‘कर्णाली सभ्यताको महानदी’

कर्णालीपत्र संवाददाता ३ चैत्र २०७६, सोमबार १५:०९

वसन्त भण्डारी
सुर्खेत,
भाषा तथा संस्कृतिविद् प्राध्यापक डाक्टर मधुसुधन गिरीले कर्णाली सभ्यताको महानदी भएको बताएका छन् । थुप्रै जात, जाती भाषा संस्कृतिको उत्पत्ति भएको कर्णालीलाई संरक्षणको जरुरी भएको उनको भनाई छ । आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको ‘कर्णाली सभ्यता माथिको बहस कार्यक्रममा प्राडा गिरीले कर्णालीका हरेक क्षेत्रको आफ्नै महत्व रहेको बताए । कर्णालीको भाषा र संस्कृतिको बारेमा आफ्नो भनाई राख्दै उनले यहाँका सभ्याताहरुको संरक्षणसँगै प्रचारप्रचारको आवश्यकता भएको बताए ।


कर्णाली प्रदेशको पहिचान यहाँका अभौतिक वस्तुहरुमा रहेको छ । उनले भने, ‘नेपाली भाषाको उत्पत्ति भएको क्षेत्र जुम्लाको सिंजा हाम्रो पहिचान हो । १०, ११औँ शताब्दीका नेपाली भाषाका शिलालेखहरु कर्णालीमै भेटिएका छन् । त्यति मात्रै हैन इतिहासमा कुनै दिन खस राज्य भारतको कुमाउ गडवाल लखनउदेखि चीनको तिब्बतसम्म फैलिएको एउटा विशपाल सभ्यताको एउटा महानदी थियो ।’ इतिहासमा कर्णाली एकदमै अघि रहेको कुरा राख्दै गिरीले अहिलेका पुस्ताले यहाँको संस्कृतिको अध्ययन गरेर संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

अहिले नेपाली भाषामा अस्त ब्यस्तता छाएको भन्दै उनले दैलेखी, जुम्ली, अछामी, डोटेली भाषा नभनेर नेपाली भन्नुपर्ने बताए । पछिल्लो समयमा देशको पश्चिमी भागको गरिवीलाई प्रस्तुत गरेर मानिसहरुले आफ्नो वस्तु तथा व्यक्तित्वको विकास गर्ने प्रवृत्ति बढेको भन्दै उनले गरिवी मात्रै नभएर यहाँको सभ्यताको पनि प्रचारप्रचार गनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रध्यापक डाक्टर नन्दबहादुर सिंहले ‘कर्णालीको इतिहास तथा सभ्यता’को विषयमा आफ्ना भनाई राख्दै इतिहासमा कुनै दिन कर्णालीको सकला र दुल्लु देशको पहिलो र दोस्रो विशाल शहरको रुपमा परिचित भएको बताए ।

‘इतिहासका पाना पल्टाउने हो भने कर्णाली सभ्यताको आहाल हो ।’ उनले भने, ‘कुनै समय कर्णालीको शासन महिलाले गर्थे । तर जब ७ सय ४२ मा त्यो खस राज्यको शुरुवातसँगै पृति सत्तात्मक शासनको सुरुवात भयो । योग जस्ता विश्व प्रसिद्ध संस्कृतिहरुको खस राज्यबाट भएको पाइन्छ ।’ १३ सय ९३ मा खस राज्यको अन्त्य भएर बाइसे र चौबिसे राज्यको सुरुवातसँगै कर्णाली समृद्धको मार्गमा अघि नै भएको भन्दै उनले जुम्ला राज्य एकीकरण पछि कर्णालीको व्यापार सुक्दै पिछडिन पुगेको बताए । कुनै समय तिब्बतको सुन सिक्किम दार्जिलिङका सिक्काहरु ल्याएर कर्णालीमा व्यापार हुने स्मरण गर्दे उनले कर्णाली नदी सभ्यताको मुहान हो भन्ने कुरा बिर्सन नहुने बताए ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले ‘ऐतिहासिक सिल्क रोड’को बारेमा आफ्नो भनाई राख्दै कर्णाली सभ्यताको बलियो इतिहास अहिले भेटिने मठ मन्दिर, नेपाली भाषाका पुराना शिलालेखहरु भएको बताए । १०औँ शताब्दी तिर भारतको पश्चिम बंगालका भिक्षुहरु कर्णालीको बाटो हुँदै तिब्बत गएको इतिहास छ । खस राज्यको व्यापार अहिलेको भारत तथा चिनका विभिन्न राज्यहरुसँग भएको इतिहास छ ।’ उनले भने, ‘त्यो समय कर्णाली समृद्ध थियो । अहिले पछि परेको छ । अहिले पनि सबै क्षेत्र सक्रिय रुपमा लागेको अवस्थामा फेरि कर्णालीलाई पहिलेको जस्तै समृद्ध बनाउन सकिन्छ ।’

‘इतिहास अध्ययन गर्ने थलो एमयूलाई बनाउँ’

कर्णााली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको इतिहास अध्ययन गर्ने थलोको रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई विकास गर्नुपर्ने बताएका छन् । कर्णालीको इतिहास बुझ्न विश्वविद्यालय मात्रै उपयुक्त शैक्षिक संस्था हुने भन्दै उनले त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । कर्णालीको भाषा संस्कृति संरक्षण गर्ने जिम्मा हाम्रो हो । उनले भने, ‘कर्णाली नदी सभ्यताको प्रमुख विन्दु हो । हिजोको सिल्करोड आजको कर्णाली करिडोर हो । त्यसैले संस्थागत रुपमा सबै मिलेर कर्णाली केन्द्रित बहस गरेर अघि बढ्नुपर्छ ।’ प्रदेश सरकारले कर्णालीको सभ्यतालाई संरक्षण गर्नका लागि कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको भन्दै उनले त्यसको अगुवाई विश्विद्यालयले नै गर्ने बताए ।

कर्णाली जति पिछडिए पनि अरुले शासन गरे पनि यहाँको स्रोत, सभ्यता कसैले पनि लिन नसकेको भन्दै उनले कर्णाली बेस बलियो भएकाले त्यसमा टेकेर विकास र समृद्धिको मार्गलाई अघि बढाउनुपर्ने बताए । रुपान्तरण नेपालको आयोजनामा सञ्चालन भएको बहस कार्यक्रममा नवनियुक्त उपकुलपति प्राडा सिंहसहित विभिन्न संस्थाका व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा दैनिक उपभोग्य सामान महंगियो

३ चैत्र २०७६, सोमबार १५:०९
कर्णालीपत्र हुम्ला, लगातारको हिमपातपछि कर्णालीमा दैनिक उपभोग्य सामानको मूल्य महंगिएको छ । मुगुको गमगढीबाट आउने सामान पटक पटकको हिमपातको कारण चंखेली हिमालबाट आउन बन्द भएपछि नेपालगंज र सुर्खेतबाट महंङ्गो हवाई ढुवानी भएर सामान आउन थालेपछि दैनिक उपभोग्य सामानको मुल्य वृद्धि भएको हो । सिमकोट गाउँपालिका वडा नम्बर ५ काठेचुलीकी बाँचु रावतले यस […]