कोभिड- १९ महामारीले विश्वभर पैदा गरेको सकारात्मक सन्देश

कर्णालीपत्र संवाददाता १९ चैत्र २०७६, बुधबार ११:५६


आज कोरोना भाइरसले विश्वमा आतंक मच्चाइरहेको बेला हरेक देश र विश्व जगतलेनैं यो महामारीबाट बच्न आफ्नो अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् । एकातिर महामारीबाट विश्वनैं आतंकित भैरहेको अवस्था छ भने अर्कोतिर विश्व जनमानस केही समय निदाउने प्रयास गरे पनि २४सैं घण्टा देश विदेशमा सजिलैसँग अजिंगर रुपी कोरोनाले निलेका आफन्तहरुको तस्वीर नियाल्न बाध्य छन् । ओलम्पिक खेलमा श्रेणी प्राप्त गर्ने देश र खेलाडीले मेडलहरु पाए जस्तै इतिहासमै पहिलो चोटी देशहरुका नामहरु र मृत्यु हुने व्यक्तिहरुको नाम टिभी र सोसियल मिडियामा हेर्न हामी विवश भैरहेका छौं भने महामारीको ज्वालामुखी कतिखेर कुन ठाउँमा दन्किने हो र त्यो लप्कोमा आफू परिने हो । त्यसैको त्रास र सन्देहमा डुब्दा डुब्दै हरेक मानिसको जिउको मासु वनको बाघले खानेभन्दा मनको बाघले बढी खाने भयले आक्रान्त बनिरहेको छ । यद्यपि यस्ता महामारी संक्रमण इतिहासमा पहिला नआएका होइनन् । बर्डफ्लु, सार्स, मर्स, मावर्ग भाइरस, इबोला, रेबिज, एचआइभी, स्मालपक्स, हन्टाभाइरस, इन्प्लुनन्जा, डेङगु, रोटाभाइरस, जस्ता विभिन्न भाइरसहरुले विश्वब्यापी महामारीले आफ्नो नांगो नाच देखाइसकेको छ । मानव सभ्यता सुरु भएदेखि नैं यस्ता महामारीबाट करोडौं मान्छेहरुको ज्यान लिइसकेको छ । तर प्रविधि र विश्वलाई ग्लोबल भिलेजको नामाकरण दिइरहेको २१औं शताब्दीको बेला भएको यो मानव जिवनकै पहिलो बिपत्ति हो । तर यो अध्याय यतिमा मात्र सीमित छैन यो रोगको प्रकृति लय र लवज हेर्दा विश्वमा केही सन्देश प्रवाह गर्ने ढंगले उत्पाद मच्चाइरहेको भान हुन्छ । हरेक वस्तु र घटनामा सकारात्मक र नकारात्मक परिणाम भए जस्तै यस परिघटनामा समेत महामारीले केही सकारात्मक र नकारात्मक सन्देशहरु प्रभाव अवस्य गरेको छ । त्यो सन्देश के हुन सक्छ यहाँ सामान्य रुपमा उजागर गर्ने प्रयत्न गरिएको छ । यद्यपि यो समय घृणा वा आलोचनाको नभई सहभाव, सहकार्य र आपसी सहयोगको नैं बढी खाँचो हो । अचम्मको कुरा त यो रोगको औषधि त पत्ता लागेको छैन नैं यो रोगको लक्षण, प्रतिरोधमा अपनाउनु पर्ने विधि समेतले अचम्मको सन्देश प्रवाह गरिरहेको अनुभुति हुन्छ । जस्तै यो रोगबाट बच्नलाई एक आपसमा सम्पर्कमा नहुने, कम्तिमा ३ देखि ६ मिटर टाढा रहने, मुख छोपेर हिड्नुपर्ने मात्र होइन हात त झन मिलाउनै नहुने, एक आपसमा हात छुँदा ज्यानै जानुपर्ने यस्ता अचम्मका नियम पालना गर्दागर्दै आफ्नाबाट धुमिल हुँदै विवशतामा हामी धेरै अगाडि पुगिसकेका छौं ।

