Trending

वीरेन्द्रनगरले साउन ३० गतेदेखि भदौं ५ गतेसम्म कार्यालयका सेवा बन्द गर्ने


सुर्खेत, २९ साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सुमदायस्तरमा नै कोरोना संक्रमण फैलिन थालेपछि नगरपालिका सेवा बन्द गर्ने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालयबाट प्रदान हुने सेवा बन्द गर्ने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले बताए । ‘स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका सेवा बन्द गरिएको छ ।’ उनले भने,‘अहिले समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएकाले रोकथामका लागि सेवा बन्द गरिएको छ ।’
बुधवार वीरेन्द्रनगर नगरपालिकामा १९ जनामा संक्रमण देखिएको ती मध्ये ५ जना समुदायका हुन् ।
त्यस्तै, बिहिबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १० र १३ मा १७ जनामा कोरोना संक्रमण फेला परेको थियो ।
नगरपालिकामा १६ वटा वडा रहेका छन् ।