्षा दिलाउने प्रण लिएका थिए ।

उनी भन्छन्, ‘मेरो यहि जिद्दीले शक्ति प्रदान गर्यो र हामी सडकको यात्रामा निस्कियौं । जीवनमा पहिलो पटक दुई दिनमा ३५ सयको पेट्रोल किनेँ । हामी कुरा गर्दै स्कुटीमा यात्रा गरिरह्यौं । अब सोनी परीक्षामा समावेश हुँदैछिन् । १ सेप्टेम्बरदेखि सुरु भएको यो परीक्षा ११ तारिखसम्म चल्नेछ । त्यसपछि हामी गोड्डा फिर्ता हुनेछौं तर हामी यो यात्रालाई जीवनभर याद गर्नेछौं ।’

धनजंय हंसदाले बीबीसँग भने, ‘गोड्डाबाट बिहान ८ बजे हिँड्दा भागलपुरसम्मको सडक निकै खराब थियो । स्कुटी निकै हल्लिरहेको थियो त्यसैले सोनीलाई केही होला कि भनेर असाध्यै डर लागेको थियो । उनी गर्भवती छिन् । सडकका खाल्डामा पानी भरिएका थिए, ती कति गहिरा छन् भन्ने अन्दाज पनि थिएन ।’

‘हामी कसैगरी भागलपुर गयौं । त्यहाँ बस खोज्यौं तर लखनऊसम्मको यात्राका लागि एक व्यक्तिले पाँच हजार मागे । त्यसपछि हामीले निश्चित गर्यौं कि स्कुटीबाहेक अब हाम्रो कुनै सहारा छैन । यसैमा ग्वालियर जाने निश्चिय गर्यौं किनभने हामीसँग त्यति धेरै पैसा थिएन ।’

‘रिँगटा नलागोस् भनेर मैले श्रीमतीलाई अनुहार ढाकेर स्कुटीमा बस्न भनेँ । भागलपुरमा सडकको किनारामा बाढीको पानी थियो । त्यसमाथि हल्का वर्षा । लगातार स्कुटर चलाएका कारण उसलाई पेट दुख्न थालेको थियो । मलाई डर लागेपछि २८ तारिखको राती मुजफ्फरपुरमा एक लजमा बस्यौं । त्यहाँ उनको पेटको मालिस गरिदिएँ, उनलाई हल्का भयो ।’

‘भोलिपल्ट बिहान ४ बजे यात्रामा निस्कियौं । पानी परेका कारण हाम्रो कपडा भिजेका थिए । लखनउ पुग्दा नपुग्दै हामी निकै थाकिसकेका थियौं । त्यतिबेला मैले लज वा होटल खोजेँ तर हाइवेमा केही पनि भेटिनँ । लखनउबाट आगराको हाइवेमा केही पर गएपछि एउटा निमको रुख मुनी रेनकोट र तन्ना ओछ्याएर हामीले हाम्रो दोस्रो रात कटायौं । त्यो दिन वर्षा नभएका कारण हामीलाई समस्या पनि भएन । त्यहाँ अरु मानिसहरु पनि सुतेका थिए । हामीसँग कम्बल पनि थियो । त्यो रात कसैगरी कट्यो ।’

‘त्यसको भोलिपल्ट पुनः हामीले चार बजे यात्रा सुरु गर्यौं । त्यतिबेला चर्को घाम थियो । असाध्यै गर्मी भइरहेको थियो । बाटोमा भएका होटलमा बसी–बसी, केही खाँदै– खाँदै हामी दिउँसो दुई बजे ग्वालियर पुग्यौं । त्यतिबेला हामी निकै थाकिसकेका थियौं तर ग्लालियर पुग्ने बित्तिकै मेरी श्रीमतीको स्वास्थ्य खराब भयो । हल्का ज्वरो आयो ।’

‘डर लाग्यो, कतै खोकी लाग्ने त होइन । खोकी लाग्यो भने त परीक्षा नै दिन पाउँदिनन् । कोरोना लागेको बता लाग्नेछ । तर औषधी पसलबाट औषधी किने र खुवाएँ । तातो पानी खुवाएपछि उनको स्वास्थ्य ठिक भयो । विजय सिंह राठौर नामका एक पत्रकारले पनि मद्दत गरे । अब मेरो मिहिनेत यसकारण सफल भयो किनभने सोनीले अन्नतः आफ्नो परीक्षा दिइरहेकी छिन् ।’

परीक्षा नदिँदा के हुन्थ्यो ?

