शहरभन्दा गाउँनै प्यारो

कर्णालीपत्र संवाददाता ९ चैत्र २०७६, आईतवार १०:१२

वसन्त भण्डारी, सुर्खेत / हस्त बुढा,जुम्ला

शनिबार बिहानै देखि बेलुकासम्म वीरेन्द्रनगर बसपार्कमा शहर छाड्नेको लर्को थियो । विश्वभर माहामारीको रुपमा फैलिएको नोवेल कोराना भाइरस नियन्त्रण र रोकथामका लागी सरकारले अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरेपछि शहरबाट बाहिरिनेको संख्या तीव्र गतिमा बढेको हो । कर्णालीका १० वटै जिल्ला तथा अन्य विभिन्न क्षेत्रका नागरिकको बसोबास रहेको सुर्खेतमा कोरानको त्रास बढे संगै सुरक्षित हुन गाउँ जान थालेका हुन ।
कोरानाको फैलिने डरले विद्यालय बन्द भएकाले गाउँघर सुरक्षित ठानेर गाउँको घरमा जान लागेको दैलेखका उपेन्द्र थापाले बताए । ‘बजारमा भिडभाड धेरै हुन्छ । त्यसैले पनि गाउँ जान लागेको ।’ उनले भने, ‘यहाँ भन्दा गाउँमा सुरक्षित भइन्छ । क्याम्पस पनि बिदा छ ।’
चैत ६ गतेबाट सुरु हुने भनिएको माध्यामिक परिक्षा (एसईई) तथा विद्यालय, विश्वविद्यालय बन्द गरे संगै सुर्खेतबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको हो । यस अघि सरकारले कोराना संक्रमणको जोखिमलाई ध्यानमा राखेर २५ भन्दा बढि जम्मा हुन नपाउने निर्णय गरेपनि बपार्कमा भने ठूलो मात्रामा यात्रु भिडभाड लागेको छ । विद्यालय सञ्चालन भएपनि मात्रै घरमा फर्कीने बसपार्कमा भेटिएकी जुम्लाकी लक्ष्मी बुढाले बताइन् । हाल वीरेन्द्रनगरबाट दैनिक जसो १५ हजार भन्दा बढि यात्रु बाहिरिने यातायात व्यवसायीको अनुमान छ ।
कोरानाको त्रासले सुर्खेत छोड्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।
यस अघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरे संगै बाहिरिनेको संख्या दोब्बर बढेको हो । ‘५ गते यता देखि सुर्खेतबाट बाहिरिनेको संख्या तिव्र गतिमा बढेको छ ।’ उनले भने, ‘लामो दुरीका यातायात बन्न गर्ने भएपछि झनै मानिसहरुको लाइन लागेको छ ।’
अध्यक्ष सापकोटाले यात्रुलाई जति सक्दो सहज वातावरणमा घरफर्कने वातावरण मिलाएको भन्दै यातायात व्यवस्था ऐन २०४९ मा व्यवस्था भए अनुरुप २ सय ५० किलोमिटर सम्मको दुरीमा १० गते पछि पनि गाडी चलाउन सकिने बताए । जसमा सुर्खेतबाट कर्णालीका जुम्लासम्म र पूर्व तिर बुटवल गाडी पठाउन नसकिने अध्यक्ष सापकोटाको भनाई छ । सरकारले चैत १० गतेबाट लामो दुरीका यातायातका साधन बन्द गर्ने निर्णय गरेको थियो ।

एकै दिन बबईनाकाबाट ७ हजार भित्रिए

शनिबार मात्रै बबई नाकाबाट ७ हजार भन्दा धेरै यात्रु कर्णाली प्रदेशका भित्रिएका छन् । जिल्ला जनस्वास्थय कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार शनिबार बेलुकासम्म ७ हजार १ सय ५१ जना यात्रु कणाली प्रदेश प्रवेश गरेका हुन । जसमा २ सय भन्दा ६१ जना भन्दा भारतमा फर्किएका छन भने ६ हजार ८ सय ९० जना यात्रु काठमाडौँ बुटवल, चितवन लगाएतका ठाउँबाट कर्णालीमा भित्रिएका जनस्वास्थ्य कार्यलयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । शनिबार चेक जाँच गराएका मध्ये कसैलाई पनि कोरानाका लक्षण नदेखिएको उनको भनाई छ । विशेष गरी भारतबाट आएका नेपालीलाई विशेष चेकजाँच गर्ने गरेको भन्दै उनले केहि लक्षण देखा परेमा आइसोलेसनमा राखेर उपाचार गर्ने समेत बताए ।

