ऋण तीर्न नसक्दा गाउँबाटै विस्थापित

कर्णालीपत्र संवाददाता २७ माघ २०७६, सोमबार ०९:१५

हेमन्त केसी
जाजरकोट । साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका –११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । १२५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजिविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनु परेको हो । आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टी गाउँका स्थानीयबासी दलित समुदायहरु साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन् । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयबासीहरु विस्थापित हुनु परेको दलबहादुर विकले भारतबाट टेलिफोनमा बताए । उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन् । साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाई छ । यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयबासी युवा अमृत विकले जानकारी दिए । उनले भने, ‘दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ, अरु कोही छैन ।’

उनले दिएको जानकारी अनुसार आधा दर्जन स्थानीयबासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निवाहका लागि भारत गएर विस्थापित भएका छन् । कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयबासीहरु साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन् ।

उनीहरुको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानीयले नाममा लिईसक्नुभएको छ । उहाँहरुको पसलबाट लिएको खाद्यान्न , लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिसहरु भारत पलायन भएका छन् । दलित बस्तीमा विद्युत पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन् । भेरी नगरपालिकाबाट सिफारिस लिनका लागि एक हजार लाग्ने भएपछि सो रकम नपाउँदा यहाँका दलित समुदायको घरमा बत्ती बल्न नसकेको हो । घरमा खाद्यान्न र कपडा खरिद गर्ने पैसा छैन, कसरी विद्युत बाल्नु स्थानीय अमृत विकले जानकारी दिए ।

गाउँ वारी, पारी सबैको घरमा झिलिमिली वत्ती बलेको छ तर हाम्रो गाउँमा विद्युत जोड्ने पैसा नहुँदा बत्ती बल्न सकेन के गर्नु स्थानीयवासी धर्म विकले भने, ‘बत्ती मुनीको अध्यारोमा बस्न बाध्य छौँ, घरमा विद्युत बाल्नका लागि अन्य सामग्री जोड्न ७ हजारभन्दा बढी लाग्छ, त्यति पैसा कसरी पाउनु र बत्ती बाल्नु ?’

स्थानीय अधिकारकर्मी पार्वती विक भन्छिन्, ‘पढ्ने वातावरण र आर्थिक नहुँदा दलित समुदायका मानिसहरु अहिलेको जमानामा पनि शिक्षा पाउनबाट बन्चित छन्, गरिवको चरम पीडामा छन् यो महा समस्याबाट मुक्ति दिलाउनका लागि सबैको ध्यान दिनप¥यो ।’

समस्यामा परेका दलित समुदायको कुरा लिएर केही सहयोग गर्न आग्रह गर्दै डिभिजन वनको प्रमुखको कार्यकक्षमा पुग्नुभएकी अधिकारकर्मी पार्वती विकले थपिन्, ‘दलित समुदायको स्तरमाथी उठाउने केही कार्यक्रम भए सहयोग गर्नुप¥यो सर ।’ जाजरकोटमा यो गाउँ मात्र होइन, अधिकांश दलित समुदायको अवस्था आर्थिक रुपमा समस्यामूलक नै रहेको पाईएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार, अनुगमन प्रतिवेदन २०७६ उल्लेख गरिएको प्रतिवेदनमा जाजरकोटमा कामी ३८,०८५, दमाई÷ढोली ६,८३१, सार्की ३,०५८ , बादी १,२१७ , गाइने १८७ , लोहार १३१ , धोबी १०१ र चमार/हरिजन/राम ७१ संख्या रहेको छ । दलित समुदायको साक्षर जनसंख्य समेत एक दम कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्ली खोलामै कुहियो तीन सय क्वीन्टल चामल

२७ माघ २०७६, सोमबार ०९:१५
चीनको बाटो प्रयोग गरेर स्थल मार्ग हुँदै आर्थिक वर्ष २०७५/०७६ आईपुग्नु पर्ने चार हजार क्वीन्टल चामलमध्ये पुस महिनासम्म टिप्परबाट सिमकोट ढुवानी भएको चामल तीन हजार सात सय क्वीन्टल चामल मात्रै जिल्ला पुगेपछि तीन सय क्वीन्टल चामलबीच बाटोमै कुहिएको कुरा थाहा भएको खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।