Trending

जाजरकोट पहिरो अपडेट, सातको शव भेटियो, सात बेपत्ता


जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको छ। छुटाछुटै घटनामा सातजना बेपत्ता भएका छन् । बारेकोट ४ जिरी सार्कीटोलमा गएराति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात जनाको शव भेटिएको हो ।

पहिरोमा परेर ५२ वर्षीया गोपाल सार्की र उनका ११ वर्षीया छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की र १८ वर्षीया वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव फेला परेको छ । दुईजना महिलाको शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

पहिरोले बारेकोट–४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा पाहुन आएका दुईसहित पाँचजना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीले बेपत्ता भएका छन् ।

रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले बाढीबाट उद्दार गरेका छन् । रामचन्द्र गम्भीर घाइते भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।


error: Content is protected !!