दर्शकको रोजाइ आर्गानिक

कर्णालीपत्र संवाददाता ९ फाल्गुन २०७६, शुक्रबार ११:१६

सुर्खेत । डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका १ की पवित्रा थापाको स्टलको अर्गानिक सामान आधाभन्दा धेरै बिक्री भइसक्यो । पहिलो पटक वीरेन्द्रनगरको महोत्वसमा उनी सहित त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को टोलीले ल्याएको सामान धमाधम बिक्री भइरहेको छ । महोत्सव सञ्चालन भएको तीन दिनमा आधाभन्दा धेरै सामान बिक्री भइसकेको छ भने अन्य सामानहरू १, २ दिनमा नै सकिने उनीहरूको अपेक्षा छ ।

स्टलमा स्याउको चाना, लोकल धानको चामल, चिनो चामल, कार्बनोको चामल, हर्वल चिया, ओखर, सिस्नोको पाउडर जस्ता अन्य सामानहरू बिक्री भइरहेको संस्थाकी सचिवसमेत रहेकी थापाको भनाई छ । ‘मेला सुरू भएको तीन दिनमा आधा सामान सकियो ।’ उनले भनिन्, ‘पहिलो पटक हामीले थोरै सामान लिएर आएका थियौँ । अपेक्षा गरिएभन्दा राम्रो बिक्री भएको छ । अर्को पटकको महोत्वमा धेरै सामान लिएर आउन योजना बनाएका छौँ ।’

पातारासी गाउँपालिका वडा नम्बर ६ जुम्लाकी शान्ति बुढाको हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाको स्टलका अर्गानिक वस्तुहरू पनि धमाधम बिक्री हुने क्रम जारी छ । स्टलमा राखिएका स्थानीय उत्पादन ओखर, सिस्नोको धुलो, चिनो चामल, मार्सी चामल, कोदाको पिठो, स्याउको चानालगायतका वस्तुहरूले ग्राहकको मन लोभ्याएको छ ।

त्योसँगै महोत्वसमा अन्य कर्णालीका विभिन्न स्थानीय उत्पादन हुने वस्तुहरू समेत राखिएको छ । अन्य सामानहरू सजिलै बजारमा पाउन सकिने र अर्गानिक वस्तुहरू मेला महोत्सवमा मात्र पाइने भएकाले आफ्नो रोजाई परेको बाँके घर भई वीरेन्द्रनगर बस्दै आएको लोकेन्द्र शाहीले बताए । ‘अन्य सामान भन्दा स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरू किन्नुपर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर अर्गानिक वस्तुहरूलाई स्थापित गर्न लाग्नुपर्छ ।’ उनले भने, ‘जसरी कर्णालीको मार्सीको पहिचान छ । त्यसरी नै अन्य वस्तुहरूको पछि पहिचान झल्काउनुपर्छ ।’ फागुन ६ गते देखि १७ गते सम्म सञ्चालन हुने महोत्सवमा कर्णालीमा उत्पादन हुने संगै अन्य विभिन्न क्षेत्रमा उत्पादन हुने वस्तुहरू राखिएको छ । महोत्सवका ८० भन्दा धेरै स्टलहरूमा अर्गानिक वस्तुहरू राखिएको महोत्सव आयोजक समितिका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावलले जानकारी दिए । साथै उनले महोत्सवबाट अर्गानिक वस्तुहरूको प्रचार प्रसार तथा कृषकलाई व्यवसायिक बनाएर कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक नारालाई सफल बनाउने प्रमुख लक्ष्य रहेको बताए ।

कर्णालीमा अर्गानिक सम्मेलन सम्पन्न

कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्नका लागि ‘प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६’ सुर्खेतमा शुरू भएको छ । कर्णालीलाई जैविक तथा अर्गानिक प्रदेश बनाउनका लागि सम्मेलन शुरू भएको हो । जैविक कृषि सम्मेलनमा भारत र नेपालका कृषि विज्ञहरूको उपस्थिति रहेको छ । मा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले कर्णालीलाई पूर्ण जैविक बनाउन कृषिमा आम जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ मा बिहान भाग लिँदै सहभागीले कर्णालीलाई पूर्ण जैविक बनाउन आम नागरिकमा जागरण अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री जनार्दन शर्माले कर्णालीको स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर जैविक कृषिको रक्षा गर्नुपर्ने बताए । ‘कर्णालीको अर्गानिक उत्पादन बाहिर गएको छ, अब यसलाई सदुपयोग गरेर रक्षा गर्नुपर्छ, विषाधिमुक्त कर्णाली बनाउन सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्छ’, उनले भने । सरकारले कर्णालीका कृषकले आम्दानी वृद्धि गर्न पूर्ण जैविक प्रदेश निर्माणका लागि सबैभन्दा पहिला कृषि पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने उनले बताए । उनले कर्णालीको महत्वपूर्ण र बलियो आधार जैविक कृषि भएको बताउँदै सरोकारवाला सबैले साझा अभियानका रूपमा अगाडि बढाए कर्णाली प्रदेश जैविक प्रदेश बन्ने विश्वास व्यक्त गरे । आम नागरिकको चेतनामा परिवर्तन गरेर मात्र जैविक कृषिमा वृद्धि हुने हँुदा जैविक कृषिका लागि दक्ष जनशक्ति उत्पादनमा सबैको ध्यान जानुपर्ने शर्माको भनाइ छ ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीलाई पूर्ण जैविक बनाउन कृषिका लागि गुरूयोजना निर्माणको थालनी गरिएको जानकारी बताइन् । उनले कर्णालीलाई पूर्ण जैविक प्रदेश निर्माण गर्न सरकारले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको बताइन् ।
प्रदेशभित्रका प्रत्येक जिल्लाका कम्तीमा एउटा स्थानीय तहलाई नमूनाका रूपमा विकास गर्ने गरी जैविक कृषि कार्यक्रम सञ्चालन गरिएको कृषिमन्त्री केसीले जानकारी दिइन् । संसारको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने गरी जैविक कृषि कार्यक्रम तथा अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा २ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अर्गानिक कृषिको विकास गर्न आम कृषकसहित सरोकारवालाले साझा अभियान सञ्चालन गर्नुपर्ने बताइन् । उनले कर्णाली प्रदेशले लिएको महत्वपूर्ण कार्यक्रम २ नं प्रदेशले अनुशरण गर्ने बताइन् । कर्णालीबाट शुरू भएको जैविक कृषिलाई २ नं प्रदेशले पनि अभियानका रूपमा सञ्चालन गर्ने मन्त्री साहले बताइन् । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा जैविक कृषि सम्मेलनमा कृषि प्रविधिको ‘अवलम्बन, अवसर, चुनौती ,नीति तथा भावी कार्यदिशा’ विषयमा व्यापक छलफल भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । उनका अनुसार आज पनि नेपाल र भारतका जैविक अभियन्ता तथा कृषि विज्ञले आफ्नो प्रस्तुति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योग स्थापनाका लागि सम्भाव्यताको अध्ययन हुँदै

९ फाल्गुन २०७६, शुक्रबार ११:१६
कर्णाली प्रदेशमा ठूला उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि काम बढेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सम्भाव्यता अध्ययनको थालनी गरेको हो । कर्णालीमा पाँच किसिमका उद्योग खोल्नका लागि मन्त्रालयले सम्भाव्यताको काम अगाडि बढाएको छ ।