‘पत्रकार कर्णालीका तेस्रो अंग’

कर्णालीपत्र संवाददाता ४ फाल्गुन २०७६, आईतवार १३:४८

कर्णालीपत्र
रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारका लागि पत्रकार तेस्रो अंग भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पहिलो साधारण सभालाई उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । अहिलेसम्म पत्रकार र पत्रकारिता क्षेत्रलाई कार्यपालिका, व्यवस्थापिका र न्यापालिका पछिको राज्यको चौथो अंग भन्ने गरिन्छ । उनले भने कर्णाली प्रदेश सरकारसँग कार्यपालिका, व्यवस्थापिका भए पनि न्यायपालिका नभएकाले पत्रकार एवम् पत्रकारिता क्षेत्र तेस्रो अंगका रुपमा रहेको छ ।

कर्णाली प्रदेशको समृद्धिका लागि प्रदेश सरकारका तर्फबाट आफूले पत्रकारिता क्षेत्र तेस्रो अंग हो भन्ने वातावरणको सिर्जना गर्ने उल्लेख गरेका शाहीले पत्रकारले भोगेका हरेक समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मिडियाको क्षेत्रलाई व्यापक बनाउन अब प्रदेश सरकारले विशेष पहल गर्नेछ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका शाहीले भने, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन गर्ने विषयमा अहिले आन्तरिक तयारी भइरहेको छ ।

प्रतिष्ठान गठन आदेशले गर्ने वा कानूनकै रुपमा प्रदेश सभाबाट पारित गरेर मात्रै पूर्णता दिने भन्ने बारेमा सरकार भित्र छलफल भइरहेको जानकारी उनले दिए ।

कर्णालीलाई समृद्ध प्रदेशका रुपमा निर्माण गर्ने जिम्मा कर्णालीबासीकै रहेको बताएका मुख्यमन्त्री शाहीले अर्काको प्रगति देख्न नसक्ने प्रवृत्तिले कर्णालीपछि परेको दावी गरे । हामी कर्णालीबासीको सोचमा सकारात्मक विकास गर्न जरुरी छ । उनले भने, ‘यसका लागि पत्रकारिता क्षेत्रले ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ ।’

यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णालीको पत्रकारिताका लािग प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘लाभैलाभको पोखरीमा नुहाउँने पेशा पत्रकारिता होइन ।’ उनले भने, ‘समाचार लेखे वापत मृत्यु पत्रमा हस्ताक्षर गर्ने पेशा अंगालेका पत्रकारका हकहितका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माण गर्दछ ।’

आमसञ्चार प्रतिष्ठान गठनसम्बन्धी कानून निर्माणको तयारीमा प्रदेश सरकार लागेको बताएका मन्त्री भण्डारीले समानुपातिक विज्ञापन प्रणाली लागू गर्दै रेडियो र टेलिभिजनको नियमनसम्बन्धी कानून प्रदेशसभाको चलिरहेको हिउँदे अधिवेशनबाटै पारित गराउने तयारी सरकारले गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता व्यापार नभएर जनताका लागि भएकाले यसको वृद्धि र विकासमा सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

रुकुम पश्चिममा संघको शुन्य बजेट

पूर्व गृहमन्त्री जनर्दन शर्मा ‘प्रभाकार’ले रुकुम पश्चिम संघीय सरकारबाटको शुन्य बजेटमा अघि बढेको बताए । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका शर्माले केन्द्रले गर्ने विभेदका कारण कर्णाली प्रदेशले अपेक्षित रुपमा प्रतिफल प्राप्त गर्न नसको दाबी गरे । ‘आज पनि सिंहदरबारबाट कर्णाली हेर्ने प्रवृत्ती कायमै छ,’ नेता शर्माले भने, ‘रुकुम पश्चिमको चौरजहारीमा सामुदायिक भवन निर्माण गर्ने टेण्डर भएको एक वर्ष बित्यो तर त्यसको नतिजा अहिलेसम्म बाहिर आएको छैन ।’ एक वर्षपछि आएर ठूला कार्यक्रम नहुने भन्दै भवन निर्माण गर्ने कार्यक्रम स्थगित भएको उल्लेख गरेका शर्माले पछिल्लो समय चौरजहारीमा भएका कार्यक्रममा फोटा प्रमाणका रुपमा आफूले पठाउने गरेको बताए ।

कर्णाली समृद्धिको अभियानमा लाग्न सबै पत्रकारलाई आव्हन गरेका उनले संघीय सरकारले कर्णालीको हेर्ने नजर अन्य प्रदेशभन्दा फरक रहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-11-04)

४ फाल्गुन २०७६, आईतवार १३:४८