बिजनेस नहुँदा कर्णाली प्रदेशसभा अनियमित

कर्णालीपत्र संवाददाता २२ फाल्गुन २०७६, बिहीबार ०६:३९

वसन्त भण्डारी
सुर्खेत ।  प्रदेश सभा सञ्चालन गर्न आवश्यक बिजनेस नहुँदा कर्णाली प्रदेशसभाको बैठक नियमित रुपमा सञ्चालन हुन नसकेको हो । गएको माघ २४ गतेबाट शुरु भएको प्रदेशभाको पाँचौ अधिवेशन एक महिनामा पाँच वटा बैठक मात्रै बसेर स्थगित हुँदै आएको छ । औपचारिक रुपमा बैठक शुरु भएर फागुन ३ गतेका लागि स्थगित भएको संसद १५ दिनपछि आइतबार बसेको थियो ।
त्यसपछि सोमबार र मंगलबार लगातार शुन्य समयमा चलेको बैठक अन्य विषय नपाएपछि फेरि स्थगित भएको छ । संसद सञ्चालन गर्न खासै बिजनेस छैन सचिवालयका एक कर्मचारीले भने, प्रदेश सरकारले संसदबाट निर्माण हुने कानूनका मस्यौदा बनाएर विधेयकका रुपमा दर्ता नगराएकाले पनि नियमित रुपमा संसद चल्न नसकेको हो ।

विधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनको पाँचौ बैठकका लागि हालसम्म प्रदेश सभामा दर्ता भएका ४ वटा विधेयक मध्ये ‘कर्णाली प्रदेशको वातावरण संरक्षण गर्न बनेको विधेयक, २०७६ र ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७६’ सैद्धान्तिक छलफल सकेर संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय सीमा शुरु भएपछि संसद स्थगित भएको प्रदेश सभाका सभामुख राजबहादुर शाहीले जानकारी दिए । ‘संसदमा दर्ता भएका दुईवटै विधेयकमाथि संसोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टा समय शुरु भएपछि छलफलको कुनै विषय नै भएन’, उनले भने, ‘संसद स्थगित भएपछि मंगलबार बसेको बैठकमा सरकारबाट संसदमा दर्ता गरेका ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७६’ र कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ टेबुल भएपछि सैद्धान्तिक छलफल नै शुरु भएको छैन ।’

विषयगत समितिमा गएका विधेयकहरु छलफल तीब्र रुपमा भइरहेकाले एक दुई दिनमा नै सभामा आउने जिकिर गरेका सभामुख शाहीले विषयगत समितिले छलफलका क्रममा रहेका विधेयक पनि टुङ्ग्याउने क्रममा रहेको जिकिर गरे ।

संसद बैठक शुरुको थोरै समय चल्ने धेरै समय स्थगित हुने गरेकोप्रति प्रदेशसभा सदस्यले आलोचना गरेका छन् । ‘संसद सञ्चालनसम्बन्धी प्रचलित मान्यता अनुसार गर्नुपर्ने तयारी न सरकारले गरेको देखिन्छ न त संसद सचिवालयले नै गरेको देखियो’, प्रदेशसभा सदस्य ठम्मर बिष्टले भने, ‘जनताका विभिन्न समस्याका बारेमा बहस गर्ने थलो संसद जति चल्यो त्यति राम्रो हुने हो । तर, कर्णालीमा पछिल्लो समय सरकारले क्याबिनेटबाट निर्णय गर्ने र आवश्यक परेको अवस्थामा मात्रै संसदमा विधेयक, बिल दर्ता गर्ने स्वेच्छाचारिताले पनि संसद बैठक अनियमित हुँदै गएका हुन् ।’ संसद बैठक सञ्चालन भइसकेपछि केही समय नियमित गरेर केही कानून पारित हुनुपर्ने तर्क उनले गरे ।

हाल प्रदेशसभाको सामाजिक विकास समितिमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चिता गर्न बनेको विधेयक २०७५ र प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्न बनेको विधेयक २०७५ समितिमा छलफलका क्रममा छन् । त्यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा सरकारी र निजी क्षत्रेको साँझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, उपभोक्ता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ समितिमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

२२ फाल्गुन २०७६, बिहीबार ०६:३९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।