Trending

कसरी हुर्कदैछन् नयाँ पुस्ता ? कहाँ चुक्यौ हामी ?

रामचन्द्र उप्रेती
कोभिड–१९ को कहर जारी छ । अलिअलि उठदै गरेको पेशा, व्यवसाय, उद्योग, पर्यटन, कृषि सबै क्षेत्रमा समस्या थपिएको छ । धेरैले रोजगारी गुमाउदै गएका छन् । जसको रोजगारी गुमेको छैन उनीहरुको पनि आम्दानि घटेको अवस्था छ । व्यवसायीलाई व्यवसाय टिकाउन हम्मेहम्मे परेको छ । यस्तो बेलामा सबैभन्दा धेरै मारमा अहिलेको युवा पुस्ता परेको छ । कुनै न कुनै पेशाव्यवसायको लय समातेर जीवनको उर्जाशिल समय खर्चि सकेकाहरुले अब बाँकि जीवन सिकेको काम वा गरेको कामबाटै अलि अगाडि बढाउने र नयाँ पुस्तालाई अब तिम्रो पालो आयो हाम्रो पालो सकियो भन्ने र जिम्मा लाउने हो । यसमा धेरै बहसको आवश्यकता नै छैन ।
अहिले पढाई सकेर वा पढाई बिचैमा छाडेर कामको खोजीमा श्रम बजारमा निस्किएको २० देखि ३० वर्ष उमेरको पुस्तालाई कोरोनाको महामारीले कस्तो असर गरेको छ भन्ने बारेमा अलिकति विचार गरौं । यो पुस्ताका धेरै युवाहरुको दिगो पेशा वा व्यवसाय छैनभन्दा हुन्छ । केही भाग्यवानीले परिवारकै व्यवसायमा आपूmलाई लगाए, केही थोरैले नयाँ व्यवसाय शुरु गरेर व्यवसाय टिकाउन संघर्ष गर्दैछन्, धेरैजसो बैदेशिक रोजगारीमा छन्, केही घरायसी काममा (विशेष गरि महिला)मा छन् । केही अस्थाई प्रकृतिको रोजगारीमा सामेल भएर भविश्य बनाउनभन्दा दैनिकि चलाउन संघर्ष गर्दैछन् । केही थोरैले सरकारी र कर्पोरेट स्तरको जागिरमा आपूmलाई सामेल गर्न सफल भएका छन् ।
अस्थाई प्रकृतिको पेशा र रोजगारीमा भएका युवाको समस्या कस्तो छ भने ती कुनै एउटा काममा तनमन लगाएर त्यसैमा भविस्य खोज्ने काम गरिरहेका छैनन् । केही महिना वा केही वर्ष एउटा काम गर्ने, त्यसमा अलिअलि सिकेको हुन्छ तर पुरा ज्ञान र अनुभव हुन नपाउदै फेरी अर्को काममा लाग्ने, त्यो पनि भएन भनेर फेरी अरुकामको पेशाको खोजी गर्ने युवा धेरै छन् । यस्ता अस्थिर युवा सबैभन्दा धेरै समस्यामा हुन्छन् । अझ उर्जाशिल समयको १० वर्ष जति यस्तो अस्थिर प्रकारको काम गरेर जीवन गुजार्नेहरुले भविश्यको स्थाई गोरेटो बनाउन धेरै नै मुस्किल पर्छ ।
कोभिड–१९ को प्रभाव र लक डाउन जारी रहेकै समयमा एनएमसी झापाले सञ्चालनमा ल्याएको र ल्याउने सहकारी पसलका लागि सबै पदमा गरेर करिव २०।२२ को संख्याका लागि सामाजिक सञ्जालमा विज्ञापन गरिएको थियो । संस्थाले यति धेरै आवेदक आउलान भनेर अनुमान नै गरेको थिएन । कारण यसको विज्ञापन संस्थाको फेसबुक पेजमा मात्रै गरिएको थियो । यो समयमा स्थानिय पत्रपत्रिकाको पहुँच नै छैन । त्यो पनि कोरोना काल र मध्य बर्षाको समय (श्रावण) । झण्डै ६ सय आवेदन परे । यति धेरै मानिसलाई जम्मा गरेर परिक्षा लिन मुस्किल थियो । ७ फरक फरक स्थानमा एकै दिन एकै समयमा लिखित परिक्षा लिने काम गरियो । प्रहरीको आँखा छलेर । किनकि २५ जनाभन्दा बढीको जमघटलाई सरकारले प्रतिवन्ध लगाएको छ । यी मध्ये करिव एक शय जनाको लिखित परिक्षामा नाम निस्कियो र मौखिक अन्तरर्वाताका लागि छानिए । म पनि यो अन्तरवार्ता लिनेमा सामेल भएर उनीहरुलाई नियाल्ने काममा लागें । केहीलाई छाडेर अधिकाङ्स २०देखि ३० वर्ष उमेर समुहका छन् । उनीहरु मध्ये धेरैजना वैदेशिक रोजगारीमा गएर फर्किएका नै छन् । केही कुनै अनुभव नभएका फ्रेस अनुहार थिए र केही फरक फरक कामको अनुभव भएकाहरु । संस्थाले यिनै मध्येबाट कामका लागि मानिसको छनौट गरेको छ ।
