कोरोनाको लक्षण नदेखिएका संक्रमितले अरूलाई तीव्र संक्रमण बढाएको अध्ययनहरूको नतिजा

कर्णालीपत्र संवाददाता २७ चैत्र २०७६, बिहीबार १७:५७


काठमाडौं, चैत्र २७ । २२ चैतमा कोरोना संक्रमण पुष्टि भएकी कैलालीकी ३४ वर्षीया महिलामा कुनै लक्षण देखिएको थिएन । दुबईबाट आएका उनका आफन्तमा कोरोना संक्रमण पुष्टि भएपछि घरका अन्यलाई पनि जाँच गर्ने क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो नेपालमा कोरोना संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएको पहिलो घटना हो । यस घटनालगत्तै सरकारले कोरोना संक्रमण दोस्रो चरणमा पुगेको जनाउँदै लकडाउनको समय थपेको थियो ।

विश्वव्यापी रूपमै विनालक्षणका संक्रमितले बढी संक्रमण फैलाइरहेको देखिएको छ । कोलम्बिया विश्वविद्यालयका इपियोडिमियोलोजिष्ट स्टेफन मोर्सले ‘लक्षण नै नदेखिइरहेका मानिसले उल्लेख्य रूपमा संक्रमण फैलाइरहेको’ बताएका छन् ।

अमेरिकी राष्ट्रिय रोग नियन्त्रण एवं रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरसबाट संक्रमित अमेरिकीमध्ये २५ प्रतिशतमा कुनै लक्षण नदेखिएको एवं उनीहरू बिरामी पनि नपरेको बताएका छन् ।

यसरी लक्षण नै देखा नपरेका मानिसले विश्वभर तीव्र रूपमा संक्रमण फैलाइरहेको उनको भनाइ छ । अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघिसकेको छ ।

‘थाहा नभएका संक्रमित जति पनि हुन सक्छन्, बिरामी भएका र गम्भीर बिरामी भएका मानिसहरू मात्रै अस्पतालमा छन्,’ उनले थपे ।

न्यु इडल्यान्ड जर्नल अफ मेडिसिनमा बिल गेट्सले त्यस्ता लक्षण नदेखिएका मानिसबाट संक्रमण फैलिन नदिन कुनै तयारी नभएको उल्लेख गर्दै एक रिपोर्ट लेख प्रकाशित गरेका छन् ।

‘कोरोना भाइरस ९कोभिड– १९० मिडिल इस्ट रिस्पाइरेट्रीभन्दा तीव्र र हानिकारक रूपले फैलिरहेको छ,’ गेट्सले भनेका छन् ।

के हो लाक्षणिक र बिलाक्षणिक संक्रमण ?

लक्षण नै नदेखिएको मानिसबाट कोरोना भाइरस संक्रमण हुन सक्छ भन्ने रहस्य पहिलोपटक फेब्रुअरीमा देखिएको हो ।

चीनको वुहानमा लक्षण नै नदेखिएका एक २० वर्षीय युवकबाट घरकै पाँचजना सदस्यमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

चीनमै प्रकोप फैलिइरहेका वेला विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टले कुनै किसिमको लक्षण नदेखिएका मानिसमा समेत कोरोना भाइरसको संक्रमण भएको देखाएको थियो ।

लक्षण नदेखिएका मानिसको समूहका केही मानिसमा पछि सामान्य लक्षण देखिए पनि धेरै मानिस भने लक्षण नदेखिएरै निकोसमेत भए । यस्ता लक्षण नदेखिएका मानिसबाट अन्य मानिसमा संक्रमण फैलिएको घटनाको पुष्टि भने कम देखिएको छ ।

चीनमा सुरुमा संक्रमणको लक्षण नदेखिएका ७५ प्रतिशत संक्रमितमा पछि लक्षण देखिएको प्रोरिपब्लिकाले सार्वजनिक गरेको थियो ।

त्यसकारण लक्षण नदेखिएका वेला ती मानिसबाट अन्यमा संक्रमण फैलन सक्ने सम्भावना उच्च हुन्छ । र, त्यस्तो अवस्थाले धेरैमा संक्रमण फैलन सक्ने सम्भावना पनि देखिन्छ ।

त्यस्तै, केही दिनअघि अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रले कोरोना संक्रमित २३ बिरामीमाथि गरेको एक अध्ययन सार्वजनिक गरेको थियो ।

अध्ययनले लक्षण नदेखिएका ती २३ संक्रमितमध्ये १० संक्रमितमा भाइरसमुक्त अर्थात् निको भइसकेपछि मात्रै लक्षण देखिएको जनाएको थियो । त्यस्तै अर्को समूहका १० जनामा एक हप्तापछि लक्षण देखिएको थियो ।

डायमण्ड प्रिन्सेस पानीजहाजबाट जापानमा क्वारेन्टाइनमा राखिएका तीन हजार सात सय ११ जनामध्ये सात सय १२ जनामा संक्रमण देखिएको थियो । अमेरिकी रोग नियन्त्रण केन्द्रले तीमध्ये ५० प्रतिशतमा त्यतिवेला कुनै लक्षण नदेखिएको जनाएको छ ।

