Trending

सिन्धुपाल्चोकमा पहिरोमा परेर २८ घरका कम्तीमा ३५ जना पुरिए, नौ घाइते


सिन्धुपाल्चोक, ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोमा परेर कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर ल्याउने तयारी गरिएको नेकपाका नेता रेशम स्याङ्बोले जानकारी दिए । घटनास्थल आसपासमा बाक्लो कुहिरो लागेकोले हेलिकोप्टर ल्याउन गाह्रो परिरहेको उनले बताए ।

गाउँको बीच भागबाट खसेको पहिरोले कति घर पुरिए भन्नेबारे अझै एकिन हुन सकेको छैन । उद्धारमा खटिएका स्थानीय निराज तामाङले दिएको जानकारी अनुसार २८ घरमध्ये २२ घरमा रहेका कम्तीमा ३५ मानिस पहिरोमा पुरिएका छन् ।

‘भीषण पहिरो भएकोले उत्खनन् गर्न कठिन परिरहेको छ’, उनले भने, ‘अहिलेसम्म उत्खनन् गर्दा एकजनाको हातमात्रै फेला परेको छ ।’

उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुग्दैछन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । वडाध्यक्ष प्रताप लामाका अनुसार प्रतिघरधुरी कम्तीमा तीनदेखि पाँच जना मानिस बसोबास गर्थे । पहिरोमा परेर ठूलो जनधनको क्षति भएको उनको अनुमान छ ।

उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिकेमा रहेको प्रहरी चौकीबाट घटनास्थल पुग्न पैदल तीन घण्टा लाग्छ । जनप्रतिनिधि गाउँमै भएपनि पैदल हिंडेर लिदी पुग्न पूरा एकदिन लाग्छ ।

२०७२ को भूकम्पपछि गाउँ नै पहिरोको उच्च जोखिममा परेको भूगर्भविद्को अध्ययनले देखाएको थियो । तर, सुरक्षित ठाउँमा गाउँ स्थानान्तरण हुन नसक्दा एकसय ७२ घरधुरी रहेको लिदीका बासिन्दा त्रासमा बसिरहेका थिए । घटनाको पूर्ण विवरण आउन बाँकी नै छ ।