जाने हैन कालीकोट घुम्न ?

कर्णालीपत्र संवाददाता २५ माघ २०७६, शनिबार ०७:४८

केवी मसाल
कर्णाली प्रदेशमा पर्ने कालीकोट घुमघामका लागि रमणीय मानिन्छ । कालीकोट घुमघाम गर्दा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटनको अध्ययन अवलोकन मात्र होइन प्राकृतिक मनोरञ्जनमा समेत पर्यटकहरु रमाउँछन् । कालीकोट प्रकृतिसँग रम्न चाहने पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’ का रुपमा लिने गरिन्छ । पद यात्रामा रमाउने पर्यटकहरुका लागि त झनै कालीकोट रमणीय छ ।


कालीकोट जिल्लामा धेरै पर्यटकीयस्थल तीर्थाटनसँग जोडिएका छन् । चुलीमालिका, पुगमालिका, महावुअ शिव मन्दिर, पंचदेवल, तिला गुफा, रांचुली ढुगे बगंैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, पचाल झरना, फुगाड झरना, पचछहरी झरनासमेत कालीकोट घुमघाममा जाने पर्यटकहरु पुग्ने गर्दछन् । कालीकोटमा सेतो सिलाजित, कालो सिलाजित, बहुमूल्य भएका जटिबुटीहरु पनि पाइन्छन् । साना ताल–तलैया भएका पाटनहरु पनि कालीकोटमा छन् । ग्रामीण क्षेत्रमा झरना झरिरहेका भिर पखेराहरु देखिन्छन् भने स्याउ, आरु, ओखरलागायत फलफूल र मार्सी चामल र सिमीको स्वाद पनि कालीकोटमा घुमघाम गर्दा लिन सकिन्छ ।

कालीकोट पुगेपछि धेरै पर्यटकहरुको रोजाई पचाल झरना पुग्ने हुन्छ । कालीकोटकोे सदरमुकाम मान्मको पश्चिम उत्तर क्षेत्रमा पचाल झरना पर्दछ । पचाल झरना गाउपालिका वडा नं.३ खाद्रु गाँउमा पर्ने पचाल झरना नेपालकै अग्लो झरना मानिन्छ । पचाल झरना ४ सय १५ मिटर उचाईमा रहेको प्रमाणित भएको छ । नेपालको मात्र होइन पचाल झरना एसियाकै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली प्रदेशको प्रख्यात धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानी मिसिएपछि बनेको हो । अहिले गाउँपालिकाले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको छ ।

पचाल झरना पुग्ने पर्यटकहरुलाई अनगिन्ति प्राकृतिक सौन्दर्यताले लोभ्याउछ । पचाल झरनाबाट खसेको पानी करिब १० किलोमिटर तल पुगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौन्दर्यताले भरिपूर्ण यो झरना अवलोकन भ्रमणका लागि गन्तब्य बन्दैं गएको छ । झरनाको बीचमा ठूला–ठूला गुफाहरु पनि रहेका छन् । सशस्त्र द्वन्द्वको समयमा माओवादीहरुले यी गुफाहरुमा हातहतियारको भण्डारसमेत गरेका थिए । पचाल भरना पुग्न अहिले कालीकोटको मान्मदेखि बुढाबगरसम्म सडक यातायातको प्रयोग गरी कर्णाली नदीको लाफागाडको झोलुङ्गे पुल तरेपछि करिब ६ घन्टाको पैदल उकालो यात्रामा पचाल झरना पुग्न सकिन्छ ।

कालीकोटमा पछिल्लो समय माओवादी सशस्त्र द्वन्द्वको समयमा सबैभन्दा बढी क्षति भएको र भिडन्त भएको स्थललाई स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्न थालिएको छ । पिली खाँडाचक्र नगरपालिका–७ मा पर्दछ । खाँडाचक्र नगरपालिका जुम्ला, मुगु, हुम्ला जिल्लाको प्रवेशद्वारसमेत हो । खाँडाचक्र नगरपालिकाभित्र मान्म, पाँखा, दाँहा, वदालकोट र भर्तासमेत साविकका गाउँ विकासमा पर्दछन् । खाँडाचक्र नगरपालिकाभित्र पर्यटकहरुलाई घुमघाम गर्ने दर्जनौं स्थल पर्दछन् । ती मध्ये ऐतिहासिक कोट दरबार, ढुङ्गेबगैंचा, चुलिमालिका, युद्ध पर्यटकीयस्थल पिली र पञ्चदेवल मन्दिर रहेका छन् ।

