दमाई र स्थानीयस्तरमा दमाहा बाजाको प्रयोग

कर्णालीपत्र संवाददाता २९ माघ २०७६, बुधबार १६:०१
  
                        रणसिंह परियार

कुनै बेला काग कराएको आधारमा शुभ वा अशुभ समाचार बुझ्ने गरिन्थ्यो । कागलाई सञ्चारमाध्यमको रुपमा बुझिन्थ्यो । समयको विकास क्रमसँगै मानिसमा नयाँ आवश्यकतामा नयाँ कुराको विकास हुँदै गएको छ । एकताका दमाहा बाजालाई पनि सञ्चार माध्यमको रुपमा प्रयोग भएको पाइन्छ ।

नपुगिने ठाउँमा बाजाको माध्यमद्वारा खबर आदान–प्रदान गर्ने गरिएको पाइन्छ । जसको अवशेष कुनै–कुनै ठाउँमा तत्काल हिँडेर नपुकिने तर खबर गर्नुपर्ने हुँदा दमाहा बजाएर खबर पु¥याउने चलन अनुभूत गर्न पाइन्छ । जसलाई स्थानीय भाषामा खुट हाल्ने भनेर भनिन्छ । शुभ कार्यमा शुभ बाजा र मर्दा पर्दा अशुभ बाजा बजाई मान्छेलाई बोलाउने चलन छ ।

हिजो, राजा महाराजाका सभा, भेला, जन्म घरमा बोलाइनु पर्दा बाजाद्वारा सञ्चार गरिन्थ्यो । समय परिवर्तनले सञ्चार माध्यम पनि परिवर्तन हुँदै आयो । कटुवालेको माध्यमबाट शुरु भएको सञ्चार हुलाकद्वारा चिठी आदानप्रदानसम्म आयो । यसैगरी शुभ कार्य, विवाह, व्रतबन्ध, पास्नी, न्वारन, यज्ञ, देव पूजा, माडुपूजा दशैं, तिहार, धामीनाच, साउने सक्रान्ति माघे संक्रान्ति, भैलो, झुवो, पिठायो, धान रोप्दाको वेठी बाजा बजाउने प्रचलन रहेको छ । यसैगरी घर सराई, राँगो हान्ने, छैटी, घर बनाउँदा, लिङ्गो हाल्दा, तीर्थ व्रत गर्दा, नवागी बढाउँदा, राजनीतिक कार्यक्रम, वैशाख पूर्णीमा, साउने पूर्णीमा, माज पूर्णीमा, विजय पूर्णीमा, माघ पूर्णीमा, चोखाका छोरा जन्मिदा, यस्तो बेला दमाह बाजा प्रयोग हुन्छ । भने मान्छे मर्दा अशुभ कार्यमा पनि बाजा बजाउने चलन रहँदै आएको छ । जुन परम्परा हाम्रो देश नेपालको पूरै देश भरी नहुन सक्छ । पूर्व मेचीदेखि पश्चिम महाकाली हिमालदेखि तराई सबै ठाउँमा प्रयोग नभए पनि देशको कुनै भागमा यसको प्रयोग भई रहेको हुँदा यो कुरा उल्लेख गर्न खोजिएको हो ।

दमाई के हो ?