यसको अर्थ र दिन खोजेको सन्देश के हो ? पहिलो यसको सन्देश हो विश्वमा वातावरण परिवर्तनदेखि पृथ्वी र वायुमण्डलमा मानिसले गरेको अत्यधिक दोहन, शोषण र हस्तक्षेपको प्रतिउत्पादकका रुपमा विभिन्न विश्लेषणहरु सुरु हुन थालेका छन् । त्यस्तो गलत कामबाट उत्पन्न परिणामको रुपमा प्रकिृतिले मानिस जातिलाई दिएको सजाएको रुपमा अथ्र्याउन थालिएको छ । त्यसमा पनि अझ महत्वपूर्ण कुरा के छ भने विश्वमा प्रकृतिमाथि बढी दोहन र हस्तक्षेप गर्ने ती राष्ट्रहरु जसले आफूलाई विकसित र अति विकसित राष्ट्रको सूचिमा राख्न सफल भएका छन् एकआध अपवाद छोडेर संयोगवश त्यस्ता राष्ट्रहरुमा नै यो महामारी बढी मौलाएको छ । पहिलो बढी संक्रमितहरुको नेतृत्व विश्व सुपर पावरको दाबेदार अमेरिकाले नैं गरेको छ । संयोग कस्तो परेको छ भने क्लाइमेट चेन्जको विश्व फोरमबाट करिब ३ वर्ष अगाडि एनिकी १ जुन २०१७ मा राष्ट्रपति टम्पले पेरिस सम्झौताबाट पछि हट्ने निर्णय गरेका थिए । जुन देश संसारमा सबैभन्दा बढी ग्यास उत्सर्जन गर्ने , आणविक एवं रासायनिक भट्टीहरु निर्माण गर्ने पंक्तिमा पर्छ र जसको कारणलेनैं विश्व सभ्यता संकटमा पर्ने स्थिति छ उसैले यो सम्झौताबाट बाहिर निस्कँदा बाँकी विश्वमा, प्रकृति र सामाजिक विज्ञानमा कस्तो प्रभाव पर्छ होला सहजै अनुमान गर्न सकिन्छ । यस्तै विकसित देशहरुले ठूलो स्केलमा सञ्चालन गरेका उद्योगधन्दा कलकारखाना र रासायनिक एवम् जैविक हतियार उत्पादनले चुनौती पैदा गरिरहेको छ । त्यसैको सजाय अमेरिका, फ्रान्स, स्पेन, बेलायत, जर्मनी, चाइना, कोरिया, जापान, समस्त युरोप, अफ्रिकादेखि समग्र विश्वले भोगीरहेका छन् । त्यस्तै आफूलाई विकसित र अणु प्रमाणिक राष्ट्रको माथिल्लो तहमा राख्न सफल क्रमशः अमेरिका, चाइना, युरोपियन युनियन, जापान, कोरिया, रसियालगायतका देशमा संक्रमणको घनत्व बढेको छ भने यस्तै बाँकी राष्ट्रहरुमा समेत यो डढेलो फैलँदै अब पुरै संसार उम्कनै नसक्ने मुस्लोमा फस्दै गएको जस्तो देखिन्छ । बिबिसी लण्डनको एक खोजमूलक जानकारी अनुसार केही शहरहरु र क्षत्रहरुमा वायु प्रदुषण र तापक्रम ग्याँसहरुको स्तरले कोरोनाभाइरस उत्पन्न र प्रभावको स्रोत बनिरहेको कुराको विश्लेषण भैसकेको छ ।

यही स्तरमा विकास सुविधा र सम्वृद्धिको नाउँमा प्राकृतिक स्रोत, जमिन, जल, वातावरण, बोटबिरुवा र अन्य वातावरणको दोहन बिनाश जारी राखेमा मानव जातिले यो भन्दा भयानक महामारीका लागि आजै मानसिक रुपमा तयारी गरेर बसे हुन्छ । अर्को यो रोगको प्रकृति भनेको एक आपसमा हात नमिलाउने वा एक आपसमा छुन नहुने भन्ने हो । प्रतिकात्मक ढंगले यसको सरल अर्थ बुझ्न पनि त्यति कठीन छैन । संसारको सन्तुलन नैं बिगार्ने गरी सबैभन्दा मानव जातिले पृथ्वीमा गरेको गल्ति चाँही विभिन्न खाले अपराध, भ्रष्टाचार र बेभिचार हो । यहाँ हेक्का