Trending

देवताकहाँ कहिल्यै प्रार्थना गरिनँ

बीपी कोइराला
मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला । ती सबै कुराहरू देख्ता भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन ।

अस्ति चन्द्रशेखर यहाँ आएका थिए । उनले पशुपतिनाथ जान्छु भने र मेरा डाक्टरलाई लिएर गए । त्यहाँबाट दुई बोहता प्रसाद लिएर आए, एउटा सुशीलालाई दिए र अर्को अरू कसैलाई दिए । उनले ल्याएर मलाई टीका लगाइदिए, भनेँ– उनले प्रसाद लिँदा केही भने होलान् नि पशुपतिनाथलाई । उनको भावना जो छ, त्यसलाई म कदर गर्दछु । एक जनाले साइबाबाको विभूति मेरी जहानलाई दिएको रहेछ यो लगाइदिनोस् भनेर । मलाई विभूति दिने व्यक्तिको वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरी पत्नीको भावनालाई म असाध्य कदर गर्छु । यो पनि मलाई थाहा छ– मानिसको आत्मबलमा छ । सानो एउटा संकट छ, कतिलाई छटपटाएर मारिदिन्छ । कोही मान्छे त्यो संकटमाथि विजय प्राप्त गर्दछ। त्यो पनि मलाई थाहा छ दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ ।

यसपालि म बम्बईको एउटा क्यान्सर हस्पिटलमा थिएँ । क्यान्सर हस्पिटलको वातावरण बडो निन्याउरो किसिमको छ, किनभने क्यान्सर भयो भन्नेबित्तिकै त त्यस व्यक्तिलाई मृत्युदण्ड दिएजस्तो नै भयो । एउटा मान्छेलाई मृत्युदण्ड हुन्छ, त्यसको अपिल इत्यादि गर्दागर्दा पाँच–छ वर्षमा त्यो कार्यान्वित हुन्छ । त्यस्तै हो क्यान्सर भनेको पनि । जसलाई क्यान्सर भयो भनेको छ, त्यो आधा त्यसै मरिसकेको जस्तो हुन्छ ।

त, म टहलिइरहेको थिएँ बम्बईको क्यान्सर हस्पिटलको छतमा । सानो छत छ । अरूभन्दा पहिले गएर म टहलूँ भनेर गएको थिएँ । अरू कोही बिरामी जाँदैनन् त्यहाँ । त्यहाँ मैले देखेँ एउटी स्वास्नीमान्छे सूर्योदयको प्रतीक्षामा उभिरहेकी थिई । उसले देखी मलाई । म पनि एउटा कुनामा टहलिइरहेको थिएँ । उसले आफ्नो चप्पल फुकाली र बडो आर्तरोदन र करुणाको बरमा प्रार्थना गरी त्यो सूर्यलाई । मलाई लाग्दछ– त्यसको छोरा अथवा दुलाहा मजस्तै रोगी होला । अनि मलाई लाग्यो– सबैको परिवारलाई त त्यहाँ चोट परिरहेको छ, जस्तो उसलाई पर्योै होला, त्यस्तै मेरो परिवारलाई र अरू परिवारलाई पनि पर्योग होला चोट ।

मेरो समस्या के छ भने मैले कसैलाई बुझ्न खोँजे भने त्यही ठाउँमा बसिदिन्छु । मैले देवतालाई बुझ्न खोजेँ भने म के सोच्तछु भने म देवता भएको भए के गर्थें ? मैले या त क्यान्सर रोग हुँदै नहुने पार्नुपर्यो । क्यान्सर भएपछि त कति मान्छे मर्छन्, कति मान्छे मर्दैनन् । देवताले कसलाई बचाउने ? कसलाई नबचाउने ? त्यसको मापदण्ड के ?

अब देवताले क–कसलाई बचाइहिँड्ने ? अब एउटी स्वास्नीमानिस जसको तमाम आधार नै डुब्न थालेको छ, केही आधार नभएर उदाउन लागेको सूर्यलाई अर्घ दिएर प्रार्थना गर्न लागेकी छ, रोएर बलिन्द्र आँसु झारेकी छ । मन्दिरमा भएको भए त अर्कै कुरा हुन्थ्यो होला तर अस्पतालको यस छतमा त्यस हस्पिटलकै कुनै रोगीका निम्ति त्यसले पुकारा गरी होली । अधबैंसे थिई, त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला, ऊ प्रार्थना गरिरहेकी थिई । अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ?

