ट्रम्पकी दिदीले आफ्ना भाइलाई भनिन्–सिद्धान्त बिहीन झुटो व्यक्ति

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७७, सोमबार ०७:०८

एजेन्सी ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ (राष्ट्रपति ट्रम्प) कुनै सिद्धान्त नै नरहेको झुटो व्यक्ति रहेको बताएकी छन् ।

संघीय अदालतकी पूर्व न्यायाधीश मेरियान ट्रम्प ब्यारीले भाइ डोनाल्ड ट्रम्पका बारेमा बोलेको कुरा उनकी भतिजी मेरी ट्रम्पले रेकर्ड गरेकी थिइन् । सोही रेकर्ड अहिले बाहिरिएको हो ।

गएको महिना राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा शनसनी पूर्ण पुस्तक प्रकाशित गरेकी मेरी ट्रम्पले आफ्नी फुपुले ट्रम्पका बारेमा बोलेको कुरा रेकर्ड गरेकी थिइन् ।

सार्वजनिक भएको अडियो रेकर्डमा ट्रम्पका बारेमा ब्यारीले भनेकी छन्, ‘उसका गड्याम ट्वीट र झुटहरु, हे ईश्वर । यो धोकाधडी र क्रुरता हो ।’
कानूनी झमेलाबाट आफूलाई बचाउनका लागि फूपुले बोल्दै गरेको रेकर्ड गरेको मेरी ट्रम्पले बताएकी छन् ।

अडियो रेकर्डका बारेमा सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले खबर प्रकाशित गरेको थियो । त्यसपछि सो रेकर्ड एसोसियट प्रेसले पनि प्राप्त गरेको थियो ।

पछिल्लो पारिवारिक तिक्तता र आफ्ना बारेमा सार्वजनिक भएका नमिठो अभिव्यक्तिको प्रतिक्रिया ट्रम्पले ह्वाइट हाउस मार्फत वक्तव्य जारी गरेर दिएका छन् । उनले भनेका छन्, ‘हरेक दिन फरक कुरा आउँछ, कसलाई चासो छ ।’

अडियोमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासी नीतिको गम्भीर आलोचना गरेकी छन् । यस्तै मेरी ट्रम्पले पुस्तकमा ट्रम्पले आफ्नो परीक्षा आफै नदिने गरेको उल्लेख गरेकी थिइन् ।

सार्वजनिक भएको अडियो रेकर्डमा ब्यारीले पनि सो कुरा बताएकी छन् । उनले भनेकी छन्, ‘उसले पेनसिलभेनिया विश्वविद्यालयलमा प्रवेश पायो किनकी अरु कसैले परीक्षा दिएको थिए ।’

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेनको सामना गर्न लागेका ट्रम्पलाई पछिल्लो समय परिवारका सदस्यका अभिव्यक्तिले थप समस्यामा पारेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यदल प्रतिवेदनः पार्टी एकताको बाँकी काम एक महिनामा सक्ने

८ भाद्र २०७७, सोमबार ०७:०८
काठमाडौँ – पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले पार्टी एकताको बाँकी काम एक महिनाभित्र सक्न सिफारिस गरेको छ। शनिबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा बुझाएको प्रतिवेदनमा पार्टी एकतालाई एक महिनाभित्र सम्पन्न गरी पूर्वनिर्धारित चैत अन्तिम हप्तामा महाधिवेशनका लागि तयार […]