ग्रामीण अथवा वाह्य पर्यटकहरु किन नहोस् विगतको जनयुद्धको बारेमा सबैको मानसपटलमा युद्धका कुरा खेलिरहहेको हुन्छ । युद्धको औपचारिक अन्त्यसँगै अहिले भने पिली शान्तियात्रामा छ । यतिखेर विगतको युद्धभूमिको बिरासत बोकेको पिली गाउँमा आजभोली पर्यटकहरु अनुसन्धान, घुमफिर र प्राकृतिक मनमोहक आनन्द लिनको लागि पुग्ने गर्दछन् । सशस्त्र युद्धका कारण ठूलो पीडा बेहोरेका पिली बासीले अहिले शान्तिको महशुस गरेका छन् । तर पनि आफन्तहरुको हत्या भएको देखेका महतबासीले अहिले पनि ती घटनाको न्यायिक निरुपण खोजेका छन् ।

तिनै पीडा भुल्न उनीहरुले पिली गाउँमा मृतकको नाम स्मारक बनाएका छन् । शान्तिको स्मारक निर्माण भएपछि अब पिली गाउँ युद्ध पर्यटन क्षेत्रका रुपमा विकास हुन थालेको छ । मगर बस्तीको बाहुल्य रहेको महतमा आन्तरिक एवम् बाह्य पर्यटकको पनि आकर्षण बढ्न थालेको छ । हरियाली क्षेत्र, अग्ला पहाड, रमणीय पाटन घुम्दंै रमाउन चाहने पर्यटकहरुका लागि नयाँ गन्तव्य भएको छ । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेष पर्यटकहरुका लागि आकर्षणका केन्द्र बनेका छन् ।

पिलीमा २०६२ साउन २३ मा राज्य र विद्रोही पक्षबीच भिडन्त भएको थियो । भिडन्तमा एक सय तीनजनाको ज्यान गएको थियो । जसमा तत्कालीन शाही सेनाका ६२, माओवादी सेनाका २८ र कर्णाली राजमार्ग निर्माणमा संलग्न १३ श्रमिकको मृत्यु भएको थियो । अहिले पिलीमा युद्ध संग्रहालय, शहीद स्मृति भवन, पिलीदेखि थापकेडाँडासम्म पुग्न सिडीको निर्माण भएको छ । पिलीमा यद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, यद्धमा प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउने योजना रहेको छ । पिलीमा पर्यटकहरुलाई खान बस्नको लागि होमस्टे सञ्चालनमा आएको छ ।

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने धेरैजसो पर्यटक पिलीमा गाडी रोकेर तत्कालीन माओवादी र शाही सेनाबीच भएको भिडन्तको चासो राख्दैं सोधीखोजी गर्ने गर्दछन् । तिलीमा लडाइँ भएका ठाउँको भग्नावशेष र लडाइँमा प्रयोग भएका बंकरको फोटो लिन्छन् । पिलीको कोप डाँडामा सेनाले माओवादीद्वारा मारिएका १३ श्रमिक र ६२ जना सेना गरी ७५ जनाको सम्झनामा स्मारक निर्माण गरेको छ ।

पिलीमा कर्णाली सामुदायिक होमस्टे शुरु भएपछि पर्यटकहरुले स्थानीय परिकार सिस्नुको तरकारी, पकौंडा, कोदोको रोटी, ढिँडो, मकैको रोटी, रातो चामलको भात समेतको स्वाद लिन पाएका छन् । पिलीबाट कतिपय पैदल यात्रामा रमाउन चाहने पर्यटकहरु चुलुमालिकामा पुग्दछन् । पिलीदेखि ३ घन्टाको पैदल यात्रामा चुलुमालिकामा पुगिन्छ । चुलिमालिकाको फेदीमा प्राकृतिक पन्ध्र दह पर्दछ । दह वरपर बुकी पाटन क्षेत्र रहेको छ । बुकी पाटन भेडाबाख्राको चरिचरन क्षेत्र पनि हो । त्यसको नजिकै लिङ्सैनीको मन्दिर रहेको छ । जुन मन्दिरमा प्रत्येक वर्ष जनै पुर्णिमाको दिन तीर्थाटनका पर्यटकहरुको मेला लाग्ने गर्दछ ।

कालीकोटको घुमघाममा सपनाको गाउँ पुग्नै पर्ने हुन्छ । दाहाँ सेरालाई अहिले कर्णालीकै नमूना गाउँको रुपमा विकास भएको छ । भौगोलिक हिसाबले विकट रहेको गाउँमा मानिसले गरेको सुन्दर कल्पनानै अहिले पर्यटकहरुका लागि घुमघाम गर्ने गनत्ब्य भएको छ सपनाको गाउँ । कुल ७० घरधुरी रहेको सेरा गाउँमा पर्यटक भित्र्याउन नमूनाका रुपमा विभिन्न आधार तय गरिएको छ । सपनाको गाउँका रुपमा विकास भएको सेरा गाउँमा घरआँगनमा फूल रोप्ने, वृक्षारोपण गर्ने, गाउँसम्म पुग्ने मोटरबाटो बनाउने काम गाउलेहरु मिलेर गर्ने गरेका छन् । गाउँमा छुवाछुत, छाउपडी, प्लास्टिक, धुवाँ, मदिरा, सार्वजनिक ठाउँमा धूम्रपान, डढेलो, घरेलु हिंसाजस्ता सबै कुराबाट गाउँलाई मुक्त गराएर पर्यटकहरुलाई आकर्षण गर्ने गरेका छन् ।

