कर्णालीमा महिलाको मोलमोलाई गर्ने ‘जारीप्रथा’ कायमै

कर्णालीपत्र संवाददाता २४ फाल्गुन २०७६, शनिबार १०:२५

सागर परियार
जुम्ला । तातोपानी गाउँपालिका–२ की मनपुरा कामी (नाम परिवर्तित) ले १४ वर्षको उमेरमा तातोपानी–६ हियाखोला गाउँमा बिहे गरिन् । सानै उम्मेरमा विवाह गरेकाले घरमा श्रीमान् श्रीमतीबीच सानोे कुरामा पनि दैनिकजसो विवाद हुन्थ्यो । विवाद बढ्दै गएपछि अन्ततः उनले तातोपानी–२ का मुन कामी (नाम परिवर्तित) सँग विवाह गरिन् । त्यस वापत मुनले मनपुराका पहिलो श्रीमान्लाई ‘जारी’ वापत ३५ हजार रूपैयाँ तिरेर सहमति गरे ।

तातोपानी–२ जुम्लाकै मुस्कान (नाम परिवर्तित)ले ३ वर्ष अघि पहिलो विवाह गरी सकेकी रूपमती दमाई (नाम परिवर्तित)लाई विवाह गरे । उतिबेला बावुआमाको करले बालविवाह भएकैले रूपमतीले केही समयपछि जीवन साथिका रुपमा मुस्कानलाई रोजिन । तर, कर्णालीको समाजमा चलिआएको महिला किनबेच गर्ने ‘जारी प्रथा’ले मन पराएरै विवाह गर्दा पनि पहिलो श्रीमानलाई ५० हजार नगद तिरेर उनी मुस्कानको घरमा भित्रिन ।

त्यस्तै, तातोपानी–२ कै कैलास दमाईकी पहिलो श्रीमती आशा दमाई (नाम परिवर्तित)ले एक वर्षमै अर्कैसँग विवाह गरिन् । पहिलो बिवाह गरेको केही समयदेखि विवाद बढ्दै गएपछि आशा माइत गएर बसिन । उनले केही वर्षमै सिंजाको अर्कैसँग विवाह गरिन । शुरूमा कुनै वास्ता नगरेका कैलासले आशाले दोस्रो विवाह गरेको दुई दिनमै दलबल लिएर सिंजा पुगे । अन्ततः दुवै पक्षको लामो छलफल पछि कैलासले आशालाई विवाह गरेको भन्दै २५ हजर रकममा त्यागेर घर फर्किए ।

मनपुरा, रूपमती र आशा त पुरूषको मोलमोलाइमा बेचिने कर्णालीका प्रतिनिधि पात्र मात्रै हुन् । कानून, नियमका रूपमा धेरै परिवर्तन आएपनि अँझै दुर्गमका गाउँहरूमा यसरी कयौं महिलाहरू मोलमोलाई गरेर बेचिने गरेका छन् । बालविवाह गराउने, मन नमिलनेपछि छुट्टिनु स्वभाविक हो, तर कर्णालीका समाजमा पहिलो विवाहको क्षतिपुर्ति स्वरूप महिलाको किनबेच गर्ने चलन अस्वभाविक भएपनि अहिलेसम्म चल्दै आएको छ । नेपाल सरकारले कर्णाली र सूदुरपश्चिम प्रदेशका जिल्लाहरूमा कायम छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ हटाउने अभियान सञ्चालन गरिरहेका बेला आफूमाथि सामाजिक प्रचलनका रूपमा रहेको ‘जारी’ प्रथाका बारेमा जुम्लाका महिलाले खुलेर विरोध गरेका छन् ।

महिलाले आफूखुशी गरेको विवाहमा समेत मोटो रकम मोलमोलाई गरेका घटना सार्वजनिक गर्दै स्थानीय महिलाले शुक्रबार पातारासी गाउँपालिकामा आयोजना गरिएको एक कार्यक्रममा यसको चर्को विरोध गरेका हुन् । ‘पहिलो श्रीमान् छोडेर अर्को विवाह गरेमा गरगहना लिनु ठिकै हो ।’ स्थानीय मायादेवि बोहोराले भनिन, ‘तर सिधै मूल्य तोक्ने । यति राख्नुपर्छ भन्ने चलनले नैं कर्णालीका हामी महिलाको अहिले पनि खुलेआम किनबेच भैरहेको ज्वलन्त उदारहण हो ।’