दमाई समुदाय नेपाली समाजको जातीय प्रथाको शुद्ध समुदाय भित्रको अछुत समुदाय हो । दमाई जात होइन दमाहा बाजा बजाउने हुँनाले दमाईको संज्ञा दिएर पछि दमाई हुन गएको हो । हुँदा–हुँदा आफ्नो जातको थरलाई नै लत्याएर दमाईमा परिणत भई नामको पछाडी दमाई थर लेख्ने प्रचलन प्रारम्भ भयो । टाठा बाठा पूर्व तिरका दमाईहरुले आफ्नो थर जोडेर नागरिकता बनाएको पाइन्छ । तर पश्चिम तिरका दमाईहरुले आफ्नो थरदलाई नै भुलेर नामको पछाडि दमाई नै लेखेर नागरिकता बनाएको पाइन्छ । दमाई अथवा परियार जातिभित्र पनि थुपै्र आफ्नो गोत्र, थर रहेका छन् । तर समग्र रुपमा दमाई नै भन्ने प्रचलन छ । दमाईलाई जातमा परिणत भई सके पछि गालीको रुपमा टाम्क्यो भन्ने चलन छ । जस्तै बाहुनलाई काठा, क्षेत्रीलाई खासिया, ठकुरीलाई कुसुण्डा, भोटे लामालाई जाड भने जस्तै दमाईलाई होच्याएर भन्ने शाब्दिक अर्थ टाम्क्या हो । दमाई टाम्क्याको मुख्य पेशा दमाहा बजाउनु र खलो, मुठो, पुडी र भँुडी प्राप्त गर्नु हो । अर्को पेशा भनेको लुगा सिलाउने हो । शिक्षित र अलि विकसित ठाउँमा लुगा सिलाउनेलाई अलि सम्मानित शब्द टेलर मास्टर भनेर बोलाइन्छ । तर टेलर मास्टर प्रमाणपत्र नभएका मास्टर हुन् । गाउँ, घर दुर दराजमा दमाई नै भनिन्छ ।

टेलर मास्टर भनी हैन टेलर मास्टरले लुला सिलाएवापत ज्याला वा रुपैयाँ पाउँछन् भने दमाईले लुगा सिलाएवापत ज्याला वा खलो, मुठो उठाउने गर्छन् । दमाईलाई सगुनी जात पनि भन्ने गरिन्थ्यो । दमाई साइतमा भेटियो भने राम्रो हुन्छ भन्ने प्रचलन गाउँ घरमा छ । त्यसैले कसैकसैले कुनै ठाउँको साइत गर्दा दमाईलाई बोलाएर अगाडि लगाउने चलन पनि थियो । दमाईहरु अति बाठा पनि हुने गर्छन् । तर त्यो बठ्याईँ आफ्नै लागि काम लाग्दैन । दमाईको केही स्थानको पनि नामाकरण गरिएको भेटिन्छ । जस्तै, दमाई ढुङ्गा, दमिनीभिर, दमाई ओडार, दमाई चौन्ता, दमाई बाडा, दमाई दोफाडनो, दमाई दह, दमाई थलो आदि, अर्कोतिर दमाईका बारेमा केही उखान टुक्का पनि जोडिएका छन् । ‘कोद्या खानु तात्तै, दमाई हान्नु लात्तै, जा दमाई अगाडि खा दमाई पछाडि, दमाई दवालो, दमाइनी जस्ती, दमाई जस्तो दमाईका जस्ता वेद, दमाई जाल दमाईका जस्तो चतु¥र्याइँ, काग र दमाई उक्कै हुन, गोरु खाने राम्क्या’ आदि इत्यादी उखानहरु रहँदै आएका छन् ।

कसरी र कुन ठाउँमा दमाहा प्रयोग भएको छ ?
क) विवाह

लगन शुरु भएदेखि दमाहा बाजाको प्रयोग हुन्छ । जन्तिहरु माइत पुगुञ्जेल बाजाको प्रयोग गरिन्छ । माइत पुगिसकेपछि माइत र पोइली दमाई बाजा (पयाना) मार्फतलाई गर्छन् । अनि बेहुली विवाह भई सकेपछि अन्तिम भतेरसम्म बाजाको प्रयोग हुन्छ । भोज सकिएपछि जोला हाल्ने बाजा शुरु हुन्छ । भागे लागि दमाई लाई पर्सिगो, लिड, फेरुवा, बुढो गोरु र अन्य दमाईलाई फुर्केको रुपमा पैसा दिने गरिन्छ ।

