आफ्नै सरकारकोे निगरानी गर्दै नेकपा

कर्णालीपत्र संवाददाता १२ फाल्गुन २०७६, सोमबार ०८:००

सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले आफ्नै पार्टीका नेताहरुको नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकार र स्थानीय तहको निगरानी गर्ने भएको छ । वीरेन्द्रगरमा सम्पन्न प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा स्थानीय र प्रदेश सरकारका बारेमा कडा आलोचन आएपछि औपचारिक रुपमै दुवै तहका सरकार र जनप्रतिनिधिको निगरानी गर्न पार्टीले औपचारिक निर्णयबाटै निगरानी समूह गठन गर्ने भएको छ । स्थानीय र प्रदेश सरकारका विषयमा व्यापक जनगुनासो आएपछि पार्टीले निगरानी समिति गठन गर्ने निचोडमा पुगेको नेकपा कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए ।

गत फागुन ६ र ७ गते प्रदेश सम्पन्न प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बोगटीले सरकारका गतिविधिलाई नियन्त्रण गर्नका लागि निगरानी समिति गठन गर्ने निर्णय भएको बताए । ‘सरकारप्रति जनताको गुनासो निकै बढी आएको छ ।’ उनले भने, ‘सरकार गतिविधि जनताका पक्षमा भएको वा नभएको, पार्टीको तर्फबाट प्रदेश र स्थानीय सरकारमा सहभागी नेता तथा कार्यकर्ताले राम्रो काम गरेको वा नगरको बारे निगरानी गर्न समिति गठन गरिनेछ ।’

जनप्रतिनिधिहरुले जनताको विकास निर्माणभन्दा आफ्नो फाइदा हेर्ने गरेको भन्दै पार्टीको औपचारिक बैठकमा चर्को आलोचना गरेपछि त्यसको रेखदेख र नियन्त्रणको पार्टीको निगरानी समितिले गर्ने अध्यक्ष बोगटीको तर्क छ । ‘हामीले वडास्तरसम्मका सरकारको कामका विषयमा जानकारी लिन निगरानी समिति बनाउनेछौं ।’ प्रदेश अध्यक्ष बोगटीले भने, ‘यसले गर्दा जनप्रतिनिधिले गरेको अनियमिता लगायतका सबै काम कारबाहीको निगरानी तथा नियन्त्रण हुनेछ ।’

जनप्रतिनिधि स्थानीय तहमा आफैँ डोजर चलाउन लागेको, कमिसन खान थालेका भन्ने जनगुनासा आउने गरेको भनाई अध्यक्ष बोगटीको थियो । जनप्रतिनिधिहरुले पार्टी हित विपरीत काम गरे पार्टीबाट निष्कासनसहित जनप्रतिनिधिबाट बर्खास्तसम्मका कारबाही गरिने उल्लेख गरेका बोगटीले भने, ‘पहिलो पटक सम्बन्धित जनप्रतिनिधिलाई कमजोरी सुधार्ने मौकाका लागि चेतवानी दिइनेछ । यदि त्यसले पनि गतिविधिमा नियन्त्रण नभए पार्टीबाट र प्रचलित कानूनअनुसार कारबाहीका लागि प्रक्रिया पार्टीले नै अघि बढाउने छ ।’

प्रदेश कमिटीको बैठकले अनियमितको आरोप लागेका जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण केसीलाई निलम्बन गरिएको र कालीकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमका विषयमा जिल्ला पार्टीले छानबिन गरिरहेको जानकारी बोगटीले दिए ।

प्रदेश सरकारप्रति आलोचना धेरै

नेकपा कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेश सरकारका विषयमा अपेक्षा भन्दा धेरै आलोचना भएको खुलासा गरेको छ । जनअपेक्षा अनुसार काम गर्न प्रदेश सरकारले नसकेको भन्दै पछिल्लो समय बढी नै आलोचना भएको नेपका कर्णाली प्रदेश अध्यक्ष बोगटीले जानकारी दिए । ‘जनताका अपेक्षा धेरै छन् । त्यसअनुसार प्रदेश सरकारले काम गर्न सकेन भनेर बाहिर हल्ला धेरै छ ।’ सरकारको बचाउ गर्दै उनले भने, ‘यो सरकार जादुको छडीको हैन । सबै काम एकै पटक हुने ।’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु पार्टीका नेताहरु नै भएकाले पार्टीको निर्देशनअनुसार नै काम गर्नुपर्ने दावी गरेका बोगटीले सरकारमा गएका मुख्यमन्त्री, मन्त्रीहरु पार्टीले नै निर्णय गरेर पठाएको दोहो¥याए । ‘उहाँहरु पार्टीकै नेताहरु हुनुहुन्छ, उहाँहरुलाई नेतृत्वदायी भूमिका खेल्नका लागि पार्टीले सरकारमा पठाएको हो ।’ उनले भने, ‘पार्टीले दिएको निर्देशन अनुसार काम गर्न नसके र नेतृत्वदायी भूमिका नखेलेको अवस्थामा मात्र पार्टी नेतृत्वले सरकार परिवर्तनको कुरा सोच्नसक्छ अन्यथा सरकार परिवर्तन हुँदैन ।’

अहिलेको कर्णाली प्रदेश सरकारलाई पार्टीले राम्रो काम गर्नका निर्देशन दिने काम प्रदेश पार्टीले गरिरहेको दाबी गरेका अध्यक्ष बोगटीले पछिल्लो समय प्रदेश सरकार परिवर्तन गर्नेे कुरालाई अनावश्यक हल्ला पिटाइए जस्तो भएको बताए । अहिले सरकारलाई सबै तहका पार्टी नेतृत्वले नजिकबाट सहयोग गर्ने, निर्देशन दिने र अगाडि बढाउने भन्ने भएको जानकारी दिएका उनले भने, ‘पार्टीले दिएको निर्देशनलाई नमाने मुख्यमन्त्री, मन्त्रीदेखि अन्य जनप्रतिनिधिलाई बर्खास्त गर्ने वा सरकार परिवर्तनका विषयमा पार्टीले आवश्यक निर्णय लिनेछ ।’

चैतदेखि तीन महिने अभियान

पार्टीको दोस्रो केन्द्रीय कमिटीको निर्णय अनुसार नेकपाको कर्णाली प्रदेश कमिटीले आगामी चैत एक गतेदेखि तीन महिने ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका दश वटै जिल्ला, ७९ वटै स्थानीय तहमा अभियान सञ्चालन गरिने नेकपा प्रदेश कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिसेस ब्युटी क्वीन शाही अब समाज सेवामा

१२ फाल्गुन २०७६, सोमबार ०८:००
मिसेस ब्युटी क्वीन सन्तोषी शाही अब समाज सेवामा लाग्ने भइकी छिन् । सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को विजेता शाहीले अब समाज सेवा गर्ने बताइकी हुन् ।

सम्बन्धित शीर्षक