हरेक गाउँमा यो चलन अहिले पनि कायमै रहेको बताएकी उनले प्रेम गरेरै भएपनि कुनै पुरूषले पहिलो विवाह गरेकी महिलालाई फेरी विवाह गरेमा तिमीलाई पैसा तिरेर ल्याएको हुँ, धेरै धाक नदेखाउ, म जे भन्छु त्यही गर भन्दा महिला ठूलो मानसिक तथा शारीरिक हिंसा सहन बाध्य हुनु परेको खुलासा उनले गरिन् ।

बालविवाह मुख्य कारण

कर्णालीमा विद्यमान ‘जारी प्रथा’ को मुख्य कारण बालविवाह देखिएको छ । विभिन्न समस्या र परिबन्धमा पारेर घरपरिवार, साथी संगति र आफैले सानै उमेरमा विवाह गर्ने, पछि मन नमिल्दा छुट्टिने गर्नाले पनि ‘जारी प्रथा’ कायम रहेको तातोपानी गाउँपालिका–३ का ८५ वर्षिय लालविरे दमाईले बताए ।

‘सानैमा दहीको ठेकी, पुरी (चिउला)को डालो लिएर छोरी माग्ने चलन हाम्रोमा पहिलेदेखि नैं चल्दै आएको हो,’ उनले भने, ‘गर्भमा छोरी भए बुहारी, छोरा भए ज्वाइ बनाउने चलनले दिएका छोरीलाई मन नपर्दा पछि दुवैले दोस्रो विवाह गर्नुपर्ने बाध्यतालाई रोक्न ‘जारी’ दिने/लिने चलन बस्यो ।’ सानैमा विवाह गर्ने पछि उक्त विवाह सफल नहुँदा रकम लेनदेन गर्ने चलन ‘जारी प्रथा’का रूपमा विकास भएको बताएका उनले यो प्रथा राम्रो नभएको तर्क गरे ।

समयको विकाससँगै समाजमा आएको ठूलो परिवर्तन आएपनि कर्णालीको अवस्था उस्तै छ । सरकारी तथ्याङ्क अनुसार कर्णालीमा ५२ प्रतिशत र जुम्लामा ६७ प्रतिशत बालविवाह हुने गरेको छ । बालविवाह र जारी प्रथाको अन्तर सम्बन्ध रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् । ‘पढे लेखेको, चेतना भएको समाजमा बालविवाह छैन,’ उनले भनिन्, ‘त्यहाँ महिलाको मोलमोलाई पनि छैन्, यदि पारिवारिक असहमति भए मन्जुरीमै सम्बन्ध विच्छेद हुन्छन् ।’

गाउँका दुरदराजमा अहिले पनि महिलाको मोलमोलाई हुने जोखिम उस्तै रहेको गाउँका महिला स्वयम्ले बताउने गरेका छन् । ‘गाउँको पुरातनवादी सोचाईलाई कानूनले पनि छुन नसक्दा यस्तो भएको हो,’ आफ्नो कथा सुनाउँदै तातोपानी गाउँपालिका–३ की एक महिलाले भनिन्, ‘सानैमा विवाह भयो । लामो समयसम्म छोरा जन्मीएन, पछि सासुससुरा र श्रीमानले समेत कि छोरा चाहियो, होइन भने अर्कै विवाह गरेर घरबाट निक्लीहाल भनेर यातना दिए ।’

आफ्नो सुरक्षाका कारण नाम उल्लेख नगर्न आग्रह गरेकी ती महिलाले भनिन्, ‘लामो समयसम्म दिएको तनावले मैले विवाह गरेर गएको दोस्रो घरमा पहिलो श्रीमानले ६० हजार रूपैयाँमा मलाई बेच्यो ।’ कर्णालीमा केही महिला सानैमा विवाह गरेर त केही छोरा नपाएको भन्दै ‘जारी प्रथा’ को शिकार हुने गरेको उनको ठहर छ ।

