प्रअको संलग्नतामा विद्यालयको रकम हिनामिना

कर्णालीपत्र संवाददाता २९ फाल्गुन २०७६, बिहीबार १३:२७

वसन्त भण्डारी, दैलेखको ठाटिकाँध गाउँपालिका ३ बाहाकोटमा रहेको भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिराम तिमिल्सिना विद्यालयको रकम हिनामिनामा संलग्न भएको पाइएको छ । शौचालय निर्माण र शैक्षिक सामग्री खरिदमा प्रधानाध्यापक तिमिल्सिनासहित संलग्न भएको पाइएको हो ।

शिक्षा विकास समन्वय इकाई दैलेखबाट आर्थिक वर्ष २०७४÷०७५ मा शौचालय निर्माणका लागि गएको ६ लाख रुपैयाँ हिनामिना भएको भन्दै छानबिन गर्न विद्यालयका शिक्षक मनोज गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । लेखापाल मदनबहादुर शाहीसमेतको मिलेमतोमा प्रधानाध्यापक तिमिल्सिनाले ५ लाख ३२ हजार १ सय ५१ रुपैयाँ हिनामिना गरेको विद्यालय व्यवस्थापन समितिलाई समितिले प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा गत असार मसान्तभित्र हिनामिना भएको रकम विद्यालयको खातामा जम्मा गर्न लगाउने व्यवस्थापन समितिले निर्णय गरेको थियो । निर्णय अनुसार प्रअ तिमिल्सिनाले ४ लाख ४५ हजार १ सय ८१ रुपैयाँ विद्यालयको खातामा जम्मा गर्नुपर्ने थियो । प्रधानाध्यापक तिमिल्सिनाले रकम हिनामिना भएको स्वीकार गरी निर्णय पुस्तिकामा आफै माइन्युट गरेका थिए  तर, माइन्युट भएको आठ महिना बितिसक्दा पनि विद्यालयको खातामा रकम जम्मा भएको छैन ।

हिनामिनाको रकम मध्ये लेखापाल शाहीले आफ्नो भागको ८६ हजार ९ सय ७० रुपैयाँ विद्यालयको खातामा जम्मा गरिसकेका छन् । छानबिन समितिका संयोजक मनोज गौतमले मापदण्ड विपरीत शौचालय निर्माणमा फर्जी बिल बनाएको,काम गर्नेको हाजिरी बढाएको लगायतमा हिनामिना भएको पाइएको बताए । संयोजक गौतमले हिनामिना भएको रकम प्रअ तिमिल्सिना र लेखापाल शाहीबाट असुल गर्नुपर्ने देखिएकाले व्यवस्थापन समितिको बैठकबाट सो निर्णय भएको बताए । समितिले छानबिनको क्रममा हिनामिना भएको रकम प्रअ र लेखापालबाट असुल गर्न सिफारिस गरेकोे र सोही बमोजिमको रकम अघिल्लो असार मसान्तभित्र बैक दाखिला गर्नुपर्ने भए पनि हालसम्म नभएको संयोजक गौतमको भनाई छ ।

छानबिनको क्रममा लेखापाल शाहीले विद्यार्थीबाट उठाएको शुल्कसमेत आफैले बैकमा जम्मा नगरेको, आव २०७४÷०७५ देखि यताको खर्च विवरण, अन्य सामग्रीहरु विद्यालय व्यवस्थापन समितिको बैठक बिना नै खरिद गरी रकम हिनामिना गरेको पाइएको समितिले जनाएको छ । निर्माण गरेको शौचालय आधा भत्किसकेको, लागत स्टमेट अनुसार निर्माणमा प्रयोग गरिने सामग्रीहरु प्रयोग नगरिएको र हाल शौचालय प्रयोग बिहिन भएको छानबिन समितिले जनाएको छ ।

