Trending

साम्राज्ञीले चरित्रहत्या गरेको भन्दै भुवन केसी अदालतमा, १० करोड रुपैयाँ क्षतिपूर्ति माग


काठमाडौं, ९ साउन । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध बेइज्जतीको मुद्दा हालेका छन् । आज काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध उजुरी परेको हो ।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले उजुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको बताए । ‘आज उजुरी परेर दर्ता गरिएको छ। अब हद म्याद जारी हुन्छ । साम्राज्ञीको नाममा वारेन्ट नोटिस जारी हुन्छ। त्यसको प्रक्रिया अगाडि बढिसक्यो,’ कार्कीले भने ।

असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै नायिका साम्राज्ञीले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् । चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दुर्व्यवहार गरेको उनको आरोप थियो ।

साम्राज्ञीको आरोपको खण्डन गर्दै भुवनले जुन थालमा खायो त्यही थालमा दुलो पारेको प्रतिक्रिया दिएका थिए । त्यसपछि अर्को भिडिओ सार्वजनिक गर्दै साम्राज्ञीले जापानमा अवार्ड लिन जाँदा समेत शोषण गरेको आरोप लगाएकी थिइन् ।

त्यसपछि भुवनले अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै सामाजिक सञ्जाल मार्फत अपमान नगर्न चेतावनी दिएका थिए । उक्त चेतावनीसँगै भुवनले छानविनका लागि कलाकार संघमा उजुरी दिएका थिए ।

उजुरीका सम्बन्धमा साम्राज्ञीले आफूले भुवनको नाम नलिएको प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि छलफलका लागि बोलाउँदा पनि साम्राज्ञी नआएको जवाफ संघले भुवनलाई गराएको थियो ।

अन्ततः आफ्नो मानहानी तथा चरित्र हत्या गर्ने काम भएको भन्दै भुवनले कानूनी बाटो रोजेका हुन् । विना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै भुवनले दोषीमाथि कारवाही हुनुपर्ने माग राखेका छन् ।


error: Content is protected !!