अस्ति एउटा जोगी आए मकहाँ । ती पाखण्डी जोगी होइनन्, भित्रैदेखि लागेर जोगी भएका । पहिले हाम्रै पार्टीमा थिए, पछि के–के विरक्त लागेर उनी जोगी भए । उनी आएर भने– मेरो गुरुले थाहा पाए तपाईं बिरामी हुनुहुन्छ ।

उनका गुरु हृषीकेशभन्दा माथि बस्ता रहेछन् । गुरुले भने त्यसो हुनाले केही न केही त गर्नुपर्योह । म पनि गर्छु, तिमी पनि गर भनेर मलाई पठाएको हुनाले म आएको हुँ भने । उनले भने– तपाईंका निम्ति जे गर्नुपर्छ, कुनै अनुष्ठान वा यज्ञ, त्यो म कुनै पवित्र स्थलमा गएर गर्छु ।

अनि मैले प्रश्न गरेँ, ‘यतिका मान्छेहरू मरिरहेका छन्, देवताका अगाडि कति लडाइँ र नरसंहारहरू भइरहेका छन् । त्यस लडाइँमा कति बालकहरू मारिए होलान । मेराबारेमा मात्र देवतालाई किन फिकिर हुने ?’

उनले भने, ‘मेरा गुरुले भनेका छन् कि साधारण लाखौं मानिस महत्वका हुँदैनन्, तर असाधारण एउटा व्यक्ति पनि बडो महत्वको हुन्छ देवताको नजरमा । त्यसलाई बचाउने वा रक्षा गर्ने खाँचो देवतालाई पनि पर्छ । त्यस ठाउँमा राम्रो उद्योग भएको छ र देवतालाई पनि खाँचो परेको छ भने देवताले बचाउँछन् ।’ उनले त्यो एउटा तर्क दिए ।

भनाइको मतलब के हो भने अहिले हामी त हिन्दुशास्त्रको मुताबिक र आजकालको विज्ञानको मुताबिक पनि विकासमान स्थितिमा छौं । हामीहरू मानव सबैभन्दा ठूला र सबैभन्दा परिष्कृत जीव हौं अरूका तुलनामा । यो कसरी भयो ? भन्दा विकासवादीहरू भन्दछन्– तलबाट विकास हुँदाहुँदै यस रूपमा आयो । अध्यात्मवादीहरू पनि त्यस्तै कुरा भन्दछन् र हामीहरूमा अझ पनि अगाडि बढ्ने क्षमता छ भन्दछन् । हामीले त्यस क्षमतालाई बुझेर काम गर्यौं भने मानवबाट अतिमानवमा पुग्न सक्तछौं, र हुन सक्छ भोलिको मानव समाज अतिमानव समाज भएर जाओस् । त्यस दृष्टिबाट एउटा अतिमानव दस वटा साधारण मानिसभन्दा, एउटा साधारण मानिस लाख वटा फट्यांग्राभन्दा महत्वपूर्ण हो भन्ने कुरा मान्ने हो भने त अलिकति बुद्धिले भ्याउँछ ।

अर्को कुरा के छ भने मैले जहिले पनि भन्ने गरेको छु, हामीहरूको तर्क मानव तर्क हो र हामीहरूको दृष्टि मानवदृष्टि हो । जस्तो भ्यागुतोले हेरेको छ भने उसको देखाइमा पर्ने उसको रेटिनामा पर्ने रूप अर्कै हुन्छ । मानव चक्षुले त्यही कुरा हेर्दा अर्को रूप देखिन्छ । त्यस्तै, देवताको आँखामा पर्ने रूप विश्वको अर्कै हुन्छ, उसको तर्क पनि अर्कै छ । त्यसो हुनाले त्यो त बुद्धिले तर्कमा गर्न सक्ने कुरा उसको दृष्टिले हेर्न सक्तैनौं । देवताको कानले सुनेको कुरालाई बुझ्न सक्तैनौं । त्यसो हुनाले भन्छन् ती हाम्रा अध्यात्मवादीहरू– त्यो त असभ्य छ, केही लाग्दैन । जब तर्कले भेट्टाउँदैन, तिनले पनि अन्त्यमा भनिदिएका छन्– मायाबाट प्रवाहित भएर जानुपर्दछ, यथार्थमा बाटो हिँड्दाहिँड्दै एउटा खाल्डो पर्दछ, त्यस खाल्डोलाई श्रद्धा र भक्तिकै आधारमा पार गर्नुपर्दछ ।

