Trending

भारतीय नेता अमर सिंहको निधन


एजेन्सी । भारतीय राज्य सभाका सांसद अमर सिंहको निधन भएको छ । सिंगापुरस्थित एक अस्पतालमा सिंहको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ६ महिनादेखि सिंगापुरमा उपचाररत थिए । उनको हालसालै मिर्गौला ट्रान्स्प्लान्ट गरिएको थियो ।

समाजवादी पार्टीका पूर्व नेता अमर सिंह लामो समयदेखि विरामी थिए । पछिल्लो डेढ महिनादेखि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो । सिंहको निधनप्रति राजस्थानका राज्यपाल कलराज मिश्रले दुख व्यक्त गरेका छन् ।

मृत्युभन्दा करिब २ घण्टाअघि सिंहको ट्वीटर एकाउन्टबाट ट्वीट गरिएको थियो । जसमा भारतीय स्वतन्त्रता सेनानी लोकमान्य बाल गंगाधर तिलकलाई श्रद्धाञ्जली दिँदै उनको योगदानको स्मरण गरिएको थियो ।

समाजवादीका पूर्व नेता सिंहले हालसालै एउटा भिडिओ सन्देश जारी गर्दै ज्योतिरादित्य सिंधियाले कांग्रेस पार्टी छाडेको विषयमा आफ्ना भनाइ राखेका थिए । उनले सिंधियाले आत्मसम्मानका लागि कांग्रेस छाडेर आफ्नो हजुरआमा विजयाराजे र पिता माधवरावको मार्गको अनुशरण गरेको बताएका थिए ।

त्यसअघि उनले अभिनेता अमिताभ बच्चनसँग पनि माफी मागेका थिए ।


error: Content is protected !!