राख्नुपर्ने कुरा के छ भने यस्ता घटनाहरु घट्नलाई मान्छे एक आपसमा भेट हुनै पर्छ । त्यसैले मानव जाति एक आपसमा जोल्टिदंै धनसुख, पदसुख र शरीर सुखका लागि जस्तो सुकै अपराध गर्ने त्यसको माध्यमको रुपमा पैसा वा साधनस्रोतको लेनदेन समेत हातबाटै हुने, गरीब दुःखीहरुलाई अत्यधिक दोहन गर्ने र कानूनलाई समेत हातमा लिँदै उनीहरुको ज्यानै समेत लिने, सबै हिसाबले बलियो ब्यक्तिले, संस्था र पदको दुरुपयोग गर्दै अत्यधिक जनता र राज्यलाई लुट्ने भएकाले पृथ्वीको सामाजिक पर्यावरण बिग्रन गई अब मान्छे भेट्न नपाउन र कम्तीमा अबउप्रान्त यो घटनाबाट रुपान्तरण भै सच्चिएर मात्र भेटघाट होस् भन्ने मानव जातिलाई दिएको सांकेतिक संदेश हुन सक्छ । पछिल्लो चरणका विभिन्न विश्लेषणहरुले यही कुुराको पुष्टि गर्दछ । जहाँसम्म मास्क अनिवार्य लगाउने भन्ने छ यति धेरै भ्रष्टाचार, अपराध गरेकोमा मुख हेर्न लायक मान्छे नभएकाले प्रकृतिले त्यसको प्रकिकात्मकरुपमा मास्क लगाउँदा एक आपसमा तिम्रो असली अनुहार नदेखाउँ भन्ने हुन सक्छ विश्लेषकहरुको दाबी छ । अझ यति मात्र कहाँ होर मान्छे मरिसकेपछि भेट्न पनि नपाउने आफ्नो धर्मसंस्कार अनुसार अन्तेष्टी पनि गर्न नपाउने, दाहासंस्कार गर्दा लठ्ठीले घोच्नुपर्ने र टाढैबाट दाहासंस्कार गर्नुपर्ने दर्दनाक स्थितिका बीच यस्तो भवितब्य र क्षतबिक्षत हँुदा समेत आफ्नो संस्कार, सहानुभूति र सम्बन्धको भाव प्रकट गर्न नपाउनु योे कस्तो रोगको नियम र नियती हो । हँुदा हुँदा यो महामारी चुरोट, बिडी र अलकोहलले बढी असर गर्ने चेतावनीसमेत आइसकेको छ । अर्को यसको प्रतिकात्मक सन्देश भनेको सामान्यतया विज्ञान र अहिलेसम्मको स्थापित संस्कार भनेको गरीबलाई रोग लाग्ने, धनीलाई रोग लागिहाले पनि ठूलो पैसाको बलबाट सुरक्षित हुने गर्थे । यस्तै शासन सत्तामा बसेका ठूला ठूला प्रभावशाली मान्छेहरुलाई रोगै नलाग्ने र लागिहाले पनि आफ्नो अकुत सम्पत्ति वा राज्यको सम्पत्ति ओइरो हालेर सुरक्षित हुने प्रचलन हुने गथ्र्यो । तर मानव जगतलाई प्रकृति र सामाजिक वातावरणले आज यस्तो ठाउँमा पु¥याई दियो कि यो रोगले गरीव र धनी कसैलाई नछोड्ने देखियो । अर्को चाँही विश्वमा पहिलो चोटी राजा राष्ट्रपति, मन्त्री, चर्तित व्यक्तित्व, चर्चित सेलिब्रेटी, महान खेलाडी, विश्वका पूँजी पतिहरुलाई यो लयबाट रोगले च्यापेको र ज्यान गएको पहिलो घटना हो । यो संक्रमणबाट प्रभावित विश्वका ठूला र चर्चित पात्रहरुलाई कसरी लपेटेको छ सांकेतिक रुपमा मात्र यहाँ केही ब्यक्तिहरुको नाम उल्लेख गर्दा नैं बुझ्न काफी हुन्छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्लाभो, बेलायती राजकुमार चार्लेस, इजरायली प्रधानमन्त्री बेन्यामेन नेतन्याहु, मोनाकोका राजकुमार