केही व्यक्तिले मानोस्–नमानोस्, तर यत्रो विश्वास जब मेरा मानिसहरूले गर्दछन्– कसैले प्रसाद ल्याइदिएको छ, कसैले के–के ल्यादिएको छ, के–के गरेको छ, अनुष्ठान र यज्ञ गरेको छ मेरा लागि, त्यसले त मलाई अभिभूत नै गर्दछ ।

हिन्दुस्थानमा अहिले मेरा मित्रहरू धेरैले धेरै कुरा मेरा लागि गरिरहेका छन् । कसैले जप गराएका छन्, कसैले बाबालाई भेटेका छन् । एउटा मेरा बंगाली मित्र छन् कलकत्तामा, उनले बारम्बार सुशिलालाई खबर गरेका छन्– तिमी आऊ एकपटक भनेर । पहिले पनि मलाई पनि लिएर आउनु भनेका थिए, तर म नआए पनि सुशीलालाई आऊ भनेर खबर पठाइरहेका छन् । एउटा त्यता कतै गजबकी देवी छन्, तिनका पुजारीले यिनलाई केही पूजा गर्न बताएको रहेछ । अब मैले सुशीलालाई जाऊ भन्ने कि नभन्ने ? मेरोमात्रै कुरा भएको भए किन जानुपर्योब ? भन्थेँ । तर मेरो मात्रै विश्वासको कुरा त भएन। यहाँ त विश्वास मेरा मित्रमण्डलीको विश्वास, मेरी पत्नीको विश्वास, मेरा परिवारको र परिवारका व्यक्तिहरूको विश्वासको कुरा छ । त्यसो हुनाले यत्रो ठूलो विश्वासका साथ मलाई जुन मानिसहरूले आ–आफ्नो तरिकाबाट ईश्वरको अनुकम्पा दिलाउन चाहन्छन्, म त छक्क पर्छु कहिलेकाहीँ । कहिलेकाहीँ मलाई आएको चिठ्ठीहरूको खाम जब म उघार्छु, त्यसमा दुई–चारवटा फूलका पातहरु पाउँदछु, त्यसमा सिन्दुर, चन्दन इत्यादि भएको । हिजो एउटा खाम खोल्दाखेरि एक जनाले मनकामनादेवीको पूजा गरेर खाममा केही फूलका पात र सिन्दुर पठाएको थियो । अब त्यत्रो ठूलो श्रद्धालाई म अस्वीकार गर्छु त भन्न सक्तिनँ ।

धर्म भनेको मेरो दृष्टिमा के छ भने, दुई लोकमा मानिसहरू विचरण गर्दछन् । एउटा भौतिक लोक। यो धर्तीबाट उत्पन्न हुन्छ– गुलाफ, चमेली । त्यसमा कुनै पौष्टिक तत्व हुँदैन । मानवलाई एउटा भौतिक पदार्थ, भोजन इत्यादि चाहिन्छ। सूर्य उदयले, गुलाफ फत्रे्कको कुराले पनि तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष त सुकेको रहेछ । मरेतुल्य भएको रहेछ, तपाईंले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन र रोमान्चित हुनुभएन भने । हो, त्यो रोमान्चकता जसले उत्पन्न गर्दछ, त्यही ठाउँमा धर्म पनि बसेको हुन्छ ।