जनचेतनाकै अभाव सरकारी तथ्याङ्क अनुसार अझै कर्णालीका २३ प्रतिशत नागरिक पूर्णरूपमा निरक्षर छन् । अहिले पनि जारी प्रथा अन्त्य नहुनु भनेकै पहिलो चेतनाको अभाव, दोस्रो सामाजिक कुरीति नै हो । कसैले आफ्नी श्रीमतीले दोस्रो बिहे गरेर गए सहमति हो, ‘जारी’ ल्याउदिन भन्दा कस्तो नामर्द रैछ भनेर होच्याउने गर्दा पनि उसले बाध्य भएर ‘जारी’ ल्याउने गरेको बताइएको छ ।

महिला तथा बालबालिका केन्द्र जुम्लाको आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्क अनुसार घरेलु हिंसाका ८६ वटा उजुरी दर्ता भए । त्यसमा ६६ वटा घटनालाई मिलापत्र गरिएको र १३ वटा घटनालाई मिलापत्र हुन बाँकी रहेका छन् । हिंसामा पर्ने अधिंकाश जारी तिरेर आएका महिला रहेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी जवान जानकी सुनारले जानकारी दिइन । उनका अनुसार चालु आर्थिक वर्षमा २४ घरेलु हिंसामध्ये १३ वटा मिलापत्र भएका छन्, भने पाँच वटा अदालतमा पठाइएको छ । ६ वटा उजुरीमाथि छलफल नै भएको छैन । केन्द्रले दिएको जानकारी अनुसार सामाजिक हिंसा तर्फ २८ वटा उजुरी मध्ये २१ वटा मिलापत्र भएको र ३ वटा अदालतमा गएका छन् ।

शिक्षाकै अभावले ग्रामिण समुदायमा यस्ता खालका कुरीति कायमै रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपपरिक्षक लालबहादुर धामीले बताए । ‘जिल्लामा महाअभियान अन्तरर्गत छुईप्रथा, बालविवाह, जारी प्रथा उन्मुलनलाई जोड दिएका छौं,’ उनले भने ।

कस्तो छ कानुनी व्यवस्था ?
विभिन्नखाले हिंसामा परेका महिलालाई न्यायको पहुँचमा ल्याउन नेपाल सरकारले थुप्रै प्रकारका कानून महिला लक्षित गरेर ल्याएको छ ।

नेपालको मुलुकी ऐन २०७४ ले जारी प्रथा, बहुविवाह, बालविवाह, महिनावारीका नाममा महिलालाई यातना दिन नपाईने व्यवस्था गरेको छ । बालविवाह, बहुविवाह गरेमा स्वतः बदर हुने कुरा कानूनमा उल्लेख छ ।

छ महिना कैद र ३० हजार रूपैया जरिवानाको व्यवस्था भएपनि चेतना अभावले कानून कार्यान्वयन हुन सकेको छैन् । ‘घरमा श्रीमती हुँदाहुदै दोस्रो विवाह गर्नेलाई स्वतः कारबाही हुन्छ । प्रमुख जिल्ला अधिकारी बन्जाडले भनिन्, ‘बालविवाहकै कारण पछिल्लो समय जारी प्रथाले प्रसय पाएको हो ।’ आजभोलि पनि गाउँमा ‘जारी प्रथा’ लुकेरै भैरहेको उल्लेख गरेकी बन्जाडेले कसैले जानकारी दिए यसमा संलग्न सबैलाई प्रशासनले हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संस्कृति जोगाउन सिस्नो पानी

२४ फाल्गुन २०७६, शनिबार १०:२५
कर्णाली प्रदेशको पश्चिम रुकुमको साखँ गाउँमा विवाहमा जन्तीहरुलाई सिस्नो पानी लगाएर स्वागत र विदाई गर्दछन् । यस्तो अनौठा सस्कृतिको बारेमा अध्यन गर्न आजभोलि गाउँमा पर्यटकहरु पुग्ने गरेका छन् । मुसीकोट नगरपालिका–७ साँखका स्थानीय बासिन्दाको यो शताब्दीयौंको परपरागत सस्कृति हो ।