कर्णालीमा कोरोना त्रास; सरकारी तयारी सुन्य

कर्णालीपत्र संवाददाता १५ फाल्गुन २०७६, बिहीबार १०:०६

उत्तरी छिमेकी मुलुकबाट शुरु भएको कोरोनाको प्रकोप अन्यत्र देशहरुमा समेत फैलिदैं गएपछि नजिकको कर्णाली प्रदेशका नागरिकमा समेत ठूलो त्रास पैदा भएको छ ।

झण्डै दर्जनबढी स्थानमा प्रत्यक्ष सिमाना जोडिएको प्रदेशका उत्तरी क्षेत्रमा बस्ने नागरिकमा यसको त्रास बढेको हो । चीनसँग सीमा जोडिएका क्षेत्रका नागरिकलाई सहज रुपमा चिनीयाँ क्षेत्रमा आवातजावत हुने तर भाइरसबाट बच्ने सावधानीका बारेमा केही पहल नभएपछि उत्तरी क्षेत्रका नागरिकमा यसको त्रास फैदिएको हो ।

कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्ला तिब्बतसँग जोडिएका क्षेत्रका नागरिकले अधिकांश दैनिक उपभोग्य सामग्रीका लागि चीनको स्वशासित क्षेत्र तिब्बतमै निर्भर हुनु पर्ने बाध्यता छ । तिब्बतसँग हुम्लाको यारी, लिमि, चवाँखोला, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाकाबाट तिब्बत र नेपालका स्थानीय नागरिकबीच सहज आवातजावत हुने गरेको छ ।

अहिले हिउँका कारणले बाहिरबाट जाने नागरिकको आवातजावत बन्द भए पनि गर्मीयाम शुरु भएसँगै दैनिक उपभोग्य सामग्री ल्याउन र अन्य कामका लागि चीनको ताक्लाकोट बजारमै भर पर्नु पर्ने बाध्यताले पनि स्थानीय नागरिकमा कोरोना भाइरसको त्रास निकै बढ्दै गएको चीसँग सिमाना जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङले बताए ।

‘चीनका कोरोना भाइरसले आक्रान्त हुँदा हाम्रा मानिस पनि त्रसित भएका छन् ।’ उनले भने, ‘निकै टाढाका देशका नागरिकलाई कोरोनाबट बचाउने उपायका बारेमा सरकारले विभिन्न प्रकारका सावधानी अपनाएपनि हाम्रो प्रदेश र संघीय सरकारले अहिलसम्म केही गरेको छैन ।’
कोरोना भाइरसका बारेमा जानकारी देखि सिमानामा भएका नागरिकको नियमित स्वास्थ्य परिक्षण समेत गर्नुपर्ने माग गरेका अध्यक्ष तामाङले यसका बारेमा कुनै निकायले ध्यान नदिएकोमा असन्तुष्टी व्यक्त गरे । कोराना भाइरसबाट बच्न अहिलेदेखि नै लाग्नुपर्ने विषयमा आफूले हुम्लाका प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिरहेको उनको भनाई छ । ‘मैले स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिरहेको छु ।’ अध्यक्ष तामाङले भने, ‘सहज सिमाना भएका कारणले नाम्खा गाउँपालिकामा कम्तीमा एउटा स्वास्थ्य डेस्कसहितको प्रहरी चौकी राख्न आग्रह गरेको छु ।’

खुल्ला सिमाना भएका कारणले नाम्खा गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्नलगायतका सामग्री जगेडा राख्न पहल थालिएको अध्यक्ष तामाङले बताए । ‘सरकारले दरबन्दीमा पठाएका स्वास्थ्यकर्मी नैं उत्तरी क्षेत्रमा नगएका बेला कोरोनाको तयारीमा लाग्ने बारे केही गर्ला भन्ने आश त छैन् ।’ उनले भने, ‘प्रदेश सरकारले पनि आवश्यक कदम चाल्नु पर्ने हो तर अहिलेसम्म केही गरेको देखिदैन ।’