मेरो एकपटक बहस चलेको थियो जयप्रकाश नारायणसँग । त्यहाँ अरू पनि थिए । केही वैज्ञानिकहरू आएका थिए । तब यही सब तर्कहरू दिइरहिएको थियो । धर्म र ईश्वरका कुरामा, धर्मको कस्तो आवश्यकता छ । साँच्चि भनौं भने ठूला–ठूला धार्मिक मानिसहरू त त्यस कर्मकाण्डपट्टि जाँदै जाँदैनन् । हिन्दु धर्मशास्त्रकै कुरा गरौं भने पनि कर्मकाण्डलाई नमानीकन, मुसलमानले अर्को, क्रिस्चियनले फेरि अर्कोलाई धर्म मानेका छन् । तर सबै तल त्यही भावजगतबाट उम्रेका तत्वहरू हुन्, जो आध्यात्मिक भनौं वा आधिभौतिक भनौं, भौतिकताभन्दा बाहिरका कुरा हुन् । हामी कविता पढ्दछौं । अलि रमाइलो गरी भनौं भने तपाईंहरू आफ्नी प्रेयसीलाई गुलाफसँग तुलना गर्नुहुन्छ होला वा चन्द्रमासँग । यो तुलना के हो ? साँच्चि कुरा हो ? तपाईंले कसैलाई माया गर्नुभयो भने त्यसको अनुहार चन्द्रमाजस्तो छ भन्नुहुन्छ । तपाईंलाई धोका हुन्छ चन्द्रमा हो कि भनेर । यो धोका पर्नु साँचो कुरा हो ? एउटी केटीलाई गुलाफजस्ती सुन्दरी हेर्नुभयो भने झूटो कुरा हो त्यो ? मैले जयप्रकाश नारायणसँग के भनेँ भने चन्द्रमाजस्ती उज्याली छ ? गुलाफजस्ती छ भन्ने भ्रम भएन भने तपाईंले त्यसलाई माया नै गर्नुभएन । होइन, त्यो त लडकी हो, सामान्य स्वास्नीमानिस हो, रगत मासु र हाडबाट बनेको शरीर हो मात्र तपाईंले भन्नुभयो भने तपाईंले त यथेष्ट किसिमबाट माया नै गर्नुभएन, तपाईंलाई अनुभव नै भएन मायाको ।

जस्तोः कालिदासले भनेका छन् कैलाशको वर्णन गर्दाखेरि, कस्तो लाग्दछ त्यो धर्म त्र्यम्बक त्र्यम्बक भनेको शिव न बस्तछन् कैलाशमा त्र्यम्बकले हाँस्दाखेरि जो उज्यालो हुन्छ, त्यसैको राशिकृति जमेर बनेको कैलाश हो । त्र्यम्बकस्य अट्टहास भनेका छन्, अर्थात त्र्यम्बकले खुला दिलले अट्टहास गर्दाखेरि जो निस्क्यो होला, त्यो चमक सधै थपिँदा थपिँदा यो कैलाश बनेको हो । अब यो झूटो होइन ? तर झूटोलाई तपाईंले अनुभव गरेर खुसी हुनुहुन्छ कि हुनुहुन्न ? या भनौं के फजुलको कुरा भनेको, यो त यथार्थ कुरा हो, झूटो कुरा हो भन्नुभयो भने तपाईंको व्यक्तित्वको एउटा असक्त सुकेको रहेछ, त्यसमा रसै रहेनछ भन्नुपर्छ । धर्म भनेको त्यस क्षेत्रको कुरा हो । यसमा कविले भन्दछ कि शंकर बस्ने कैलाश भनेको उनको हाँसो जमेको हो ।

त्यसो हुनाले धर्मका विरुद्धमा त म छँदै छैन, पटक्कै छैन । तर सबैलाई थाहा छ, म धर्मको अभ्यास गर्दिनँ ।

