‘नेकपा कमजोर पार्न अर्बौको लगानी’

कर्णालीपत्र संवाददाता ७ फाल्गुन २०७६, बुधबार १६:०८

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले पार्टीलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गरेका छन् । नेकपा कर्णाली प्रदेश कमिटिद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजना गरिएको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
‘विश्व जगतलाई नै चकित पार्दै नेकपाले तीनै तहमा दुई तिहाई बहुमतको सरकार निर्माण गरेको विषय साम्राज्यवादी र प्रतिक्रियावादीहरूका लागि अपाच्य भएको छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘यही अवस्थालाई देखेर पार्टीलाई कमजोर पार्न, पार्टीप्रति नेता, कार्यकर्ता र आम नागरिकलाई दिग्भ्रमित सिर्जना गर्न देश तथा विदेशबाट अर्बौको लगानी भइरहेको छ ।’

नेकपाको विरुद्धमा भइरहेको अर्बौको लगानी कसले गरेका छन् भन्ने कुरा उल्लेख नगरेका अध्यक्ष प्रचण्डले बिचार र विधि पद्धति बिना कुनै पनि पार्टी प्रभावकारी ढंगले चल्न नसक्ने उल्लेख गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक व्यवस्थाले पार्टी अगाडि बढ्ने बताए । गएको माघ ९ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित सदस्यले पद तथा गोपनियताको सपथ खाने दिन यही फागुन २० गते पश्चात् औपचारिक रुपमा नेकपा दुई तिहाई बहुमत प्राप्त पार्टी हुने बताएका प्रचण्डले नेकपाका नेताहरु बीच बाहिर आउने विवादप्रति कुनै पनि चिन्ता नमान्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कम्युनिष्ट पार्टी लागेपछि ९५ प्रतिशत राम्रै उद्देश्यले लागेका हुन्छन् । उनले भने, ‘त्यही उद्देश्यमा रहेर केन्द्रीय नेताहरु पार्टीलाई राम्रो बनाउने मानसिकतामा आ–आफ्ना कुरा राख्दा कहिलेकाही विवाद जस्तो मात्र देखिएको हो ।’ पछिल्लो समय सरकार र पार्टी, संगठन र नेता बीचको दोहोरो सम्बन्ध नभएकै कारण पार्टी भित्र व्यक्तिवाद, उपभोक्तावाद हावी भएको उनको भनाई थियो । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता कसैलाई मन्त्री बनाउन रातारात नभएको उल्लेख गरेका प्रचण्डले गल्ती नहुने पार्टी संसारमा नबनेको जिकिर गरे । ‘गल्ती र कमजोरी नभएका राजनीतक दल अझैँ बन्न गाह्रो छ ।’ उनले भने, ‘यदि त्यस्तो अवस्था आयो भने समाजमा कुनै दलको आवश्यकता नै पर्दैन । समाज आफै सही बाटोमा चल्नेछ । त्यसलाई हामीले खासमा समाजवादको परिकल्पना गरेका छौं ।’

कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विष्णु पौडेलले कर्णालीको रुपान्तरणको जिम्मा अब पार्टीले लिने दाबी गरे । ‘नेकपाले समस्याको चर्चा मात्रै गर्दैन’, उनले भने, ‘तीनै तहमा बहुमतको सरकार सञ्चालन गरेको पार्टीले अब समृद्धि र समस्या समाधानको काम गर्छ ।’ नेकपाकै पालामा काठमाडौंका नागरिकलाई हुम्ला÷जुम्लामा बसाइँ–सराई गर्ने अवस्थाको सिर्जना गर्ने बताए । नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई कमजोरी गर्ने छुट नभएको उल्लेख गरेका नेता पौडेलले स्थानीय तहदेखि संघीय सरकारमा सहभागी नेता तथा कार्यकर्ताहरुलाई अनुशासित हुन निर्देशन दिए । ‘पार्टी र संसदीय दलहरु एकताबद्ध भई संगठन र सरकार बीचको सम्बन्धलाई बलियो बनाउनुपर्छ,’ उनले भने, ‘पार्टी र सरकारकाले गर्ने काम र नेता तथा कार्यकर्तालाई सेवा र सुविधा उपलब्ध गराउँदा अनुहार हेर्न भन्दा योगदानलाई प्राथमिकता दिन आग्रह गरे । एक अर्को प्रसंगमा बोल्दै नेता पौडेलले नेकपा एकता र विभाजनको सुक्ष्म अध्ययनले गठित पार्टी भएको उल्लेख गर्दै पार्टीका नेताहरु बीच देखिने विवादले पार्टीमा विभाजन आउँछ की भनेर चिन्ता नमान्न आग्रह गरे । नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीको अध्यक्षतामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ सह–इन्चार्ज यमलाल कँडेललगायतका नेताहरूले केन्द्र पार्टी र संघीय सरकारले कर्णाली प्रदेश सरकारलाई प्राथमिकता नदिएको आरोप लगाए । कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारका बारेमा मौखिक रिपोर्ट पेश गरे ।

‘विधि मिचे उजुरी गर्नुहोस्’

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा प्रचलित विधि र प्रक्रिया मिचे पार्टी केन्द्रमा उजुरी दिन कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टीको एकता प्रक्रियामा केन्द्रले निश्चित विधि र पद्धति बनाएको थियो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘विभिन्न बहानामा नगरको सदस्यलाई प्रदेश÷जिल्ला कमिटीमा लिने तर अध्यक्षलाई पार्टीको जिम्मेवारीबाटै हटाउने काम भएको सुन्नमा आएको छ । यदि कर्णालीमा पनि त्यस्तो भएको छ भने तत्कालै लेखेर संगठन विभागमा उजुरी दिनुहोस् ।, त्यसको खोजी गरेर पिडित कार्यकर्तालाई न्याय दिने काम गरिन्छ ।’