यति धेरै मानिसबाट छानिएका, अब्बल ठानिएका, कामका लागि तयार भएका यी युवा कस्ता छन् ? यिनले कसरी र कस्तो काम गर्छन् ? यो सवाल महवपुर्ण छ । यो पुस्ता जुन परिवेशमा हुर्के र जे सिके त्यसको आधारमा भन्दा यी काम गर्न योग्य भईसकेका छैनन् । यी मध्ये जो वैदेशिक रोजगारीमा गएर फर्किए तिनमा काम नगरी धर पाइदैन भन्ने परेको छ । तर जोसँग कतै काम गरेको अनुभव छैन तिनले कामलाई हल्कारुपमा लिएका हुन्छन् । वास्तवमा ती काम गर्न होइन जागिर खान चाहन्छन् । यिनमा प्रमाणपत्रको घमण्ड चाहिनेभन्दा अलि बढतै हुन्छ । जागिर अर्थात यस्तो काम जहाँ गयो लाए अह्राएको काम ग¥यो, हल्लियो, ज्यान जोगायो, तलव पकायो ।
हेर्दा यस्तो लाग्छ कतिपय मानिसलाई कामको एकदमै आवस्यकता छ । परिवार धान्न काम नगरि हुदै भएको छैन । यस्ता मानिस अलिअलि साह्रोगाह्रो सहेर पनि काम गर्छन् । काममा बानि परेपछि टिक्छन् तर घरको अवस्था ठिकै भएका, कामको बानि नपरेका, सुकिलो जागिरको कल्पना गरेका मानिसलाई काम गर्न र गराउन दुवै निकै गाह्रो हुन्छ । यस्ता मानिसको कारण संस्थाभित्र काम गर्ने संस्कार बसाउन समस्या हुन्छ । काम गर्नेहरु पनि उसले नगरे पनि वा थोरै गरे पनि भएको छ । मैले मात्रै किन धेरै काम गर्ने भन्ने मनमा पर्छ । यो प्रबृत्तिलाई बेलैमा नियन्त्रण नगर्दा काम गर्नेहरु पनि अल्छि बन्ने गर्छन् ।
किन गाह्रो हुन्छ काम गर्न र गराउन ?
समाजले विशेष गरि प्लस टु को जेनेरेसन कसरी हुर्कायो, कसरी हुर्किए, के सिके, के सिकाईयो ? कस्तो परिवेश थियो ? भन्ने कुराले अर्थ राखेको छ भन्ने मेरो बुझाई छ ।
शहरिया र अर्ध शहरिया परिवेशमा हुर्केका किशोर किशोरीले शारिरिक परिश्रम गर्नै परेन, गर्दै गरेनन्, गर्न लगाइएन । गाउँबाट आएकाहरुले पनि आठापाँजा अलिअलि काम गरे पनि अभिभावकले खासै काम लगाएनन् । कामको बोझ सबै आपैmले लिए र पढ है, ठुलो मानिस बन्नुपर्छ भनेर बारम्बार सुनाए । हामीले बिर्सिएको अथवा वास्ता नगरेको विषय भनेको पढेपछि पनि काम गर्नुपर्छ, काम गर्नका लागि पढदै छौं, पढाउदै छौं भन्ने ख्यालै भएन । नर्स, डाक्टर, वकिल, इन्जिनियर, ओभरसियर, सिए, एकाउण्टटेण्ट, व्यवस्थापक, पाइलट, शिक्षक, कर्मचारी, प्रहरी, व्यपारी, सञ्चारकर्मी, कलाकार, गलाकार, खेलाडी, कृषक आदि आदि । जे भएपनि काम गर्न हुने हो । काम गर्न अल्छि गर्नेले यी मध्ये कुनै जिम्वेवारी प्राप्त गरे पनि जीनममा खासै अर्थ राख्दैन । काम नगर्नेहरु यी जिम्वेवारी पाए पनि मुल्यवान् ठहरिदैनन् । काम नगर्ने मानिसले जीवनमा सफलता पाउदैनन् । पढाई भनेको सिकाई हो । सिकाई व्यवहारबाट, अभ्यासबाट विकसित र परिस्किृत हुदै जान्छ । तर हाम्रो नयाँ पुस्ताले पढाईलाई सिकाईका लागिभन्दा सर्टिफिकेट प्राप्त गर्नका लागि भन्ने बुझाई भयो । जसरी पनि पास गर्नु पर्छ, उच्च अङ्क प्राप्त गर्नु पर्छ भन्ने बोध गराईयो । रिजल्ट हेरेर मेरो छोराछोरीले यति नम्बवर ल्याए, यो डिभिजन ल्याए भनेर अभिभावक मख्ख प¥यौं । हामीले कहिल्यो यो विचार गरेनौं कि हाम्रा सन्तानले के के सिके र त्यो जीवन उपयोगी छ कि छैन भनेर हेरेनौं ।