ख) व्रत बन्द

यसमा पनि लगन शुरु भएदेखि बाजा शुरु हुन्छ । लग्ने बिस्कुन डास्ने, टाला छेक्ने (लगनका लुगा) राति रत्याडी गर्ने र बिहान जोगसर लइने (योगी जस्तो बन्ने बेलासम्म र भतेर (भोज) सम्म पनि बाजा बजाइन्छ । अनि पयाना खेल्ने (दमाई लड्कने) पनि हुन्छ । यसमा पनि जोलो हाल्ने चलन छ ।

ग) छोरो जन्मिदा

लगिको छोरा जन्मेमा बिहानै भागे दमाई बडाई छोरो जन्मेको खुशीयालीमा बाजा बजाउँछन् ।

घ) न्वारन र छैटी

छोरोको न्वारन र छैटीमा पनि दमाहा बाजा बजाउने गरिन्छ ।

ङ) यज्ञ

यज्ञ, महायज्ञ चलेमा दमाईले बाजा बजाउने र अन्य जाती पूजाआजा गर्ने गर्दछन् ।

च) देव पूजाः

देवताको थानमा पूजा गर्ने वेलामा पनि बाजा बजाउने चलन छ । जहाँ खसी काट्ने, पुरी हाल्ने र चढाउने गरिन्छ । बाजा बजाए वापत पुरी र बाजाको रेख भने पोटो (लादीसहितको भुडी) पाउँछन् ।

छ) दशै

ठकुरी वस्तीमा घटस्थापनादेखि नवमीसम्म बाजा बजाउने चलन छ । नोँ दिनसम्म नौरता बजाउने गरिन्छ । बेलुका नौमती र बिहान पहर खुलाउने गरी बाजा बजाइन्छ । उक्त बाजा बजाउनेलाई बिहान बेलुका खाना खुवाउने र दशैंको दिन पुरी र भात पूरै गाउँलेले दिने चलन छ । खसी काटेको घरमा बल्याग्रा भनेर खसीको घाटी दमाईलाई दिने चलन छ ।

ज) धामी नाँच

प्रायजसो पूर्णीमामा धामी नचाउने चलन हुन्छ । गाउँमा कम्तीमा ८÷१० वटा धामी हुन्छन् । प्रत्येक धामीको फरक–फरक बाजाको तालमा फरक–फरक नाँच हुन्छ । बाजाको तालमा फरक–फरक नाँच हुन्छ । पूर्णीमाको दिन सबै गाउँलेहरु जम्मा हुने, नयाँ लुगा लगाउने, राम्रो खाने अनी लामा थाडामा जम्मा भएर राम हेर्ने गरिन्छ । पालै पालो सबै धामीहरु नाच्छन् । त्यसपछि आ–आफ्नो दमाईले धामीलाई बजाएरै घर पु¥याउने चलन छ । जसलाई धामी ओल्कनु भनिन्छ । धामीको घरमा पु¥याई सकेपछि दमाईले खान पाउँछन् । भने सबै दमाईलाई थोरै थोरै पुडी डल्लो दिने चलन छ । दमाईहरु धामीको, डाँडीहरुको घरघरमा गई ‘खाँडो जितो’ पुडी देउ भनी माग्ने चलन छ । दमाईले प्राय जसो बैशाख पूर्णीमा, माझ पूर्णीमा, विजय पूर्णीमा, माघ पूर्णीमा, माहमी र चौधसीमा बाजा बजाउने चलन छ ।

झ) साउने संक्रान्तीः

यो स्थानीयस्तरको तिहार हो । यो तिहारमा दमाईले बाजा बजाउँछन् । प्रायजसो हिलोमा काम गरी रोपाई, गोडमेल सबै सकिएको हुँनाले साउने संक्रान्तीमा दमाई र अन्य दलितहरु परि ‘हिलो खल्काउनी’ भनेर काँचो अन्न संयुक्त रुपमा मागी पछि बाँडेर खाने चलन छ ।

ञ) माघे संक्रान्तीः

माघे संक्रान्तिमा पनि बाजा बजाउने चलन छ । पापी महिना गएको धर्मी महिना लागेको भन्ने खुसी ¥यालीमा बाजा बजाइन्छ ।

