कोरोना त्रासले मानसरोवर आउने ४० प्रतिशत यात्रुको बुकिङ रद्द

कर्णालीपत्र संवाददाता २६ फाल्गुन २०७६, सोमबार १२:१३

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले कर्णाली प्रदेश भएर कैलाश मानसरोवरको भ्रमणमा आउने ४० प्रतिशत धार्मिक पर्यटकहरूले आफ्नो भ्रमण रद्द गराएका छन् ।

अंग्रेजी महिना फेब्रअरीको पहिलो दिनदेखि कैलाश दर्शनका लागि विभिन्न ट्राभल्स ऐजेन्सीहरू मार्फत भ्रमण बुकिङ गरेका धार्मिक पर्यटकमध्ये केहीले आफ्नो भ्रमणको तालिका दोस्रो÷तेस्रो पटक सार्ने र केहिले रद्द गर्ने गरिरहेका छन् । स्रोतका अनुसार भारतमा सामान्यरूपमा देखा परेको कोरोना भाइरसको संक्रमण थप नफैलियोस् भनेर भारतीय सरकारले पछिल्लो समय आफ्ना नागरिकलाई नेपाललगायत अन्य मुलुकमा जानबाट रोक लगाएपछि कैलाश मानसरोवरको निर्धारित भ्रमण रद्द गर्ने वा पर सार्ने गरेका हुन् । पहिलो पटक कोरोना देखा परेको चिनमै कैलाश मानसरोवर पर्ने भएकाले चिनियाँ सरकारले मानसरोवरमा आउने धार्मिक पर्यटकहरूको आवागमनमा समेत कडाई गरेकाले पनि धार्मिक तीर्थालुले आफ्ना भ्रमण तालिका रद्द गरेको नेपाल स्थित भारतीय दुतावास स्रोतले जनाएको छ । भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्ने भारतीय सरकारको निर्णयले पनि यसअघि गरेका बुकिङ रद्द हुने वा पर सार्ने काम भएको छ,’ उक्त स्रोतले भन्यो, ‘कोरोनाको नियन्त्रणमा आएपछि रद्द भएका र भ्रमण स्थगित गरेका तीर्थालुहरू फेरि आउन सक्ने सम्भावना हुनसक्छ ।

अहिलेसम्म मानसरोवर जाने एक जना तीर्थालुले पनि आफ्नो भ्रमणको निश्चित नगरेको टच कैलाश नेपालगञ्जका क्षेत्रीय प्रवन्धक विष्णु रावतले जानकारी दिए । ‘भारतीय तीर्थालुले अंग्रेजी महिनाको फेब्रुअरी एकदेखि कैलाश मानसरोवर भ्रमणको अग्रिम बुकिङ गरेर मार्चको पहिलो साता ट्राभल्स ऐजेन्सीहरूलाई पेस्की रकम दिने गर्थे,’ उनले भने, ‘तर अहिलेसम्म पेस्कि रकम दिने भन्दा एकजना तीर्थालुले पनि आफ्नो भ्रमण कहिले गर्ने भनेर टुंगो लगाएका छैनन् ।’

यसअघिका वर्ष झैं मे महिनाको ५ तारिखदेखि मानसरोवरको भ्रमण शुरू गर्ने गरी फेब्रुअरीमा टिकट बुकिङ गरेका भारतीय तीर्थालुले कोरोनाको त्रासले पहिलो पटक आफ्नो भ्रमण तालिका जुनमा सारेका थिए । रावतका अनुुसार मार्चमा आएर भ्रमणको बुकिङ गराएका ४० प्रतिशत तिर्थालुले आफ्नो बुकिङ रद्द गराएका छन् भने ३० प्रतिशतले आफ्नो बुकिङ जुलाइसम्मका लागि सारेका छन् ।

विश्वभर फैलिएको कोभिड–१९ भाइरसको त्रास भएका कारणले पनि नेपालगञ्जबाट हुम्ला हुँदै मानसरोवर कैलाश जाने तीर्थ यात्री नआएको हुनसक्ने नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए । कैलाश मानसरोवर जाने यात्रु यो मौसममा एक जना पनि आएका छैनन् र यसको मौसम शुरू हुँदापनि ट्राभल्स एजेन्सीहरूका प्रतिनिधिले खासै सक्रियता देखाएका छैनन्,’ उनले भने, ‘कोभिड–१९ भाइरसको प्रभावले यस्तो भएको हुनसक्छ ।’ कैलाश मानसरोवर र कर्णालीका अन्य विभिन्न क्षेत्रमा जाने यात्रुहरूमा आन्तरिक यात्रु मात्र रहेको उल्लेख गरेका ठाकुरले बाह्य देशका नागरिकको संख्या एक जना पनि नभएको जानकारी दिए । मानसरोवर, रारा, से–फुक्सुण्डोलगायतका कर्णालीका पर्यटकीय क्षेत्रमा जाने विदेशी नागरिकहरूको भिड लागेर विमान कम्पनी र ट्राभल्स ऐजेन्सीलाई नेपालगञ्ज विमानस्थलमा हानथाप नै हुन्थ्यो,’ उनले थपे, ‘तर यो वर्ष कर्णालीको यात्रामा जाने एक जना विदेशी देख्न पाइएको छैन ।’