नेकपाका कमिटी नयाँ नभएर दुई पार्टीका कमिटीबीचको एकता मात्रै भएको उल्लेख गर्दै निस्क्रिय, वृद्ध वा अन्य कुनै पनि बहानामा वहालवाला कमिटीका सदस्यलाई हटाउन नमिल्ने भनाई नेता नेपालको थियो । कम्युनिष्ट पार्टी कमिटीगत निर्णय गर्ने पार्टी भएको उल्लेख गरेका वरिष्ठ नेता नेपालले आफ्नो वरिपरि घुम्ने, चाकरी गर्ने र गुणगान मात्र गाउनेलाई अवसर दिने प्रवृत्तीको पार्टीबाट अन्त्य गर्न जरुरी रहेको बताए । ‘पार्टीभित्र गणेश प्रवृत्तीमा नलाग्नुहोस्, पार्टी र जनताका काममा लाग्नुहोस् ।’ उनले भने, ‘यदि त्यसो गरिएन भने आजको ठूलो पार्टी भोलि जनताकै मतबाट खुम्चिदंै जानेछ ।’

पछिल्लो समय निराशावादी, अन्दभक्त र अहंकार प्रवृति बढ्दै गएको उल्लेख गरेका नेपालले पार्टीभित्रको विवादले संगठन कमजोर नहुने जिकिर गरे । जुन कमिटीमा विवाद आयो त्यही कमिटीमै समाधान खोज्न निर्देशन दिएका उनले पूर्वाधारको विकास भए कर्णालीले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेमा
जोड दिए ।
‘सरकारले समन्वय गरेनन्’

कर्णालीका दशवटै जिल्लाका नेकपा पार्टी अध्यक्षले स्थानीय तह, प्रदेश र संघीय सरकारले जिल्ला पार्टीसँग समन्वय नगरेको आरोप लगाएका छन् । वीरेन्द्रनगरमा मंगलबार शुरु भएको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्लाको अवस्थाका बारेमा संक्षिप्त रिर्पोटिङ गर्दै दशवटै जिल्लाका अध्यक्षले तीनै तहका सरकारले आफ्नो अनुकूलतामा काम गर्ने गरेको गुनासो गरे ।

‘सरकारले पार्टीसँग कुनै पनि समिक्षा र सहकार्य गरेको छैन’ हुम्लाका अध्यक्ष लालकेश जैशीले भने, ‘गाउँपालिका र प्रदेश सरकारले काम सम्पन्न गरेपछि मात्रै पार्टीलाई जानकारी आउने र त्यसको कमजोरीको दोष पार्टीले नैं सुधार्नु पर्ने अवस्थाको अन्त्य गर्न पार्टीले नियमित सरकारलाई अग्रिम जानकारी गराउने संयन्त्र निर्माण गर्न आग्रह गरे । दुई तिहाई बहुमतको सरकार भएर पनि रुकुम पश्चिम संघीय सरकारको सुन्य बजेटमा अघि बढिरहेको बताएका रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले जिल्लामा सरकारका कामले जनतामा खासै उत्साह नथपेको जिकिर गरे । हरेक आर्थिक वर्षमा तीनै तहका सरकारलाई पार्टीको घोषणा पत्र अनुसारका नीति तथा कार्यक्रम ल्याउन हरेक चैतमा सरकार र पार्टीबीच समन्वयात्मक छलफल गर्नुपर्नेमा डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले जोड दिए ।

पार्टी केन्द्रले जनवर्गीय संगठनमा जिम्मेवारी दिँदा जिल्ला पार्टीलाई नसोधेका कारण जिल्लाका जनवर्गीय संगठनहरु चलायमान नभएको उल्लेख गरेका सल्यानका अध्यक्ष गोविन्द पुनले यसले

कार्यकर्तालाई नेताका वरिपरी घुमिरहने अवस्थाको सिर्जना गराएको उल्लेख गरे । विशाल पार्टीमा कतिपय भूमिका विहिन अवस्थामा भएको र कतिपयलाई दोहोरो तेहोरो जिम्मेवारी दिएकाले स्थानीय नेता तथा कार्यकर्तामा नैरास्यता उत्पन्न भएको जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए । तीनै तहमा पार्टीको सरकार भए पनि जिल्लाका पार्टी कमिटी आर्थिक अभाव झेल्नु परेको उल्लेख गरेका रानाले विप्लवको समस्यालाई राजनीतिक रुपमै वार्ताबाट समाधान निकाल्न जोड दिए । सात मिनेटको समयमा जिल्लाको रिर्पोट राखेका मुगुका सुकवीर बुढा, जुम्लाका वीरबहादुर कुँवर, कालीकोटका धन्जित शाही दैलेखका रविन्द्र शर्मा, सुर्खेतका धु्रवकुमार शाहीले आ–आफ्ना जिल्लाको सांगठनिक र अन्य अवस्थाको बारेमा मौखिक प्रतिवेदन पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आतिथ्य सत्कारका लागि नेचर गाइड

७ फाल्गुन २०७६, बुधबार १६:०८
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज बनाउन फागुन १ गतेदेखि ६ गतेसम्म नेचर गाइड तालिमको आयोजना गरिएको हो । रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रारा पुग्ने पदमार्ग, वन्यजन्तु, चराचुरुङ्गीदेखि राराको जैविक विविधताबारे जानकारी गराउन नेचर गाईड तयार गरिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षक