लक्षण देखिनुभन्दा ४८ घन्टाअघि संक्रमितले अरू मानिसमा संक्रमण फैलाइरहेको रेडफिल्डको भनाइ छ ।

केही दिनअघि जापानका विशेषज्ञहरूले सार्वजनिक गरेको एक अध्ययनले वुहानमा संक्रमित पाइएका ३० प्रतिशतमा कुनै लक्षण नदेखिएको देखाएको छ । त्यस्तै सिंगापुरमा पनि स्थानीय रूपमा संक्रमित भएका एक सय ५७ जनामध्ये १० जनामा लक्षण नदेखिएको अवस्थामा अरूलाई संक्रमण फैलाएको पाइएको छ ।

सिडिसीमै प्रकाशित भएको उक्त अध्ययनले ती मानिसले लक्षण देखिनुभन्दा तीन दिनअघिबाट नै संक्रमण फैलाएको उल्लेख गरेको छ ।

त्यस्तै आइसल्यान्डको एक बायोटेक कम्पनीले नौ हजारभन्दा बढीलाई जाँच गरेको र तीमध्ये संक्रमण देखिएकामध्ये ५० प्रतिशतमा कुनै लक्षण नदेखिएको सिएनएनले उल्लेख गरेको छ । हङकङमा २३ कोरोना संक्रमितमा गरिएको एक अध्ययनले संक्रमित व्यक्तिले पहिलो हप्ताभित्रै नै तीव्र संक्रमण फैलाउने र त्यसपछि ती व्यक्तिबाट संक्रमण कम हुने देखाएको छ । अर्थात् पहिलो हप्तामा ती संक्रमित रहेको वातावरणमा बढी भाइरस पाइएका हुन् भने हप्तादिनपछि क्रमशस् कम हुँदै गएको हो ।

सार्सका संक्रमितले भने पूर्ण रूपमा लक्षण देखिएर बिरामी भएको सातदेखि १० दिनपछि मात्रै उच्च संक्रमण फैलाउने गर्थे, जसकारण त्यतिवेलासम्म संक्रमणबाट बच्ने उपाय अपनाउन पर्याप्त समय हुन्छ । तर, कोरोना भाइरसका संक्रमितले भने लक्षण देखिनुभन्दा कम्तीमा ४८ घन्टा अगावैदेखि संक्रमण फैलाउन थाल्ने माथि उल्लेखित अध्ययनहरूबाट देखिन्छ ।

त्यसकारण कोरोना भाइरसको संक्रमण यसअघिका अन्य संक्रमणभन्दा चुनौतीले भरिएको देखिएको हो ।

को हुन्, बेलाक्षणिक संक्रमणकारी ?
गत बुधबार लान्सेटमा प्रकाशित भएको एक जर्नलले १७ जनवरीदेखि मार्च १ सम्म चीनका तीन अस्पतालमा ३६ बालबालिकामा कोरोना भाइरस देखिएको उल्लेख गरेको छ । तीमध्ये आधाभन्दा बढीमा कुनै लक्षण नै नदेखिएको र सामान्य अवस्थामा रहेका थिए । त्यस्तै एक अर्को अनुसन्धानले चीनमा संक्रमित सात सय बालबालिकामध्ये ५६ प्रतिशतमा कुनै लक्षण नदेखिएको, सामान्य अवस्था रहेको जनाएको छ ।

अमेरिकाको पिट्सबर्ग मेडिकल सेन्टरका बाल संक्रमण रोग विशेषज्ञ जोन विलियमले १० देखि ३० प्रतिशत बालबालिकामा संक्रमण भए पनि लक्षण नदेखिइरहेको एबिसीलाई बताएका छन् । त्यसकारण विनालक्षणका मानिसबाट समेत संक्रमण फैलिने सम्भावना देखिएका कारण कपडाकै मास्क भए पनि प्रयोग गर्न विज्ञहरूले सुझाएका छन् ।

अमेरिकी राष्ट्रिय संक्रामक रोग संस्थानका निर्देशक एन्थोनी फौसीले ‘खोकी नलागेका, हाच्छ्युँ नगरिरहेका एवं स्वस्थ देखिइरहेका मानिसबाट समेत संक्रमण हुन सक्ने’ बताएका छन् ।

त्यसकारण मास्कको प्रयोगले संक्रमित तर थाहा नभएका मानिसबाट बचाउन सक्ने देखिन्छ । त्यसकारण हरेक व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने देखिन्छ । (नयाँ पत्रिका दैनिकको अनलाइनबाट)

Leave a Reply

Your email address will not be published.

Next Post

विश्वभर कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो , ८९ हजार बढीकाे मृत्यु

२७ चैत्र २०७६, बिहीबार १७:५७
काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । वल्र्ड मिटर्स डट इन्फोको डाटाअनुसार समाचार तयार गर्दासम्म १५ लाख ३२ हजार ४ सय ३९ जनामा संक्रमण भेटिएको छ । यसमध्ये ८९ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ३७ हजार ४ सय ६८ […]