सपना गाउँ नजिकै रहेको सेरागाउँको सिरानमा नेपालको नक्साको आकृतिको ठूला ढुङ्गा रहेको छ । यो ढुङ्गाको अवलोकनसमेत पिली नजिकै सिमले गाडबाट गर्न सकिन्छ ।

कालीकोट जिल्लाकै ऐतिहासिक तथा पर्यटकीय हिसाबमा निकै महत्व बोकेको तिसेली गुफा पनि पर्यटकहरुका लागि गन्तब्य हुन थालेको छ । दाहाँको मोल्फा बजारदेखि २० मिनेट पैदल हिँडेपछि भेटिने तिला नदीको किनारमा रहेको तिसेली गुफा ४५ मिटरभन्दा धेरै भित्रसम्म रहेको छ । यो गुफालाई पनि माओवादीको द्वन्द्वसँग जोडिएको छ । पिलीमा भएको तत्कालीन माओवादी र शाही सेनाबीचको लडाइँको बेला केही माओवादी भागेर सुरक्षित स्थान खोज्दा त्यो गुफा फेला परेको थियो । गुफाभित्र हेर्दा भुँईमा शिवलिंङ्गजस्तै आकार देखिन्छ भने गुफामाथि गाईको जस्तै कचौडा र थुनबाट दूधको धारा जस्तै पानीका थोपाहरु चुहिने गर्दछ ।

सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला कर्णाली राजमार्ग निर्माण भएको छ । जुन सडकको लम्बाई २३३ किलोमिटर रहेको छ । कर्णाली राजमार्गले कालीकोटमा मान्म, भतार, फोइमहादेव, दाहा, पाखा, छाप्रे जुविथा, राचुली गाउँहरुलाई छोएको छ । कर्णाली राजमार्ग सुर्खेतको बाङ्गेशीमलबाट शुरु भई सोतखोला २४ किमी, बड्डीचौर २६ किमी, स्याउले ४० किमी, तल्लो डुङ्गेश्वर ६४ किमी, पादुका ८३ किमी, रामाघाट ९४ किमी, असाराघाट ९९ किमी, राकम ११८ किमी, मान्म १३० किमी पिली १७३ किमी, नाग्म १९५ किमी, तातोपानी २१७ किमी, जुम्ला खलंगा २३३ किमीमा पूरा हुन्छ । राजमार्ग भएपछि त्यस वरपर बजार विस्तार भएका छन् । पर्यटकहरुलाई कालीकोट जाँदा कर्णाली राजमार्गमा खान बस्न कुनै समस्या पर्दैन । तिमीले खोला, टुनिबगर, असारागाड, साइ, जाक्सी, राकम कर्णाली, खिड्कीज्युँला, दहीखोला, सेप्टी, तल्लो डुंगेश्वर, सुवाछेडा, पाली, पादुका खोला, रामागाड, पाल्तडा, डाबजस्ता सडक किनारमा रहेका गाउँहरु बजार विस्तार भएका छन् ।

कालीकोट प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि त्यसलाई नचिन्दा र चिनेर पनि त्यसको उपयोग गर्न नसक्दा पर्यटन प्रवद्र्धनमा पछाडि परेको छ ।

कालीकोटमा भएका पर्यटकीय सम्पदाको उचित संरक्षण तथा सम्वद्र्धन हुन सकेको छैन । यी कुराहरुको समयमै पहिचान भई त्यसको समुचित प्रयोग गर्न सकेको भए कालीकोटले पर्यटनको विकासमा राम्रो उन्नति गर्न सक्ने थियो । राज्यको नीति निर्माण तहमा रहेका ब्यक्तिको असक्षमता तथा अदूरदर्शिताको परिणाम अहिले कालीकोटको पर्यटन क्षेत्रले भोगिरहनु परेका छ । विकास भनेकै परिवर्तन हो । विकासको आधारभूत कुरा धेरै भए पनि पर्यटनको क्षेत्रमा यातायात मानिन्छ । कालीकोटमा यतिखेर बनाउन खोजेको पर्यटकीयस्थल भनेको ऐतिहासिकस्थल कोट, किल्ला, मठ मन्दिर, ताल, पोखरी हिमाल, झरना र जैविक विविधता नै हो । यी स्थलहरु मध्ये अधिकांश ठाउँमा पुग्न सडक यातायात छैन ।