सुनसान जुम्ला सदरमुकाम

जुम्लामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको त्रासले मानिस गाउँमा फर्किन थालेपछि जुुम्ला सदरमुकाम बजार सुनसान बनेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालत लगायत कार्यालय बन्द गरेपछि जुम्ला बाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो । सरकारले आउँदो चैत १० गतेदेखि लामो दूरीका गाडीहरु समेत चल्न नदिने बताएपछि जुम्ला सदरमुकाम बजारमा विभिन्न पेशा व्यवसाय, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र कर्णाली प्राविधिक शिक्षालयमा देशका विभिन्न जिल्ला बाट जुम्ला पढ्न आएका विद्यार्थी गाउँ फर्किन हतारिएका हुन् ।
लामो दूरीका गाडी चल्न रोकिनुअघि नै घर फर्किन चाहनाहरुका कारण जुम्ला बसपार्कमा र जुम्ला बिमान स्थालमा सर्वसाधरणको भीड लागेको छ । शनिबार विहानदेखि नै जुम्ला बिमानस्थाल मा टिकट लिनेहरुको भिड देखिएको छ । एकै पटक ठूलो संख्यामा मानिस टिकटका लागि बिमानस्थल र बसपार्क काउण्टर पुगेका कारण धेरै सर्वसाधरणलाई टिकट काट्न समेत मुस्किल परेको छ । दैनिक सयौ संख्यामा मानिस बाहिरिन जान थालेपछि जुम्ला सदरमुकाम सुनसान हुन थालेको हो । विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी जमघट नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै जुम्ला सदरमुकाममा मानिसको चहपहल घटेको छ ।

अहिले जुम्लाबाट बाहिर पढ्न गएका युवायुवती देखि भारतमा पैसा कमाउन गएका यहाँ स्थानीय आफ्नौ घर फर्किन दशैंको समयमा भन्दा बडिनै आफ्नौ घरमा आउनेको संख्या प्रतिदिन बढीरहेको स्थानीय विरबहादुर शाहिले बताए । सदरमुकाममा प्राय ः विधार्थी बस्ने भएकोले बजारको चहलपहल उत्तिकै बडेको हुन्थियो, तर सबै विधार्थी आफनो गाउँ घर फर्के पछि बजार एक किसिमको सुनसान भएको स्थानिय व्यपारी तिलबहादुर भण्डारिले जानकारि दिए । यो भन्दा पहिला दैनिक २० हजारको सामान्य व्यापार भएपनि आजभोलि कुनै व्यापार नहुने र पसल खोलने काम मात्रै भएको उनले सुनाए ।
कोरोना भाइरसकै त्रासले नाका बन्द गर्ने हल्ला आए संगै यहाँका नागरिक दैनिक उपभोग्य वस्तु भण्डारण गर्नमा जुटेका स्थानिय अनिता शाहीले बताइन ।

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको हो ।
उहाँका अनुसार विभाग÷कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, स्वास्थ्यकर्मी र विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत उपस्थित हुन भनिएको हो । उहाँले उपसचिव र अधिकृतस्तरका कर्मचारीलाई समेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको बताउनुभयो ।

सरकारले कोभिड–१९ को सतर्कता अपनाउन भोलि (आइतबार)बाट अत्यावश्यक कामबाहेक कार्यालय नखोल्ने र सम्पूर्ण लामो दूरीका यातायातसमेत बन्द गर्ने निर्णय गरेको छ । अहिले विश्वमा नै कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सरकारले पनि सजगता अपनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट

९ चैत्र २०७६, आईतवार १०:१२
काठमाडौं, ९ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको अवस्थामा तत्काल […]

सम्बन्धित शीर्षक