आफैले गरेको निर्णय मानेनन्

छानबिन समितिले दिएको प्रतिवेदनको निष्कर्षलाई प्रअ तिमिल्सेनाले आफैले स्वीकार गरेर माइन्युट गरे पनि पछि सो निर्णय नमानेपछि ०७६ पुसमा विद्यालय अभिभावक संघका अध्यक्ष भीमबहादुर दसौदीको संयोजकत्वमा ५ सदस्यीय सामाजिक परिक्षण समिति गठन गरिएको थियो । हाल उक्त समिति अपलत्र अवस्थामा छ । हाल उक्त समितिले प्रअसँग मिलेर हिसाब मिलाउन खोजिएको समितिका एक सदस्यको आरोप छ । अहिले समिति अलपत्र अवस्थामा छ । उनले भने, ‘हालसम्म कुनै बैठक नै बसेको छैन । समितिका पदाधिकारीहरु नै प्रअसँग मिलेका छन् । अन्य स्रोतबाट मिलाउन खोजिएको छ ।’

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाँटिकाँध गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर शाहीले पहिलो विद्यालय व्यवस्थापन समितिको निर्णय प्रअले नमान्दा अर्को समिति गठन भएको र त्यो समितिले निष्कर्ष अनुसार प्रअले अनिबार्य तिनुपर्ने बताए । पैसा त जसरी भए पनि तिर्नुपर्छ । उनले भने, ‘अबको समितिले यथार्थ विवरण निकाल्छ । त्यसपछि पनि नतिरी सुखै छैन ।’ यता विद्यालयका प्रधानाध्यापक भक्तिराम तिमिल्सिनाले सामाजिक परीक्षण समितिको निष्कर्ष आधिकारिक हुने भएकाले त्यो निर्णय पर्खेर बसेको र त्यो निर्णय आए पनि पैसा तिर्ने बताए । ‘मैले ५५ हजार रुपैयाँ जम्मा गरिसकेको छु ।’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिको निर्णय हुँदा मैले दबाबले पनि मान्नैपर्ने भयो । राम्रोसँग बुझ्न नै पाएनँ । त्यसैले त्यति बेला राजी भएँ ।’

विद्यालयमा आएको शौचालय निर्माणका लागि आएको बजेट सबै मापदण्ड अनुसार साढे पाँच लाख आफुले निकालेको र बाँकी विद्यालयको खातामा जम्मा गरेको उनको भनाई छ । ‘शौचालय निर्माण गर्दा वर्षात्को समय थियो । व्यवस्थापन समितिका अध्यक्षहरुको व्यस्तताका कारणले समितिको बैठकबिना नै सामान किनेर शौचालय निर्माणको कार्य गरेको हुँ ।’ उनले भने, ‘समितिका अध्यक्षहरुले कसैले वास्ता नै गर्नुभएन ।’ यसैबीच विद्यालयमा आव २०७४÷०७५ यताको आम्दानी र खर्चको लेखापरीक्षण गरिएको छैन । प्रत्येक वर्षको विवरण भदौमा लेखापरीक्षण हुनुपर्ने भए पनि हालसम्म नभएको पाइएको हो । लामो समयसम्म लेखा परीक्षण नहुँदा शिक्षकले पाउनुपर्ने तलव पाएका छैनन् । विद्यालयले २०६८÷०६९ देखि ०७४ सम्मको १ लाख ३९ हजार बेरुजु हालसम्म पनि फच्र्छौट गरको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाठ्यपुस्तक नपुगेपछि अदालतमा रिट

२९ फाल्गुन २०७६, बिहीबार १३:२७
जुम्ला, कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्लामा शैक्षित्र सत्र शुरु भएको तेस्रो सातासम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरिएको छ । नेपालको संविधानको धारा ४६÷१४४ (१) (२) बमोजिम परमादेशको आदेश जारी गरी पाऊँ भनी रिट दायर गरिएको छ । साबिकको कर्णाली अञ्चलका जिल्लामा […]

सम्बन्धित शीर्षक