सुर्खेत, २९ असार । सरकारले नेपाली साहित्यमा योगदान पुऱ्याउने स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुरस्कार समर्पण समारोहमा मन्त्री योगेश भट्टराईले श्रष्टा तथा व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।
सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।
समारोहमा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए ।
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, भाषा–साहित्य विधातर्फ कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य, ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार कर्णाली प्रदेशबाट कालिकोटका भीमबहादुर सिंह, संगीत तथा नाट्य विधातर्फ कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला पुरुस्कृत भएका छन् ।
त्यस्तै, बाल साहित्य–लोकसाहित्यतर्फ दैलेखका डा. मधुसुदन गिरी पुरुस्कार पाएका छन् ।
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ तर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणोपरान्त) पुरुस्कार प्रदान गरिएको छ ।