म कहिलेकाहीँ पशुपतिनाथको मन्दिरमा जान्छु । बनारसमा विश्वनाथको मन्दिरमा जान्छु । त्यहाँ मैले के देखेको छु भने हजारौं लाखौं मानिस ती देवताका अगाडि, त्यो पत्थरको मूर्तिका अगाडि, नबोल्ने मानौं त्यसको हृदय छ कि छैन, त्यसले सुन्छ कि सुन्दैन, त्यो पनि मलाई थाहा छ आर्तनाद गरेका छन् त्यसका अगाडि । त्यो मैले सुनेको छु । त्यसका अगाडि लाज नमानी रोएका छन् । जो अरूका अगाडि आँखाको आँसु देखाउन चाहदैनन्, त्यहाँ खुलेआम र सबैका अगाडि देवताका सम्मुखमा बसेर बच्चालाई लिएर रुन्छन् । बच्चालाई नकरा भनेर थप्पड पनि लगाइरहेका छन्, त्यो पनि भइरहेको छ । त, मलाई त्यहाँ विश्वको एउटा रूप देखिन्छ । समाजको मात्रै हो कि अति करुणामय हाम्रो जीवन छ, कति संवेदना खोजिरहेको छ हाम्रो जीवनमा । हामीहरूले त त्यो गर्दैनौं, तर त्यहाँ गएर त्यो थाहा पाइन्छ । त्यही स्वास्नीमान्छे, जसले क्यान्सर अस्पतालमा त्यसरी रोई, त्यसको मलाई छाप परेको छ, मैले केही गर्न सक्ने भए त्यसको लागि म केही गर्ने थिएँ भन्ने लागेको छ ।

म नास्तिक हुँ कि होइन भन्दा मलाई बताउनुपर्छ– यो कुरा मान्छौं कि मान्दैनौ । शिवपुराणमा वर्णन भएको शिवका सम्बन्धमा त्यो सच्चा ऐतिहासिक घटना हो भनेर मसँग सोधे भने म भन्छु– म मान्दिन, म यसमा नास्तिक । यो गरुडपुराणमा मान्छे मरेपछि के–के हुन्छ भनेको कुरा म मान्दिन, म नास्तिक भएँ । तर त्यसलाई कुनै प्रतीकात्मक रूपबाट भन्ने हो भने त्यसमा भएका धेरै कुरा म मान्दछु । त्यसो हुनाले मलाई बताइदिनुपर्छ– कुनै खास कुराको सम्बन्धमा मेरो आस्था छ कि छैन भनेर ।

धेरै कुराबारे म जान्दिन । त्यसो हुनाले म भनिदिन्छु– अंग्रेजीमा एउटा शब्द छ, जो नास्तिक पनि होइन, आस्तिक पनि होइन, त्यसलाई ‘एडनोस्टिक’ भन्दछन् । त्यसले प्रश्नचिह्न राख्छ आफ्नो मनमा । यो झूटो पनि भन्दैन, साँचो पनि भन्दैन, मेरो मस्तिष्क खुला छ भन्दछ ।

अब पुनर्जन्मको कुरा गर्दछन् । म यस विषयमा पण्डित होइन । मेरा आफ्ना धारणा छन् । बुद्धको मात्र होइन, हिन्दुकै विचार यो छ कि– मान्छे वासना या वाञ्छाको अनुकूल रहेसम्म त्यसले त्यो भोग गर्नलाई जन्म लिइरहनुपर्छ । त्यसो हुनाले ती भन्दछन्– ज्यादाभन्दा ज्यादा कोसिस तिम्रो हुनुपर्दछ मोक्षको लक्ष्य प्राप्त गर्नु । जन्मेपछि त दुःख पाउनुपर्छ । यो जीवनमुक्तिको आवागमनबाट मुक्ति पाउनु नै मोक्ष हो । जबसम्म मुक्ति पाइँदैन, यो चक्करमा त परेको छ, परेको छ ।

यद्यपि जन्मेर मर्नु त्यस्तो दुःख को कुरा मलाई लाग्दैन । धर्मका प्रवर्तकहरूले किन त्यसलाई दुःख मान्दछन्, म त मान्दिन । हामी जन्मनुभन्दा पहिल्यैदेखि संस्कारलाई लिएर आएका हुन्छौं । हाम्रा बुबाआमाको, हाम्रो समाजको, हाम्रो जातिको एउटा संस्कारमा हामी आएका छौं । जस्तो तपाईं अमेरिकन समाजमा जन्मनुभएन, तपाईंको भाग्य हो । तपाईंले आफ्ना बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति हो । तपाईंले आफ्ना बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति वा भाग्य हो । भन्दछन् नि– मेरो यस्तो भाग्य रहेछ । पुर्पुरोमा लेखिएको हुन्छ भनेको होइन ।

जुन समाजमा तपाईं जन्मनुहुन्छ, त्यो तपाईंको हातभन्दा बाहिरको कुरा हो । जुन रङरोगन तपाईंले पाउनुहुन्छ, जस्तो आँखा तपाईंले पाउनुहुन्छ । यी सारा तपाईंको हातभन्दा बाहिरका कुरा हुन् । त्यही हो भाग्य । र, तपाईंसँग स्वतन्त्र निर्णय लिने सानो क्षेत्रमात्र छ । अरू त सबै कुरा पहिलेदेखि नै निर्धारित छ ।

त्यसलाई मान्ने हो भने तपाईंको नियति त पहिलेदेखि नै तय भएर आएको छ । त्यसलाई तपाईं भाग्य भन्नोस् या नियति भन्नोस्, त्यो त पहिले नै तय भइसकेको कुरा छ । तपाईं यहाँ नेपालमा जन्मनु नै तपाईंको विशेष किसिमको भोगको प्रारम्भ हो । अमेरिकामा जन्मेको भए तपाईंको प्रारब्ध अर्कै किसिमको हुने थियो । त्यस दृष्टिबाट म प्रारब्धलाई मान्दछु । मैले आफ्ना बाबुआमा आफैं चुन्न पाइनँ, पहिले नै चुनिए । मैले आफ्नो बुद्धिको क्षमता चुन्न पाइनँ, मैले आफ्नो छाला गोरो, कालो कस्तो हो त्यो चुन्न पाइनँ । यी धेरै महत्वपूर्ण कुरा पहिले नै कसैले चुनेर मलाई दिए । त्यही हो प्रारब्ध, त्यही हो नियति, त्यही हो भाग्य ।

अनि अलिकति, एउटा सानो क्षेत्रमा हामीलाई स्वतन्त्रता छ । त्यसैलाई धर्मका मान्छेहरू के भन्छन् भने त्यस स्वतन्त्रतामा तिमीले अब प्रयत्न के गर भने तिम्रो नियतिले झन्झन् तिमीलाई बाँधेर नजाओस् तिमी त्यसबाट मुक्त हुन निम्ति प्रयत्न गर ।

सबैले भन्दछन् कि वाञ्छा, अतिरिक्त कामनाले गर्दा नै भाग्य गर्न जोगी भएर हठयोगद्वारा विजय पाउने कुरा कसैले भनेको छ, कतिले भनेका छन् भोगद्वारा त्यसलाई सिध्याऊ भनेर । जस्तो अंग्रेजीमा एउटाले भनेको छ– कुनै लालच छ भने त्यसबाट कसरी मुक्ति हुने ? भन्दा दुई वटा तरिका छन्– एउटा तरिका छ त्यसतर्फ पिठ्युँ फर्काईदेऊ । तर पिठ्युँ फर्काएर त मानिसको लालसा जस्ताको तस्तै बनिरहन्छ । त्यो लालसा सिद्धिदैन । त्यो नसिद्धिएको लालसा तिमीले आएर भोग गर्छौ ।

मेरोअगाडि जो रुन सक्तैन, जसले मलाई आफ्नो आँसु देखाउन चाहँदैन, त्यहाँ मैले त्यसको आँसु देखेको छु ।

ममाथि धर्मको ठूलो असर परेको छ । तर कसैले सोधोस्– बिहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछन् कि लगाउँदैनन् । टुप्पी छ कि छैन ? आस्तिक हो कि नास्तिक हो ? मलाईं यो निरर्थक लाग्छ । मैले भनिहालेँ म देवताकहाँ प्रार्थना कहिल्यै पनि गर्दिनँ । किनभने मैले देखेको छु– मेरोभन्दा बढी आवश्यकता परेका मानिसहरूको प्रार्थना देवताले सुन्न सकेका छैनन् भने म त्यत्रो दम्भी कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं ? त्यो दम्भ मलाई छैन । त्यसो हुनाले मैले देवताकहाँ कहिल्यै पनि प्रार्थना गरिनँ ।
(‘राष्ट्रपुकार’साप्ताहिक, २०३८ पुस, यो बीपी कोइरालाको अन्तिम लेख पनि हो । २० मंसिर, २०७१ मा नागरिक न्यूजमा समेत यो लेख प्रकाशन भएको थियो ।)
नागरिक न्य्ुजबाट


error: Content is protected !!