जुनसुकै पेशा वा व्यवसाय गरे पनि जीवनका पाइलापाइलामा आवश्यक पर्ने ज्ञान शिप जस्तै खाना पकाउने, लुगा धुने, सरसफाई गर्ने, श्रोत र साधनको सदुपयोग गर्ने, आपूmसँग भएका समान मिलाएर राख्ने, स्वास्थका आधारभुत कुरा, परिवार र समाजमा कसरी प्रस्तुत हुने, साथिसंगि र आफन्तसँग कसरी व्यवहार गर्ने, अरुका सुखदुखःको अनुभुति गर्ने, जीवनमा सधै सहज मात्रै हुदैन असहज र अप्ठ्यारो पर्दा कसरी समाधान गर्ने, पुलिस, अस्पताल, समाज, प्राकृतिक श्रोत आदिको महत्व के छ भनेर जानकारी लिनेदिने जस्ता कुरा आजको पुस्तालाई कसले कुन विध्यालयमा सिकाएको छ ? यी र यस्ता साना मसिना लाग्ने कुरा जीवन चलाउन पाइलापाइलामा आवश्यक छ ।
आजको समाजले प्रशिक्षित गरेको कुनै किशोर उमेरको छोरो (छोरीले अलिअलि सिक्न पाएका छन्)घरमा एक्लै एक हप्ता जति बस्नु पर्ने अवस्था आयो भने उसले के गर्ला । सोचेका छौं यस्तो ? उसले या त एक हप्तालाई पुग्ने चाउचाउ किनेर घरमा राख्ने छ या त कुनै साथिको घरमा पुग्ने छ । उसले हप्ताभरिमा एक दिन पनि घर सफा गर्ने छैन, सुतेको ओछ्यान मिलाउने छैन, घर बढार्ने छैन, जुठा भएका भाँडा सफा गर्ने छैन, घरमा जडान भएका बत्ति, पंखा अफ गर्ने छैन, घरमा आउने मानिसलाई शिष्ट भाषामा बोलेर स्वागत गर्ने छैन, साथिसँग बोले जस्तै टर्रो स्वरमा ‘के काम थियो ? किन आउनु भयो ? कसलाई खोजेको ?’ भन्ने छ । भान्साको काम गरि हालेछन् भने नुन, चिनी, चिया जस्ता समान राख्ने बट्टाको बिर्को खोले पनि लगाउने छैनन् । राती १२ बजेसम्म असरल्ल परेको कोठा र ओछ्यानमा पल्टिने छन्, मोवाइलको संसारमा रमाउने छन् र विहान झण्डै ९ बजेसम्म सुत्ने छन् । हो, यो पुस्तासँग स्कुल कलेजले दिएको राम्रै नम्बर प्राप्त गरेको प्रमाणपत्र भने हुनसक्छ ।
आर्थिकरुपमा अलि कमजोर परिवारबाट आएका र सरकारी विद्यालयमा पढेर पास गरेका किशोर किशोरी तुलनात्मकरुपमा काम गर्ने संस्कारका हुन्छन् । यिनलाई कामको आवश्यकता पनि हुन्छ । काममा यस्ता मानिस टिकाउ हुने सम्भावना बढी हुन्छ । अलि सुखसयलमा हुर्किएका, मध्यम परिवारका युवा जागिर खाने गरि कतै पुगेछन् भने उनीहरुले जागिरमा लाग्नुभन्दा पहिला गरेको कल्पना र जागिरे जिन्दगिको भोगाईमा निकै फरक हुन्छ ।
जागिरमा होस् वा निजि व्यवसायमा यो समुहको प्रवेश हुन्छ नै । यिनले त्यहाँ आफ्नो काम अनुसारको चरित्र बनाएर श्रम गर्न सके, धैर्य गरे, शिप सिके, मेहनत गरेभने सफल हुन्छन् नत्र आफ्नो काम अप्ठ्यारो अरुको काम सजिलो देख्ने रोग लाग्छ र छिटोछिटो काम फेर्ने गर्छन् । यस्ता मानिस झन् बढी जोखिममा हुन्छन् । जागिर जोगाउने गरि अल्छिअल्छि गर्दै काम गर्ने, आफ्नो व्यवसायमा पनि यस्तै चाला देखाउनेहरुले जसोतसो जीवन चलाए पनि प्रगति गर्दैनन्, गर्न सक्दैनन् ।
मैले यति कुरा किन भनिरहेको छु भने हामीले अहिले हुर्काउदै गरेको किशोर किशोरीको पुस्तालाई श्रमबाट अलग गरेर, पढाई नै सबैकुरा हो, प्रमाणपत्र भए पुग्छ भनेर, बढतै माया गरेर व्यवहारिक सिकाईको अभावमा जसरी हुर्काउदै छौं यो उनीहरुका लागि पछि गएर समस्या निम्त्याउने कारण बन्दै गएको छ ।