धनंजय भन्छन्, ‘परीक्षा नदिने त प्रश्न नै उठ्दैन । मैले तीन कक्षासम्म मात्रै पढेको छु । बुवाको काम गुमेको थियो । म पाँच भाइ बहिनीमध्ये जेठो थिएँ । त्यसैले १४ वर्षको उमेरमा घर छोडेर कमाउन गएँ । यसैकारण पढ्न पाइनँ ।’

‘गत वर्ष विवाह भयो । त्यतिबेला नै मैले निश्चित गरेँ कि मैले पढ्न नसकेपनि मेरी श्रीमतीको पढाई पूरा गर्नेछु । सोनी शिक्षक बन्न चाहन्छिन् । त्यसैले यो परीक्षा दिलाउन आवश्यक थियो । डिलेड पास गरे, झारखंड सरकारले रिक्त पदको घोषणा गर्दा उनले जागिर पाउनेछिन् । उनी (सोनी) म जस्तै किन अनपढ हुने ? उनले आफ्नो सपनालाई पूरा गर्नुछ ।’

‘प्रेमका कारण लामो यात्रामा निस्कन डर लागेन’

सोनी र धनंजयको जीवनमा एउटा कुरा मिल्दो छ । दुबैका पिता उनीहरु कम उमेर हुँदा नै बिते । अब सोनीले आफूलाई भाग्यमानी ठान्छिन् किनभने उनका श्रीमान्ले उनलाई शिक्षक बन्नका लागि यति हदसम्मको जोखिम मोले । उनका अनुसार यस्तो सबैले गर्दैनन् ।

सोनी भन्छिन्, ‘म सानै हुँदा देखि नै शिक्षक बन्न चाहन्थेँ । विवाहपछि मैले यो कुरा श्रीमानलाई बताउँदा उहाँ निकै खुसी हुनुभएको थियो । सायद उहाँले कम पढ्नुभएको भएर पनि होला उहाँले मेरो पढाईलाई अत्यधिक महत्व दिनुभएको छ । मलाई आफ्नो श्रीमानमाथि गर्व छ र उहाँको प्रेममा विश्वास छ । त्यसैले स्कुटीमा यात्रा गर्ने निर्णय गर्दा मलाई अलिकति पनि डर लागेन । हामीले यहि प्रेमका कारण नै यति लामो र जोखिमयुक्त यात्रा निकै सजिलै पार गर्यौं ।’

अब के गर्नेछन् धनंजय ?

धनंजय र सोनीले आफ्नै एक परिचितको मद्दतले ग्वालियरको डीडी नगर इलाकामा १५ दिनका लागि भाडामा एउटा कोठा लिएका छन् । यसका लागि उनीहरुले १५ सय तिनुपर्नेछ ।

आजकाल यहि कोठा नै उनीहरुको बासस्थान हो । २६ वर्षका धनंजय अब रेल वा कारबाट फिर्ता हुन चाहन्छन् । गर्भवती श्रीमतीले स्कुटरमा झेलेको दुःख पुनः झेल्न नपरोस् भनेर उनले यस्तो चाहना राखेका हुन् ।

यसका लागि उनी झारखंड सरकारबाट मद्दत चाहन्थे । तर धनंजयले बीबीसीलाई अब अडाणी समूहले उनीहरु फिर्ता हुनका लागि फ्लाइटको टिकटको बन्दोबस्त गरिदिएको जानकारी दिएका छन् ।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षामार्फत प्रधानाध्यापक छनोट, सम्झौताअनुसार न्यूनतम काम नगरे बर्खास्ती

२१ भाद्र २०७७, आईतवार १०:१४
रुकुमपश्चिम:   पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ।  छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रूपैयाँ जरिमानासमेत तिनुपर्ने नियम बनाइएको छ।   नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा  परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ। विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह […]