सामाजिक सुरक्षा कोषमा कर्णालीबाट न्यून रोजगारदाता कम्पनी दर्ता

कर्णालीपत्र संवाददाता १४ फाल्गुन २०७६, बुधबार १०:४७

रमेश रावल
सुर्खेत । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून मात्रामा रोजगारदाता कम्पनीमा दर्ता भएका छन् । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको दुई वर्ष बित्न लाग्दा कर्णालीबाट थोरै मात्र रोजगारदाता कम्पनी दर्ता भएका छन् ।

कर्णाली प्रदेशमा फागुन १२ गतेसम्म एक सय २१ वटा रोजगारदाता कम्पनी दर्ता भएका छन् । त्यसमा योगदान गर्ने श्रमिकको संख्या एक सय ७२ जना रहेका छन् ।

प्रदेशगत अनुसार प्रदेश नं. १ मा एक हजार आठ सय ६०, प्रदेश नं. २ मा चार सय ८७, बागमती प्रदेशमा आठ हजार एक सय ७५, गण्डकी प्रदेशमा पाँच सय ५६ सुदुरपश्चिम प्रदेशमा एक सय ३२ रोजगारदाता कम्पनी तथा संस्थाहरु दर्ता भएका छन् । श्रमिकलाई स्थापित कोषले २०७४ मा पारित ऐन पारित गरेको थियो । ऐनले श्रमिकलाई अवकास हुँदा पेन्सन, उपदान र उपचार सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषको स्थापना गरेको थियो ।

सामाजिक सुरक्षा कोष स्थापना भए यता कर्णाली प्रदेशबाट निकै न्यून रोजगारदाता कम्पनी दर्ता भएको सामाजिक सुरक्षा कोषका सूचना अधिकारी विवेक पन्थीले बताए । ‘रोजगारदाता कम्पनी र योगदान गर्ने कर्मचारीका विषयमा जानकारी दिनुपर्छ ।’ उनले भने, ‘कर्णाली प्रदेशमा उद्योग, कलकारखाना कम भएकाले पनि कमै संस्था सूचीकृत भएका होलान् ।’

सामाजिक सुरक्षा कोषमा दर्ता भएका कम्पनी तथा संस्थाहरुले १ साउन २०७६ पछि नियुक्त हुनेहरू भने अनिवार्य रूपले निवृत्तिभरण योजनामा सहभागी गराउनु पर्ने व्यवस्था रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतका सूचना अधिकारी श्यामकृष्ण आचार्यले बताए । ‘विभिन्न प्रतिष्ठानमा कार्यरत कर्मचारीहरू भने व्यवस्थापन र कर्मचारीबीचको सहमतिमा १५ वर्ष योगदान गर्ने उमेर भए निवृत्तिभरण वा उपदान योजनामा सहभागी गराउनु पर्छ ।’ उनले भने, ‘त्यसका लागि पनि रोजगारदाता कम्पनी तथा संस्था दर्ता नभएका हुन सक्छन् । श्रमिकले ६० वर्ष उमेर पुगेपछि निवृत्तिभरण (पेन्सन) पाउनेछन् । कोषमा जम्मा गरेकोे रकममा प्रतिफलसमेत जोडेर १८० ले भाग गर्दा आउने रकम मासिक निवृत्तिभरणका रुपमा प्राप्त गर्नेछन् ।’

चौध महिनामा दुई हजार छ सयले लिए श्रम स्वीकृति

कर्णाली प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना भए यता महिनामा दुई हजार छ सय १५ जनाले पुनः श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा गएका छन् । २०७५ साल माघ महिनामा स्थापना भएको कार्यालय बाट दुई हजार छ सय १५ जनाले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतका अनुसार २०७५ साल माघ ६ गते स्थापना भए यता आर्थिक वर्ष २०७५/०७६ माघ महिनामा दुई महिला ९८ पुरुष, फागुन महिनामा एक महिला एक सय ३७ जना पुरुष, चैत्र महिनामा दुई महिला एक सय ५६ जना पुरुष, वैशाख महिनामा एक सय ८८ जना पुरुष, जेठ महिनामा एक सय १३ जना पुरुष, असार महिनामा दुई महिला र एक सय २८ जना पुरुषले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै, चालू आर्थिक वर्षको साउन महिनामा दुई महिला एक सय ११ जना पुरुष, भदौ महिनामा चार महिला एक सय सात जना पुरुष, असोज महिनामा एक महिला एक सय ६५ जना पुरुष, कार्तिक महिनामा सात महिला तिन सय ६५ जना पुरुष, मंसिर महिनामा आठ महिला चार सय ३७ जना पुरुष, पुस महिनामा तिन महिला दुई सय ४० जना पुरुष, माघ महिनामा पाँच महिला महिला दुई सय ४३ जना पुरुष, फागुन महिनाको हालसम्म दुई महिला र ८८ जना पुरुषले पुनः श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतबाट पुनः श्रम स्वीकृती लिने सेवा मात्र रहेको र नयाँ श्रम स्वीकृती काठमाडौंबाट नै जारी हुने गरेको कार्यालयका सूचना अधिकारी श्यामकृष्ण आचार्यले बताए ।

‘पुनः श्रम स्वीकृति लिएर साउदी अरेबिया, कतार, मलेसिया र युएईमा बढी जाने गरेका छन् ।’ उनले भने, ‘यी देशमा ९० प्रतिशत रहेको छ भने अन्य देशमा श्रम स्वीकृति लिएर जाने निकै कम छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-11-15)

१४ फाल्गुन २०७६, बुधबार १०:४७

सम्बन्धित शीर्षक