प्रिन्स अल्बर्ट, नाइजेरीयन राष्ट्रपतिका प्रभावशाली राजनैतिक सल्लाहकार अब्बा कियारी, संयुक्तराज्य अमेरिकाका सिनेटर राण्ड पल, युरोपियन युनियनका प्रमुख बे्रक्जिट बार्ताकार मिशेल बर्नीर, ब्राजिलका खानी र ऊर्जा मन्त्री बेन्टो अल्बुकर्क एवम् त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अगुस्टो हेलेनो, जापानका फुटबलर एसोसियनका प्रमुख कोजो तासिम, अष्ट्रेलीयाका गुह माम्ला मन्त्री पिटर डुटन, इरानका उपराष्ट्रपति मासौमेह एबटेकर, क्यानेडियन प्रधानमन्त्रीकी श्रीमती साफी ग्रिगोयर टुडो, स्पेनिस प्रधानमन्त्रीकी श्रीमती बेगोना गोमेज, फ्रान्सेली संस्कृति मन्त्री फ्रान्क राइस्टर, मियामी अमेरिकाका मेयर फ्रान्सिस सुआरेज, पोल्याण्डका वातावारण मन्त्री मिखाएल वोस, बुर्खिना फासोका खानी मन्त्री ओमरौ इडानी एवम् त्यहाँका शिक्षा मन्त्री स्टानिसला क्वयरो, आन्तरिक मन्त्री साइमन सवाडोगो, विदेश मन्त्री अल्फा बेरी गम्भीर कोरोना संक्रमणबाट प्रभावित भएको अवस्था छ भने स्पेनकी राजकुमारी तथा पूर्व उपप्रधानमन्त्री मारिया टेरेसा, स्पेनको सबैभन्दा ठुलो बैंक सान्तादरको पोर्तुगाली इकाइका अध्यक्ष एन्टोनियो भिइरा मोन्टेयरोलगायत कैयन सरकारी पदाधिकारी र प्रभुत्वशाली ब्यक्तित्वहरुको निधन भैसकेको छ । यस्तै चर्चित सेलिब्रेटीहरु अस्ट्रेलीयन हलिउडका चर्चित जोडी टोम हेन्स र रीता विल्सन, फ्रान्सका नायक वल्गा कुरिलेन्को, ब्रिटिस अभिनेता इड्रिस एलवा, साउथ कोरियाका अभिनेता डानियल डेई किम, विश्व प्रसिद्ध खेलाडीहरु इटालीयन फुटबल टिमका गोलकिपर मार्को स्परटिलर, अमेरिकन हक्की खेलाडी ओटोवा सिनेटर्स, स्पेनिस फुटबल क्लवका दर्जनौं खेलाडी, इटालीयन फुटबल ब्लवका डिफेन्डर डानियल रुगानी, आर्सेनल टिम म्यानेजर मिकेल अर्टेटा, इटालीका प्रसिद्ध फुटवल खेलाडी पउलो दिवाला, कोलोक्बियन साइकिलिष्ट फर्नाडो गाभेरिया, इटालियन फुटबल ब्लबका टिम डाक्टरसहित पाँच खेलाडी, बुडापेस्ट स्थित ब्रिटिश दुतावासका मिशन उपप्रमुख स्टिभन डिक, संयुक्तराज्य अमेरिकाका सेफ मास्टरका शीर्ष विजेता प्लोड कार्डोज, अमेरिकन प्रशारण पत्रकार सेठ डोने संक्रमणको तुलालोमा फसेका छन् । त्यस्तै एउटा अर्को रेकर्ड के तोडिएको छ भने यो भन्दा अघिका रोग र बिरामीको कारण सामान्यतया बिरामीहरुको उपचार गर्ने काम डाक्टरहरुको हुन्थ्यो वा भनौं बिरामी भैसकेपछि डाक्टर भगवान हुन् भन्ने मान्यता अहिले आएर तोडिएको छ । उनीहरु आफूनैं यो महामारीको प्रकोपबाट सबैभन्दा बढी ग्रसित हुन पुगे । फिलिपिन्समा नौं डाक्टरहरु, चाइनामा युवा डाक्टरहरुसहीत दर्जनौं डाक्टर, स्वास्थ्यकर्मीहरु, अस्पतालका निर्देशकहरु र नर्सहरु संक्रमित भए भने कतिको ज्यानसमेत गैसकेको छ । इटालीमा ६००० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस भएकोमा ५० जना डाक्टरहरुको मृत्यु भैसकेको छ । त्यस्तै बिकराल डेटा विश्वमा कोरोना भाइरस फैलिएको देशहरुको अवस्थाबाट गुज्रिरहेको छ । अर्को मान्यता समेत तोडिएको छ कुनै ठाउँ, देश वा विश्वमा कुनै ब्यक्ति बिरामी हुँदा पहिलो सम्झने र विश्वास गर्ने भनेको विभिन्न धर्मसँग सम्बन्धित लामा, पण्डित, आचार्य, पादरी, पोप, गुरु, महन्त, रिसी, साधु, सन्त, स्वामी, योगी, मुल्लाहा, रवी वा भनौं विश्वका कुनै पनि धर्मका गुरुहरुसँग आफूले मागेको वर एवम् फल पाउने हुन्थ्यो तर ती सबै मूल्य, मान्यताहरु ध्वस्त भएका छन् । महामारीको युद्ध मैदानमा सबैभन्दा अघिल्लो लाइनमा यस्तै विभिन्न आस्थामा विश्वास गरेका धर्मगुरुहरु संक्रमित भएका छन् भने कतिको ज्यानसमेत गैसकेको छ । सबै आस्थाका केन्द्र एवम् धरोहरहरुमा महामारी फैलने डरले भोटे ताल्चा लागिसकेका छन् । दोस्रो पक्ष भनेको संसारमा धार्मिक मान्यता अनुसार नैं ईश्वर छन् भनेर मान्ने हो भने पनि हरेक धर्ममा गरेका गल्तिहरुलाई सबै खाले धर्मका गुरुहरुले गरेको पुकारलाई तिनिहरुका ईश्वरले मान्न तयार देखिएनन् । यसलाई सकारात्मक ढंगले बुझ्ने हो भने हरेक धर्ममा पाप यति धेरै बढिसक्यो कि तिनीहरुका ईश्वरले सहजै सुन्ने र उनीहरुका मागहरु पूरा गर्ने प्रणालीमा केही न केही खराबी उत्पन्न भयो । त्यस्तो प्रणालीमा कही न कही रुपान्तरण हुन जरुरी भैसकेको संकेतको रुपमा बुझ्नुको अरु विकल्प सायदै होला । यसको मतलब महामारीबाट संक्रमण भएका वा मृत्यु भएका मानिस नैं माथिको परिस्थिति बिगार्ने कारक हुन् भन्ने होइन तर प्राकृतिक एवम् बायोलोजिकल नियममा गल्ति एउटाले गर्दा गर्दै पनि त्यसको लपेटमा सारा विश्व तानिन्छ यही चक्र यहाँ लागू भएको छ । केही शक्तिशााली र सुपरपावरको जगमा निर्माण भएका सरकारले गरेको गल्ति आज संसारमा सबै मान्छेहरुले भोगट्न बाध्य छन् ।

तर यसो हुँदा हुँदै पनि समग्रमा महामारीले केही सकारात्मक शिक्षा समेत लिएर आएको छ । विश्वमा ग्लोबलाइजेसनको नारासँगै प्राविधिक शिक्षाको कुरा सुनेको र विकसित राष्ट्रले यसलाई प्रयोगमा ल्यायको धेरै भइसक्यो तर नेपालमा जति सुकै डिजिटल र आइटी प्रविधिको नारालाई अगाडि सारे पनि यसको ब्यवहारिक प्रयोगमा भने आउन सकेको छैन । अर्कोतिर विश्वका विकसित देशहरुले यस्तै इन्टरनेटको प्रयोगबाट सरकारी कामकाजलाई चलाउने काम गरिरहेका मात्र छैनन् मानव बिहिन प्रविधिको प्रयोग गर्दा एकातिर भ्रष्टाचारमा सुन्यशहनशीलता र अर्कोतिर काममा छिटो, छरितो र ब्यवस्थित भैरहेको छ । साथै यी देशहरुले यस्तो प्रकोपमा मात्र होइन सामान्य जीवनमा समेत नेट इन्टरनेट र अनलाइन मार्फत जनतालाई घर घरमा सामानहरुको