Trending

भेरी–बबई डाइभर्सन आयोजनाको लगानी मोडालिटी तयार

काठमाण्डौं, १२ साउन । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी करिब टुंगो लागेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनी मोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्वद्ध सरोकारवालाहरुको बैठक डाकेर उक्त आयोजनाको लगानी मोडालिटी बारे छलफल गरेका थिए । बैठकमा मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तह तथा सरकार मातहतका निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारणसमेतको लगानी रहने गरी लगानी मोडालिटी प्रस्ताव गरेका छन् ।

मन्त्री पुनको लगानी प्रस्तावमा सहमति जुटेको जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव रवन्द्रिनाथ श्रेष्ठले जानकारी दिए । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका संयोजक तथा ऊर्जा मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटवालका अनुसार संघबाट २६ प्रतिशत, कर्णाली प्रदेश सरकारबाट २० प्रतिशत तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट ५ प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत हुनेछ ।

यस्तै देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी ढाँचा तयार भएको भेटवालले बताए । उक्त लगानी शेयरमार्फत हुनेछ । उक्त आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुधिवा पु¥याउने लक्ष्य मन्त्रालयको छ ।

भेरी नदीको ४० मनमिटर (प्रति सेकेण्ड) पानी बबईमा फर्काएर यो आयोजनाको निर्माण हुनेछ । त्यसबाट ४६.८ मेगावाट विद्युत उत्पादन हुनेछ । उक्त विद्युत रन अफ द रिभर आयोजनाबाट उत्पादन हुने करिब १ सय ५० मेगावाट बराबर हुने आयोजनाका संयोजक सह–सचिव भेटवालको भनाइ छ ।

हाल आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ भने हेडवक्र्स तथा विद्युत गृह निर्माण सुरु भएको छ । आर्थिक वर्ष २०७९÷८० मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पुनले बताए । आयोजना निर्माणको जिम्मेवारी मन्त्रालय अन्तर्गतको जलश्रोत तथा सिंचाइ विभागलाई दिइएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि त्यसको व्यवस्थापन तथा सञ्चालन भने शेयरधनीहरु संघ, प्रदेश, स्थानीय तह र सर्वसाधारणका प्रतिनिधि रहेको कम्पनीमार्फत हुनेछ । त्यसका लागि नेपाल सरकारको स्वामित्व रहने गरी ‘भेरी–बबई डाइभर्सन जलविद्युत कम्पनी’ नामको सार्वजनिक कम्पनी स्थापना गरिने भएको छ ।

आयोजना निर्माणको संशोधित लागत ३३ अर्ब १९ करोड रुपैयाँ छ । जसमध्ये सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि २ प्रतिशत तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ ।

आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक ३.१० अर्ब तथा विद्युतबाट ३.२३ अर्ब गरी ६.३३ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै आयोजनाबाट आमोद–प्रमोद, पर्यटन तथा वातावरणीय फाइदा लिन सकिने छ । (नागरिक खबरबाट)


error: Content is protected !!