Trending

देशभर बाढी, पहिरोबाट १८ जनाको मृत्यु, ४१ बेपत्ता

काठमाडौं, २६ असार । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । यस्तै, ४१ जना बेपत्ता रहेका छन् ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीले कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुममा एक जना गरी ४१ जना बेपत्ता रहेका छन् ।

यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता रहेको पनि उनले बताए । गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो। त्यसको भोलिपल्ट जेठ ३१ गते पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । यस्तै, गत हप्ता असार २० गते बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए ।

यससँगै नेपालमा यसवर्षको मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस अवधिमा ५९ जना बेपत्ता रहेका छन् ।


error: Content is protected !!