ट) भैलो पूर्णीमाः

यो पनि स्थानीयस्तरमा मनाउने एउटा पर्व हो । यो पर्वमा केटा केटी मिली भैली खेल्ने चलन छ । प्रत्येक घर घरमा गई भैली यसरी गाइन्छ । पुनीका बाह्र, गाईका तेहार भौलो– यो भैलो कसको गाउँका जानमानको । यो भैलो कसको धामी डाङ्ग्री को । यो भैलो कसको राजा ईन्द्रको । मागने होईन जेड्ने होइन रितु जनाउने, तिउभार मनाउने । सिन्कीमा सिन्की, धान, चामलकै विन्ती । सिन्कीमा सिन्की, रुपैयाँकै विन्ति । घोडा क्यादेउला खिल्काई, खिल्काई लिउला । बाख्रो क्यादेउला म्या, म्या गर्दै लिउला । भेडा क्यादेउला भ्या भ्या गर्दै लिउला, भैसी क्यादेउला अड्काई, अड्काई लिउला चुला पारी माउँ, चट्क विदा पाउँ । भन्ने भाका गरी भैली गाइन्छ र जम्मा भएको चामल भात खाने चलन छ । र दमाईले बाजा बजाई पूर्णीमा माग्ने चलन छ ।

ट) भ्ुवोः

यो पनि स्थानीय पर्व हो । एउटा भुवाखाडा हुन्छ । गाउँका सबै मिलि दाउराका मुडा ल्याउने चलन हुन्छ । माथिल्लो जाती मुडा ल्याउने दमाईले बाजा बजाउने गर्दछन् । अनि भुवा खाडामा भुवो जगाई ठूलो आगो बालिन्छ । र राति भुवो खेल्ने चलन हुन्छ । कुटुम्भ मिल्ने एक गाउँका मान्छे अर्को गाउँमा गई सल्लाको दियालो सल्काई भुवा खेल्न जाने चलन छ । यो प्राय केटा र केटी रमाईलो गर्दैछन् ।
अझै भन्नुपर्दा अस्लिल प्रकारका फोहोर शब्दहरु प्रयोग गरी केटीलाई जिस्क्याउने र केटीले केटाहरुलाई पानीले भिजाउने चलन छ । उक्त भुवो खेल्न जाँदा दमाईले बाजा बजाउँदै जता जता केटी छन् उतै तिर लिन्छ र भुवो खेलाउँछ । भुवो खेलाए दमाईले भुवा पाथी माग्छन् ।

ठ) पिठायोः

भुवा पर्वको लगत्तै पिठायो पर्व आउँछ । पिठायोभन्दा अगाडि गाई तियार र बल्द तिहार पनि मनाउँछन् । गाई र बल्दको तिहारमा गाईबल्दलाई कुडो अन्न खुवाउँछन् र गाईको सिङमा तेल मालिस गर्छन् भने जोत्ने बल्द (गोरुको) जोर्नीमा तेल मालिस गर्छन् । अनि पिठायो आउँछ । चामल र काँचो बेसार कुटी आफ्नो मान्यजनको निधारमा पिठायो लगाउने । भेटघाट गर्ने, छोरी चेली माइत जाने गर्दछन् । अनी दमाईले बाजा बजाउने र गाई बल्दका मुखको दिनु भनेर माग्ने चलन हुन्छ । गाई र गोरुलाई जे खुवाउनु भयो त्यो हामीलार्ई दिनुस् भन्दा मेरो अँकलनमा त्यो बेला दमाई पनि पशु बनिदिएको हो की ?