सरकारले खासै चासो नदिएको र कोरोनाको त्रास निकै बढेको मुगु जिल्लाको मुगुम कार्मरोंग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । ‘सरकारले खासै चासो दिएको छैन् ।’ उनले भने, ‘यसदी सिमानामा कोरोनाको प्रकोप फैलियो भने हामीले मर्नुभन्दा अरु यसको उपचार गर्ने कुनै अवस्था नैं हुदैन ।’

 प्रचारमै सीमित प्रदेश सरकार

कोरोना भाइरसको प्रकोपबाट बच्ने सावधानीका बारेमा छिमेकी प्रदेश र अन्य देशले विभिन्न उपायहरुको खोजी गरे पनि कर्णाली प्रदेशले भने केही पहल गरेको छैन् । उत्तरी छिमेकी मुलुक चीन र भारतबाट आवत जावतमा सहज भए पनि त्यसबाट आउने नागरिकको स्वास्थ्य अवस्थाका बारेमा बुझ्ने संयन्त्रका बारेमा कुनै पहल प्रदेश सरकारको तर्फबाट हुन सकेको छैन । तर, यसका बारेमा कर्णाली प्रदेश सरकारले नागरिकमा जनचेतना फैलाउने काम गरेको दाबी सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले गरेको छ । ‘कोरोना भाइरसका बारेमा प्रदेशका सबै जिल्लामा प्रदेश सरकारकातर्फबाट सचेतना अभियान चलाइएको महाशाखाका निमित्त प्रमुख मानकुमारी गुरुङ्गले बताइन् । अहिले हिमपातका कारणले नाकामामा आवातजावत बन्द रहेकाले कोरोना नेपालमा तत्काल फैलिने अवस्था नरहेको भनाई उनको छ ।

‘सबै जिल्लामा अहिले हामीले कोरोना भाइरसका विषमा जानकारी दिने काम गरिरहेका छौं ।’ उनले भनिन्, ‘प्रचारप्रसारको काम तीब्र पारेका छौं । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसविरुद्ध एउटा समिति नै बनाएको दावी गरेकी गुरुङ्गले प्रदेशका उत्तरी नाका अहिले हिउँका कारणले बन्द रहेका कारणले यहाँ कोरोना फैलिने डर कम रहेको उल्लेख गरिन् ।’
कोरोेनाका बिरामीलाई दुई बेड सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले कोरोनाका बिरामी फेला परेमा तत्कालका लागि कर्णाली प्रदेश कालागाउँमा दुई बेड छुट्टै राखिएको जनाएको छ ।

८० कामदार चीनमा नै रोकिए

तिब्बतको काउन्ट्री प्रान्तका कामका लागि गएका ८० जना कामदार त्यही रोकिएका छन् । काउन्ट्री प्रान्तीय सरकारले नेपाली कामदारहरुलाई क्वारेन्टाइनमा राखेको छ ।

काउन्ट्री प्रान्तीय सरकारले नेपाली कामदारहरुलाई क्यारेन्टाइन राखेर औषधी उपचार र खानाको व्यवस्था गरिरहेको नाम्खा गाउँपालिकाका अध्यक्ष तामाङ्गले बताए । ‘हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केघाटका कामदार रोजगारीका लागि चीन जाने गर्छन् । बाक्लो हिउँ जमेकाले हिल्सा नाका बन्द छ ।’ उनले भने, ‘अहिले तत्काल उद्दार गर्ने सक्ने अवस्था छैन् । नियमित स्वास्थ्य जाँच पनि चीन सरकारले नै गरिरहेको छ ।’

कर्णालीका हुम्ला डोल्पा, मुगु, रुकुम पश्चिम, जाजरकोटलगायत र सुदूरपश्चिमका दार्चुलालगायत जिल्लाबाट कामदार ताक्लाकोटलगायत चीनका विभिन्न स्थानमा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-11-16)

१५ फाल्गुन २०७६, बिहीबार १०:०६