Trending

उपकुलपतिका चुनौती

मध्य पश्चिम विश्व विद्यालयका नव नियुक्त उपकुलपति प्राडा नन्दबहादुर सिंहले बिहीबार पदभार ग्रहण गरेका छन् । विश्व विद्यालयमा उपकुलपतिको लामो रिक्तताको अवस्थाको अन्त्य भएको छ । चार महिना लामो रिक्ततापछि गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहलाई उपकुलपतिमा नियुक्त गरेका थिए । पछिल्लो समय उपकुलपतिको अभावमा विश्व विद्यालयका अधिकांश कामहरु अलपत्र अवस्थामा थिए भने प्राध्यापक तथा कर्मचारीले तलब भत्तासमेत रोकिएको थियो । उपकुलपतिको नियुक्तिसंगै अव नियमित कामहरु संचालन हुने तथा विश्व विद्यालयले अपेक्षित गति लिने अपेक्षा गरिएको छ । तर नवनियुक्त उपकुलपतिका लागि चारवर्षे कार्यकाल त्यति सहज भने छैन । यस क्षेत्रका जनताको संघर्षबाट स्थापना भएको मध्य पश्चिम विश्व विद्यालय स्थापनासँगै पदाधिकारीबीचको विवादले विवादित बन्यो । विश्व विद्यालयका संस्थापक उपकुलपति पदमलाल देबकोटालगायतका पदाधिकारीमाथि अनियमितताको आरोपमा अदालतमा मुद्धा दायर भयो । कतिपय पदाधिकारीले सफाई पाए भने केहीलाई दण्ड र सजायको फैसला सुनाईएको छ । दोस्रो कार्यकालका लागी नियुक्त उपकुलपति उपेन्द्रकुमार कोइरालाको कार्यकाल पनि सहज रहेन । प्रारम्भमा रजिष्टार महेन्द्रकुमार मल्लसँग टिम स्पीड मिलेपनि कार्यकालको अन्त्यतिर द्धन्द्धको सृजना भयो । फलतः रजिष्टार मल्ल छानबिनको लागी निलम्बनमा परे । विश्व विद्यालयले विद्यार्थी तथा प्रध्यापकको आन्दोलनका कारण पटक पटक लामोसमय सम्म तालाबन्दीको सामाना गर्नुपर्ने अवस्था आयो ।
मध्य पश्चिम विश्व विद्यालयमा विगतमा भएका विभिन्न अप्ठेरो अवस्थाबाट पार लगाएर विश्वास योग्य वातावरणमा संचालन गनुर्् नव नियुक्त उपकुलपतिको प्रमुख चुनौती हो । विगतका विभिन्न घटना तथा परिघटनाले विश्व विद्यालयको छवि राम्रो छैन । विश्वविद्यालयको भौतिक पूर्वाधार अपुरो छ । दक्ष जनशक्तिको अभाव छ । संचालन भैरहेका कतिपय विषयमा विद्यार्थीको आकर्षण त्यति धेरै देखिदैन । राजनीतिको छहारीमा हुर्किएको अराजकता र अमर्यादाबाट विश्व विद्यालयमा विगतमा अमर्यादित कामहरु पटक पटक भएका छन ।
दोश्रो कार्यकालको लागी नियुक्त भएका उपकुलपति कोइरालाले विश्व विद्यालयलाई संस्थागत गर्न मेहनत गरेपनि उनी विवादबाट मुक्त हुन सकेनन् । विगतको अनुभवले के देखाएको छ भने उपकुलपतिले आफ्नो अनुकूल टिम नपाउँदा विश्वविद्यालय धराशायी भएको छ । प्रशासनिक अनुभव नभएको वा संगठनको नेता भएका आधारमा कोरा मान्छेलाई पदाधिकारी नियुक्ति गर्दा विश्वविद्यालय बिलखबन्दमा परेको र तलसम्म काम हुन नसकेको अनुभव विगतले देखाइसकेको छ । राजनीतिक वैचारिक संगठनका नेताहरू भएकै आधारमा गरिएको नियुक्तिको कार्यकालमा विश्वविद्यालयको प्राज्ञिक दक्षतामा आएको ह्रास विश्वविद्यालयका लागि अपूरणीय क्षतिका रूपमा खडा भइसकेको छ ।
नव नियुक्त उपकुलपति सिंह आफै पनि मध्यपश्चिम विश्व विद्यालय स्थापनाका एक जना अभियान्ता हुन । सिंहले यो विश्व विद्यालय स्थापनामा सक्रियताका साथ काम गरेका थिए । स्थापनामा आफै संलग्न भएको विश्व विद्यालयको नेतृत्व पाउनु सिंहको लागी सुखद पनि हो । पदभार ग्रहण समारोहमा गरेका विचारबाट पनि विश्व विद्यालयको लागी केही गरौ भन्ने भाव भल्किन्छ ।
विगतका उपकुलपतिलाई आफनो स्वार्थमा घेरेर अनुकूलतामा हिँडाउन अनेकन शक्ति डटेर लागेका थिए । कतिपय गलत तत्वको कारण पनि विगतका उपकुलपतिहरु विवादमा तानिए । प्राज्ञिकता भन्दा अनशन बसेर र जुस खाएर स्थायी जागिरे हुने प्रवृत्ति विश्वविद्यालयमा जीवितै छ । यस्तो प्रवृत्ति अन्त्यका लागि अब हुने नयाँ नेतृत्वले स्पष्ट अडान राख्न सकेन भने विश्व विद्यालय फेरि पनि असक्षमको अखडा बन्ने निश्चित छ ।
यी सबैको सामना गर्ने नेतृत्व विश्वविद्यालयले खोजेको छ । विश्वविद्यालय बनाउन दरिलो आँट बनाएर आउनुपर्छ । त्यसका चुनौती कम छैनन् । नव नियुक्त उपकुलपति सिंहले ति सबै चुनौतीको पार गर्दे आफनो कार्यकालमा नमूना विश्व विद्यालय बनाउन सकुन हाम्रो शुभकामना ।


error: Content is protected !!