कर्णालीलाई खाद्यमा आत्मनिर्भर बनाऔं

कर्णालीपत्र संवाददाता २७ माघ २०७६, सोमबार १४:३७

प्रत्येक वर्ष नेपाली सञ्चार माध्यमका शीर्षक हुन् ‘कर्णालीमा खाद्यान्न संंकट’ । अहिले झन् कर्णालीमा ४० वर्षभन्दा यता कै लामो खडेरी परेको छ । अहिले यहाँका बासिन्दा भोकमरीसँग लडिरहेका छन् । भोकमरीसँग लड्नु यहाँका बासिन्दाको लडाई आजको मात्र हैन । यो करिब १ सय वर्ष लामो इतिहास छ ।

भूगोलको हिसाबले नेपालको कुल भूगोलको १५ प्रतिशत ओगटेको छ । भूगोलको भू–उपयोग नीति नहुँदा अहिले पनि भोकमरी, गरिवी, स्वास्थ्य क्षेत्रको पहँुच र शिक्षालगाएतका क्षेत्रमा पछाडि छ र त्यसैले पनि कर्णाली हालसम्म पनि मुलधारभन्दा बाहिर क्षेत्र मानिन्छ । यहाँका बासिन्दाले अहिले पनि शिक्षा, स्वास्थ्य र रोजगारको पहँुचभन्दा बाहिर रहेका छन् । राजनितिक, सास्कृतिक र सामाजिक रुपमा त यो क्षेत्र अहिले पनि राज्यको मुलधारसँग जोडिएको नै छैन् । मुलधारसँग जोड्ने नाममा दाताहरु दिने दातब्यको सही सदुपयोग भएको छैन । अनि कसरी होस् विकास र खाद्यमा आत्मनिर्भर ।

रोचक कुरा त के छ भने कर्णालीका ८० प्रतिशत मानिसहरुको पेशा भनेको कृषि पशुपालनमा रहेको छ । तै पनि, कर्णालीमा सरकारले खाद्यान्न आयात नगर्ने हो भने भोकभोकै मनुपर्ने अवस्था रहेको छ । स्थानीयस्तरमा वार्षिक १६ हजार मेट्रिक टनमात्र खाद्यान्न उत्पादन हुन्छ । पशुपालन र कृषिमा लागेको यहाँको जनशक्तिले उत्पादन गरेको वस्तुको बजारीकरण नहुनु र सेतो चामललाई मात्र खाद्यान्न देख्ने बनाइनुमा पनि कतै राज्य दोषी त छैन् यो बिषय सोचनीय रहेको छ ।

कर्णालीमा विसं. २०३३ सालबाट कर्णालीमा चामलको ढुवानी र खाद्य ढिपोहरुको स्थापना भएको पाइन्छ । विसं. २०३३ सालबाट कर्णालीमा खाद्यान्न ढुवानी गर्नथालेपछि सरकारी तबरबाट २०३३ सालबाट भोकमरी शुरु भयो भन्ने कुरा मान्नुपर्छ । त्यस यता सरकारले कर्णालीको भोकमरीलाई अन्त्य गर्न बाली सुधार तथा वातावरण सुधार परियोजनाहरु एवम् स्थानीय स्रोत साधनको व्यापक खोजी गरी कृषि अलाजा गैर—कृषि क्षेत्रको विस्तार किन गरेन वा किन गर्नु आवश्यक ठानेन । स्थानीय अर्थव्यवस्था र राष्ट्रिय अर्थव्यवस्थाको एकीकरण लागि साना, मझौला तथा सामाजिक सशक्तिकरण र पूर्वाधार विकासका कार्यक्रमहरु ल्याउन किन प्रयास गरिएन यसका सरकारी नीतिको नै कमजोरी रहेको छ ।

कुनै बेला ब्यापार, ब्यवसाय, पशुपालन र कृषि पेशा गरेर कर्णालीका मानिसहरु आत्मनिर्भर रहेको कुरा इतिहासका पानामा पढ्छौं । यहाँका मानिसले अहिले ब्यापार, ब्यवसाय, पशुपालन र कृषि पेशा गरेर आत्मनिर्भर बन्ने भन्दा पनि अरुको ‘मुख ताक्ने’ बानी विकास भएको छ र बसेको छ । त्यो हुनुमा राज्यले त्यसतर्फ प्रोहोत्साहित नगर्नु नै हो । अहिले पनि यस क्षेत्रमा स्याउ खेती आलु खेती जडिबुटीलगायतका प्रसस्तः कच्चा पदार्थ उत्पादन जस्ता आयमुलक आत्मनिर्भर बन्ने उपाय नसिकाएर केवल ‘खाद्यान्न वितरण भोकभरी’ जस्ता कुरा मात्र सिकाइएको छ । स्थानीय उत्पादनलाई बढवा दिनु, छेउमा नै बगिरहेको कर्णाली र भेरी नदीबाट सिंचाई गरेर कर्णालीलाई उर्बर भूमि साटो ‘सेतो चामलको खाजी गर्न’ बाध्य पारिएको छ ।

खडेरी अहिले मात्र परेको हैन । विगतका वर्षहरुमा पनि खडेरी पर्ने भोकमरी हुने गरेको थियो । त्यतिबेला पनि भोकमरी छ भनेर भन्ने त्यसका दीर्घकालीन रुपमा आत्मनिर्भर बन्न कुनै गतिलो योजना बनाइएको पाइदैँन । कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउन र भोकमरीको अन्त्य गर्न यहाँका स्थानीय उत्पादनमा ‘कोदो, फापर, चिनो, कागुनो, जौं, मकै, आलु, धानमा सिंचाई व्यवस्थापन र यसको उत्पादनको वद्धि नै हो । तर, सिंचाई स्थानीय उत्पादनको वृद्धि नगरी कसरी कर्णाली आत्मनिर्भर बनाउन सकिएला ? त्यसतर्फ कुनै किसिमको कदम चालिएको छैन ।

अहिले पनि कर्णाली बाहिरका मानिसलाई यो क्षेत्र केवल बिकटता, अभाव, दुःख, कष्ट, पीडा–व्यथाको आँखाले हर्ने गरेको छ । यहाँ रहेको स्थानिय स्रोत साधनको प्रयोगको उचित अवसर पाएको छैन् । त्यहाँको सभ्यता, सम्पन्नता र सबलता विषयहरु ओझेलमा पारिएका छन् । सम्भावनाहरुको खोजी नगरी कसरी कर्णालीलाई राज्यको मुलधारमा ल्याउन सकिएला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-28)

२७ माघ २०७६, सोमबार १४:३७
 

सम्बन्धित शीर्षक