चैत १८ गतेसम्म नेपाल ‘लकडाउन’

कर्णालीपत्र संवाददाता १० चैत्र २०७६, सोमबार २२:५८

सुर्खेत ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंगलबारदेखि लकलाउन गर्ने निर्णय गरेको छ ।
सरकारले आज मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गतेसम्मका लागि अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको हो । कारोनाको संक्रामक अवस्थालाई ख्याल राख्दै सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरेर यस्तो निर्णय लिइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारले संक्रमक रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी यस्तो निर्णय लिएको जनाएको छ ।
लकडाउनको अवस्थामा अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधनको सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
त्यसैगरी सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरूबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरू पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
यस्ता छन निर्णयहरु
१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने ।
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने ।
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा र्पुयाउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा ६२ वटा आइसोलेसन कक्ष

१० चैत्र २०७६, सोमबार २२:५८
सुर्खेत । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै कर्णाली सरकारले ६२ वटा आइसोलेसन कक्ष तयार पारेको छ । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा ६२ वटा आइसोलेसन कक्षहरु निर्माण गरेको हो । कोरोनाको जोखिमलाई मध्यनजर गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ३५ वटा कक्ष, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चार , जिल्ला अस्पताल […]