कालीकोटको भूगोलमा दुइतिहाइ जमिन दुर्गम पहाडी क्षेत्रमा पर्दछ । जुनक्षेत्रमा सडक यातायात सञ्चालनका लागि सडक निर्माण गर्न कठिन छ । सडक निर्माण गर्दा हुने वातावरण अनुकुलको प्रवाहले हुने प्रकृतिको बिनाशले प्राकृतिक सम्पदा बिनाश भै राखेको छ । तर पनि सडक यातायातको सुविधा सबै गाउँ ठाउँले पाउन सकेको छैन । विश्वमा अहिले हाम्रोजस्तो पहाडी मुलुकमा रञ्जुमार्ग अर्थात् केवुलकारको शुरुवात भएको छ । पर्यटनको विकास गर्न अब कालीकोटले पनि केवुलकारको विकास गर्न पर्दछ । केवुलकारको सुविधा भएपछि कति पर्यटकहरु पुग्दा रहेछन् भन्ने उदाहरण मनकामना र चन्द्रागिरीबाट लिन सकिन्छ ।

पर्यटकहरु विभिन्न उद्देश्यले भ्रमणमा निस्किएका हुन्छन् । यसरी भ्रमणमा निस्कने पर्यटकको इच्छा अनुसार सेवा दिन सक्नुपर्दछ । पर्यटन क्षेत्रलाई सेवा सुविधाको क्षेत्रमा वृद्धि नगरी केवल नारा दिएर मात्र हुँदैन । पर्यटनको प्राथमिकता के हो भन्नेमा नै हामी अलमलमा परेका छौं । हाम्रा पर्यटकीय गन्तव्यहरुलाई योजनावद्ध विकास गर्न सकेका छैनौं । विकसित देशहरुले प्रकृतिप्रदत्त पर्यटकीय स्थलहरु नभएका स्थानहरुमा समेत मानव निर्मित पर्यटनस्थलको विकास गरेका छन् ।

ती देशमा आधुनिक सेवा र सुविधा पर्यटकहरुले पाउँछन् । सेवा उपभोग गरेवापत पर्यटकसँग विभिन्न शुल्क लिने गर्दछन् । जुन कारण त्यस्ता पर्यटकीयस्थलहरुमा धेरै पर्यटकहरु पुग्ने गर्दछन् ।
पर्यटन विकासका लागि पूर्वाधारको आवश्यकता पर्छ । अहिले सहरी क्षेत्रमा केही पूर्वाधार भए पनि ग्रामीण क्षेत्रमा पर्यटनको विकासका लागि पूर्वाधार छैनभन्दा पनि हुन्छ । सडक सञ्जालको पहुँच सबै ठाउँमा पुग्न सकेको छैन । पर्यटन विकासका लागि अहिले नेपालमा केवलकारको माग बढ्न थालेको छ । यतिखेर धेरै पहाडी जिल्लाका गाउँ र नगरपालिकाहरुले गाउँ ठाउँमा पर्यटक भित्र्याउन केवुलकारको योजनानै बनाउन थालेका छन् । यो पर्यटन विकासका लागि राम्रो पक्ष हो ।

साथमा के–के लैजाने ?

कालीकोटमा घुमफिर गर्न पर्यटकहरुलाई खानपिन र बसोबासमा कुनै समस्या आउँदैन । मोटरमार्ग भएका गाउँ ठाउमा खान, बस्न होटलहरु भेटिन्छन् । होटल नभएका गाउँमा पनि पेइङ गेष्टको रुपमा बास बस्न र खाना खान सकिन्छ । तर पनि साथमा स्लिपिङ ब्याग, रेनकोट, न्यानो कपडा, ज्याकेट, पञ्जा, टोपी, ड्राई फुड, चकलेट, लसुन, अदुवा, सातु आदि साथमा लैजान पर्दछ । भमिट कन्ट्रोल गर्ने औषधि, सिटामोल र अल्टिच्युड सिकनेसका औषधिहरु पनि बोकिराख्नु राम्रो हुन्छ । थर्मस लैजान नभुल्नुहोला ।

खर्च कति लाग्छ ?

दिनको प्रतिव्यक्ति दुई हजार । यति पैसाले तपाईलाई खान र बस्न पुग्छ । ठाँउ अनुसार गाँस र बासको मूल्य फरक पर्छ । उपहार र अन्य खर्चका लागि थप रकमको बन्दोबस्त गर्नुपर्छ । यात्रा समूहमा गर्नु राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-26)

२५ माघ २०७६, शनिबार ०७:४८