गत आर्थिक वर्ष नेपालगञ्ज विमानस्थल हुँदै १० हजार भारतीय तीर्थालुहरूले हुम्ला हुँदैं कैलाश मानसरोवरको यात्रा गरेको उल्लेख गरेका नेपाल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय काठमाडौंका उपनिर्देशक सुरेशप्रसाद खनालले कोरोनाकै प्रभावले चालु आर्थिक वर्ष बाह्य पर्यटकको संख्यामा निकै कमी आउने अनुमान गरे । हरेक देशले आफ्ना नागरिकलाई जथाभावी हिडडुल गर्नमा प्रतिबन्ध गरेको प्रत्यक्ष असर अहिले नेपालको पर्यटकीय क्षेत्रले भोगिरहेको जानकारी दिएका खनालले कर्णालीपत्रसँग भने, ‘कोरोना भाइरसको समस्या समाधान नभएसम्म हाम्रोमा आउने पर्यटकको संख्यामा वृद्धि हुन सक्दैन ।’

स्थानीयलाई टिकटमा सहज

कोरोना भाइरसको त्रासले कर्णाली प्रदेशका हिमाली जिल्लामा जाने विदेशी पर्यटकको संख्या नभएपछि स्थानीय यात्रुहरूले हवाइजहाजको टिकटमा सहज भएको बताएका छन् ।

विगतमा मानसरोवर कैलाश जाने तीर्थयात्रीका चापले भनेको समयमा मोटो रकम तिरेर पनि नेपालगञ्ज–सिमकोटको टिकट नपाइने बताएका सिमकोट गाउँपालिका हुम्लाका रामबहादुर शाहीले यो वर्ष सहज रूपमा टिकट पाउने गरेको उल्लेख गरे । ‘कैलास मानसरोवर जाने भारतीय तीर्थालु र अन्य पर्यटक (बाह्य पर्यटक) भएपछि निजी जहाजले हामीलाई आँखै देख्दैन थिए,’ उनले भने, अहिले विदेशी नभएपछि हामीलाई टिकट पाउन निकै सहज भएको छ ।’ विगतका वर्षमा मानसरोवर कैलाश जाने यात्रुको चापले गर्दा नेपालगञ्ज र हुम्लाको सिमिकोटमा निजी हेलिकोप्टर कम्पनीहरूका हेलिकोप्टर तैनाथ अवस्थामा रहने गरेको बताएका शाहीका अनुसार यो वर्ष अहिलेसम्म कुनै पनि हेलिकोप्टर नेपालगञ्ज विमानस्थलमा आएका छैनन् ।

भ्रमण वर्ष स्थगित

सरकारले कोरोना भाइरस विश्वभरी फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो । स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ । ‘चीनको वुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भएको छ ।’ यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

‘हामी पर्ख र हेरको अवस्थामा छौं’

                             नन्दसिंह बुढा
                 मन्त्री, उद्योग, पर्यटन, वन
तथा वातावरण मन्त्रालय
कर्णाली प्रदेश

कोरोना भाइरसले अहिले विश्वले नै केही अन्दाज गर्न नसक्ने अवस्थामा पुगेको छ । भने हामीले यसै होला भन्न सक्ने अवस्था पनि रहेको छैन । भाइरसको त्रासले अहिले विश्व पर्यटन क्षेत्रमा नै ठूलो मन्दि आएको छ । त्यसैको प्रभाव हाम्रो कर्णाली प्रदेश हुँदै कैलाश मानसरोवर जाने भारत र अन्य तेस्रो देशका यात्रुहरूको संख्यामा केही कमी आएको देखिन्छ । यो सबै कुरामा प्रदेश सरकारले नजिकबाट नियालेर हेरेको छ । तर पनि तत्कालै गर्न सकिने अवस्था केही छैन । त्यसैले अहिले हामी कोरोनाको प्रभाव र यसको नियन्त्रणमा विश्व समुदायले प्राप्त गर्ने सफलताकै बारेमा पर्ख र हेरको अवस्थामा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ख्याल गराौं, होली खेले कारबाहीमा परिएला !

२६ फाल्गुन २०७६, सोमबार १२:१३
विश्वभरी महामारीको रूपमा फैलिएको कोराना भाइरसको संङक्रमणलाई ध्यानमा राखेको उच्च सतर्कता अपनाउन सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अनुरोध गरेका छन् । ‘हामीले होलीमा भिडभाड नगर्न, एकै ठाउँमा जम्मा नहुन आग्रह गरेका छौँ ।’ उनले भने, ‘हामीले यस अघिदेखि नै विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रचारलाई तीव्रता पनि दिएका छौँ ।’