वितरण गर्ने, अन्य आधारभूत सेवा सुविधा प्रधान गर्ने एवम् भूकम्प वा बाढीपहिरो, महामारी वा अन्य कुनै प्रकृतिबाट बच्न उच्चतम प्रविधिको उपयोग गरी आफ्ना नागरिकलाई सेवा, सुविधा र जानकारी दिने काममा प्रयोग गरिरहेका छन् । यही महामारीका दर्मियानमा चाइनाले दर्जनौं एपहरुको प्रयोग गरेर कोरोना भाइरसलाई नियन्त्रण मात्र गरेन बल्कि उपभोग्य बस्तु र हरेक सेवा सुविधालाई कोठा कोठामा पु¥याउन समेत सफल भयो । बिच्याट, अलिपे, किउकिउ, तबाओ, बइदु, इकिई, डाउइन, टेनसेन्ट, चुचियाओ आदिजस्ता एपहरुको प्रयोग गरेर जनताका घर र कोठाहरुलाईनैं संसारमा रुपान्तरण मात्र गरेन नागरिकलाई घर बाहिरनैं ननिक्लेर सबै सेवा पाउँदा कोभिड १९ को युद्धमा सफलता प्राप्त गर्न समेत महासस्त्रको रुपमा काम ग¥यो ।

यति मात्र होइन यस्तै प्रविधिको प्रयोग गरी विद्यालय, विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धानको माध्यमसमेत बनाइसकेका छन् विश्वका विकसित राष्ट्रहरुले । अहिले सबै तहको औपचारिक शिक्षामा समेत अमेरिकीहरुले घरमै पढाउने प्रवन्ध सुरु गरे । साथसाथै युरोपियन युनियन र बाँकी विकसित देशहरुले स्कुलनैं नदेखेर अनलाइनमार्फत खुल्ला विश्वविद्यालय मार्फत हरेक तहको डिग्री प्राप्त गर्ने प्रक्रिया अवलम्वन गरिसकेका छन् । छिमेकी चिनले वुहानका तीन करोड जनतालाई आधुनिक प्रविधिबाटै पढायो । अब यो प्रविधि अनुसरण गर्न नेपालले किन ढिलो गर्ने ? जुन माध्यमले हामी भने सारमा केही प्रतिशत यसको सदुपयोग गरे पनि डिजिटलाइज भनेको फेसबुक वा इन्स्टाग्राम जस्ता सोसियल मिडियाको सदुपयोग भन्दा बढी दुरुपयोगको समयनैं ब्यतित गरिरहेका छौं ।

यसको सार के हो भने प्रकृति नियमसँगसँगै आत्मिक, शारीरीक र भौतिक रुपले मान्छे जब आफ्नो स्वार्थ र नियममा राखेर विश्वलाई काबुकमा ल्याउन प्रयत्न ग¥यो अनि मात्रै यस्तो महामारीमा संसार हल्लिदैं गएको छ । अब एक चोटी हरेक संस्कार, संस्कृति, देश र विश्वबाट एक कदममाथि उठेर प्राकृतिक वातावरणसँगसँगै आत्मा र विचार पनि ब्यापक रुपान्तरण गरौं । यो महामारी कहाँ र कुन स्तरमा गएर टुंगिने हो अहिलेसम्म अनिश्चय नैं छ । एउटा तथ्याङ्कले के देखाएको छ भने विश्व नैं लकडाउन भएको स्थितिमा करिब ७५ प्रतिशत अपराधमा कमी आयो । यो महामारी नकारात्मक हुँदाहँुदै पनि मृत्युको डरले वा भनौं मान्छे आत्मअनुशासनमा बस्दा अपराधमा कमी आउँदो रहेछ भन्ने सकारात्मक सन्देशसमेत यसले प्रवाह गरिसकेको छ । तर यो केही दिन न्यानो गरेर बिर्सने जस्तो मात्र भयो भने र यसलाई विश्वले अन्तिम चेतावनीको रुपमा बुझेन भने कुनै दिन हावाबाटै सर्ने कोरोना भाइरसको विकास हुन समय त लाग्ने छैन नंै हँुदाहँुदा कुनै दिन सूर्य आउन छोड्यो वा रात परेको परेइ भएर बिहानीको सुरुवात भएन भने पनि अन्यथा मान्नुपर्ने छैन तर त्यतिखेरसम्म मान्छेले मानव जातिको जीवनयापन त परै जाओस् मानव जातिको अस्तित्वको मामलामा समेत सोच्ने समय हुने छैन ।
