सभापति शेरबहादुर देउवाको आरोप

सरकारले शासन गर्ने नैतिक आधार गुमाइसक्यो

कर्णालीपत्र संवाददाता २६ बैशाख २०७७, शुक्रबार २२:००

SHER BAHADUR DEUBA Prime Minister For Fourth Time | New Spotlight ...

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले नेपालीले सरकारले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएका छन्।

शुक्रबारबाट संसदको बजेट अधिवेशन सुरु भएको अवसरमा बोल्दै देउवाले यस्तो बताएका हुन्।

संसदमा बोल्दै उनले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन संसद सफल हुनु पर्ने बताए।

उनले ‘फ्रन्ट लाईन’मा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतप्रति सम्मान व्यक्त गरे।

उनले भने, ‘पर्याप्त स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरिरहनुभएका सबै स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्दछु। यसरी नै अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाईको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीप्रति श्रद्धा प्रकट गर्दछु।’

कोरोना विरुद्धको लडाईमा नेपाली कांग्रेस सरकारको साथमा रहेको भन्दै सरकारको गलत नियतविरुद्ध निरन्तर लड्ने उनको भनाइ छ।

‘कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसम्भव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नितिलाई हामी निरन्तरता दिनेछौँ’, उनले भने।

संसदमा बोल्दै उनले सरकारसँग व्यवस्थित राहत प्याकेज ल्याउन पनि माग गरेका छन्। कोरोना परीक्षण किटको अभाव हुनु लाजमर्दो विषय भएको देउवाको भनाइ थियो।

उलने भने, ‘कोरोनासंग जुध्न अत्यावश्यक पिपिइ, परिक्षण कीट लगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ। समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मुल्य भन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य छ।’

उनले सरकारले दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको आरोप समेत लगाए।

देउवाले सरकार सांसदको अपहरणमा संलग्न भएको घटनाको निन्दा गरेका छन्।

उनले भने, ‘एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो। म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाबुराम भट्टराईले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा

२६ बैशाख २०७७, शुक्रबार २२:००
  काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् साबिक समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । प्रधानमन्त्री ओलीले संवैधानिक आयोग कब्जा गर्ने तथा अरु पार्टीहरुलाई फुटाउने उद्देश्यले २ वटा […]

सम्बन्धित शीर्षक