ड) धान रोपाईको वेठीः

धान रोपाई र दाउरी कटाई उच्च खान्दान समुदायको ठूलो महत्वको मानिन्छ । धान रोप्दा दमाई बाजा बजाउँछन् । अन्य जाती हली र रोपाहार हुन्छन् । सबै खेत रोपी सकेपछि एउटा पुल्ती खेत भन्ने हुन्छ । र दमाईले बाजा बजाउने अरु दलित मध्येको एक जनाले हिलोमै नाच्ने अर्थात पुल्ती खेल्ने गर्छन् । दमाईले बाजा बजाए वापत, खाना, नास्ता र फुर्केको रुपमा केही पैसा पाउँछन् । अनी धान भित्र्याउँदा मुठोको रुपमा धान पाउँछन् ।

ढ) घर सराई गर्दाः

कसैको नयाँ घर निर्माण भयो भने घर सराई वा घरको व्रतवन्ध गरी जनई हाल्ने चलन छ । उक्त घर सराईमा अगेठ हाल्न देवताको धामी बोलाउने सबै गाउँले जम्मा गर्ने र घरको छतमा चारची गित गाउने चलन हुन्छ । र उक्त ठाउँमा पनि बाजा बजाउने गरिन्छ ।

ण) घर बनाउँदाः

कसैको नयाँ घर निर्माण हुँदा पनि दिन भरी बाजा बजाउने चलन छ ।

त) राँगो हान्नेः

गाउँमा एउटा समय रोगव्याधी गाउँमा नाआओस्, रोगहरु भागेर जाओस् भनी प्रत्येक घरमा राती माटो भिजाई, ढंंटेलीको काँडामा घरको धुलो बाँधी डाँडा पारी लिएर राँगो हानिन्छ । उक्त कार्यमा पनि दमाहा बाजाको प्रयोग हुन्छ ।

ध) लिङ्गो गाड्दाः

गाउँमा ठूला लामा थाडो हुन्छ । जुन ठाउँमा बाह्रै देउको लिङ्गो भनेर सल्लाको ठूलो लिङ्गो ल्याई गाडीन्छ । र दमाईले दमाहा बाजा बजाउँछन् ।

द) तीर्थ व्रत गर्दा ः

कुनै देउताका धामी वा अन्य कोही तीर्थ यात्रामा जाँदा पनि बाजा बजाएर आधा बाटोसम्म पु¥याउँछन् । भने, आउँदा पनि बीच बाटोमा गई बाजा बजाएर ल्याउने चलन छ ।

ध) ठूला राजनीतिक दलका नेताहरु आएमाः

कुनै राजनीतिक कार्यक्रम, चुनाव आदि, इत्यादि कार्यको निम्ति नेताहरु गाउँमा प्रवेश गर्न साथ पहिला दमाहा बाजा बज्छ । त्यो नेताको लागि ठूलो स्वागत हो । नेता कार्यकर्ताको स्वागतमा बाजा बजाएमा नगद पारिश्रमिक पाउने गर्दछन् ।

न) अशुम कार्य वा मान्छे मर्दाः

स्थानीयस्तरमा मान्छे मर्दा बाजा बजाई मसान घाटसम्म पुग्ने चलन छ । गाउँदेखि मसानघाटसम्म निश्चित–निश्चित ठाउँमा दमाई खेल्ने वा पयाना बजा बजाउने गाउँहरु हुन्छन् । प्रत्येक ठाउँमा दमाईले बाजा बजाउँछन् । बाजा बजाए वापत जाला पैसा पाउँछन् र काज क्रिया गरी सकिने गरी तर्पन गर्दाको दिन पनि बाजा बजाउँछन् । यसरी स्थानीयस्तरमा दमाई जातीहरुको बाजाको प्रयोग गरिन्छ । यो परम्परालाई मैले सकभर स्थानीय तहबाटै उल्लेख गर्न खोजेको छु । स्थानीयस्तरमा हुने दमाई समुदायको दिनचर्या झल्काउन खोजिएको छ । शाब्दिक अर्थमा बुझ्न अलमल हुन सक्छ । तर सत्यतामा आधारित कुरा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-11-01)

२९ माघ २०७६, बुधबार १६:०१

सम्बन्धित शीर्षक