यति हुँदा हँुदै पनि यी शक्तिशाली राष्ट्रहरुमा प्रकृतिलाई हस्तक्षप गर्ने र यसका लागि विश्व भाइचाराको नीति अवलम्बन गर्ने पद्धतिमा सुधार आएको छैन । यही महामारीले बिकराल रुप लगिसकेको अवस्थामा समेत इटलीले कतिसम्म गल्ती ग¥यो भने खासगरी रोम वार पछि इटलीले हामी अब्बल देश हौं भन्ने इतिहासको धङ्धङीले अठयाइरहेको थियो । जसको कारण चाइना र केही देशमा भएको बिकराल स्थितिलाई उसले नजरअन्दाज गरेर बस्यो । आजका मितिमा पनि देशहरु यति धेरै घमण्डी भैसके कि यो महामारीलाई मिलेर परास्त गर्नेतिर भन्दा भाइरसमा राजनीति भैरहेको छ यसतो भद्रगोलमा अरु देशलाई चक्रब्युमा फसायर कसरी आफू सुपरपावर बनी राख्ने ध्यानमा अमेरिका लागिपरेको छ भने चाइनालगायत कतिपय देशहरु आफूले कसरी आफ्नो प्रतिद्वन्द्वीलाई ओभरटेक गर्ने भन्ने ध्याउन्नमा छन् । यद्यपि महामारीको नियन्त्रण र त्यसपछि विश्वलाई सहयोगी हातहरु अघि बढाइरहेको चाइनाको लवज हेर्दा अमेरिकाको पूँजीवादी टावर धुमिल हँुदै गएको र समाजवादी टावर चम्किदैं गएको बुझ्न धेरै घोत्लिनु पर्दैन । सन् ९० को आरम्भमा समाजवादी इतिहासको अन्त्यको घोषणा गरेको पूँजीवादको पर्खाल ३० वर्षमै मक्किएर नयाँ संकटलाई थेग्न नसक्ने टीठ लाग्दो अवस्थामा पुग्ला भनेर सायदै पूँजीवादले सोचेको थियो होला ? सायद यस्तै रवैयाको उत्कर्षमा विश्व पूर्ण विराममा पुगेमा पूँजीवादको भूमण्डलीकरण, निजीकरण र उदारीकरणको ठाउँमा समाजवादी धरोहर निर्माण नहोला भन्न पनि सकिदैन । खयर जे होस् अब क्लाइमेट चेन्ज लगायतका मानव समाजको अस्तित्वसँग जोडिएका सवालहरुमा अति विकसित, विकसित वा विकससील र नेपालजस्ता विकासोन्मुख मुलुकहरु एउटै फोरममा सहकार्य गर्नुको विकल्प छैन । यो कोरोना प्राकृतिक प्रकोप नभई मानव सिर्जित प्रकोप हो । यदि यसरी बुझियो भने मात्र समस्याको दिगो समाधान हुनेछ । यदि नजरअन्दाज गर्दै प्राविधिक समाधान मात्र खोजियो भने यस्ता महामारीहरुले पृथ्वी र ब्राम्हण्डलाईनैं निल्ने गरेर नआउलान् भन्न सकिन्न । यसैले मुलभूतरुपमा आधुनिकताका नाममा हामी मानव जातिमा पैदा भएका सोच, संस्कृति, संरचना, ब्यवहार र कुटिल स्वार्थहरु नैं जिम्मेवार छन् । यसमा आमुल परिवर्तन गर्ने प्रण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा विदेशबाट एक हजार २२० फर्किए

१९ चैत्र २०७६, बुधबार ११:५६
कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनी नगरपालिका ५५, भैरवी गाउँपालिकामा ६८, ठाटीकाँध गाउँपालिकामा १५७ […]

सम्बन्धित शीर्षक