Trending

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध हुनुपर्छ: प्रधानमन्त्री


काठमाडौं, १७ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा शनिबार श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले अग्रजका सपना साकार पार्न एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उनले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताए ।

समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उनले आह्वान गरेका छन् ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिस्ट नेता थिए । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिस्ट घोषणापत्र जारी गर्दा उनी पनि सहभागी थिए ।


error: Content is protected !!