घोषणामै सीमित वीरेन्द्रनगरको ‘नो हर्न’

कर्णालीपत्र संवाददाता २४ माघ २०७६, शुक्रबार १०:०८

वसन्त भण्डारी
सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रमा जथाभावी हर्न बजाउँदा वातावरण प्रदूषण भएको भन्दै २०७६ जेठ १ गतेबाट हर्न निषेधित क्षेत्र घोषणा गरियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा घोषणा गरेका थिए । सडक सुरक्षा अभियानअन्तर्गत ट्राफिक प्रहरीले हर्न निषेध क्षेत्रहरु तोकेर विभिन्न क्षेत्रहरुमा साइन बोर्डहरु समेत राख्यो । अभियानकै रुपमा अघि सारेको ट्राफिक प्रहरीले विस्तारै बजारका सबै क्षेत्रहरु हर्न निषेधित बनाउने दाबी गरेको थियो । तर त्यसको ९ महिना पुग्दासमेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘नो हर्न कार्यक्रम’ घोषणा मै सीमित देखिएको छ ।

बढ्दो सवारी चापले जथाभावी हर्न बजाउँदा बजार क्षेत्र अस्तव्यस्त बन्दैं गएको छ । हर्न बजाउन निषेध गरिएको बजारमा तीब्र गतिमा आएका सवारी साधनले मनपरी हर्न बजाउँदा पैदल हिँड्न पनि निकै सास्ती खेप्नु परेको पैदल यात्रुको गुनासो छ । ‘बाटो काट्दा वा बाटोको छेउमा हिंड्दा ठूला सवारीले कान फुट्ने गरी हर्न बजाउँछन् ।’ जुम्लाबाट सुर्खेत बसेर अध्ययन गरिरहेका विकास बुढा क्षेत्रीले भने, ‘नो हर्न लेखेका बोर्ड मात्रै छन् । बोर्ड भएको ठाउँमा हर्न बजाउँदैनन् होभनेको त झनै चर्को गरी हर्न बजाउँछन् ।’

ट्राफिक प्रहरी कार्यालयले भने आफूसँग आवश्यक जनशक्ति र बजेट अभावका कारण ‘नो हर्न’ अभियान घोषणामै सीमित रहेको बताएको छ । हाल २७ जना कार्यरत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा ‘नो हर्न’को अभियानलाई कार्यान्वय गर्न कम्तिमा ५० जनाभन्दा बढी जनशक्ति आवश्यक पर्ने भएकाले पनि अभियान घोषणामै सीमित भएको निमित्त प्रमुख प्रहरी नायव निरीक्षक देवबहादुर बिष्टले जानकारी दिए ।

‘पर्याप्त बजेट र जनशक्ति नभएपछि कुनै पनि काम गर्न सकिदैन’ उनले भने, ‘नो हर्नको अभियानलाई सफल बनाउन ट्राफिक प्रहरी मात्रै नभएर अन्य सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्छ तर यहाँ त ट्राफिक प्रहरीको अभियान जस्तो मात्रै गरेर अन्य क्षेत्रले अभियानको अपनत्व नलिएका कारण घोषणा भएको ९ महिनामै असफल हुन पुग्यो ।’

एक क्षेत्रले मात्रै यो सम्भव नहुने उल्लेख गरेका बिष्टले बजार क्षेत्रका चोक र गल्लीमा सिसी क्यामरा, मापसे चेक गर्ने मेशिनलगायतका सामानहरु आवश्यक पर्ने जानकारी दिए । तर सुर्खेतको ट्राफिक प्रहरी कार्यालयसँग त्यस्ता कुनै उपकरण नभएकाले पनि घोषित अभियान सफल पार्न समस्या भएको हो ।

बढ्दो सवारी साधनले थप चुनौती

वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै सवारी साधनको संख्या बढ्दो छ । हरेक दिन बढ्दै गएका नयाँनयाँ सवारी साधनले ‘नो हर्न’ अभियानका बारेमा जानकारी नपाउने र तिनिहरुलाई प्रशिक्षित र नसियत दिन आवश्यक जनशक्ति र स्रोत अभावले घोषित ‘नो हर्न’ को अभियान सफल पार्न मुस्किल भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार हाल वीरेन्द्रनगरमा गुड्ने सवारी साधनको संख्या २० हजारभन्दा बढी छ । तीमध्ये मोटर साइकल १७ हजार ३ सय ५८, अटोरिक्सा एक हजार एक सय प्रहरीको रेकर्डमा दर्ता भएका छन् । त्यस्तै, ट्रक तथा टिप्पर ३ सय ३२,  ट्याक्टर ४ सय ७४, जिप तथा कार १ सय ९४, बस तथा मिनी बस ५ सय २८ र पावरटेलर एक सय ६५ वटा
गुडिरहेका छन् ।

यति धेरै संख्यामा रहेका सवारी सधानका चालक मध्ये हरेक व्यक्तिको सोच फरक भएकाले पनि वीरेन्द्रनगरको ‘नो हर्न’ अभियान सफल पार्न मुस्किल भएको हो । ‘हरेक दिन थपिने सवारी साधनका नयाँ चालकलाई जानकारी दिन सकिएको छैन ।’ ट्राफिक प्रहरी कर्णाली प्रदेश कार्यालयका प्रवक्ता मेगराज चौरासीयाले भने, ‘जबसम्म सवारी चालकको सोचमा परिवर्तन आउँदैन तबसम्म हामीले घोषणा गरेका अभियानले सफलता पाउन मुस्किल छ ।’ ‘जिल्ला ट्राफिक प्रहरीसँगको सहकार्यमा हामीहरुले बेलाबेलामा बोर्डहरु राख्ने, जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छौं ।’ उलने भने, ‘अधिकांश चालकलाई नो हर्नको बारेमा थाहा छ । तर पालना गर्दैनन् ।’

विरोधका कार्यक्रमले समस्या

बेला बेलामा हुने आन्दोलन र विरोधका कार्यक्रमले पनि ‘नो हर्न’ अभियान सफल पार्न समस्या भएको छ । जनशक्ति र आर्थिक अभावकै घोषणा गरिएको अभियानमा बनाएको संरचना पनि विरोधका कार्यक्रमले भत्काई दिन्छन्् ।’ प्रवक्ता चौरासियाले भने, ‘यस्ता संरचना बनाई राख्न हामीसँग सधै बजेट हुँदैन ।’ यही माघ १४ गते मंगलबार टिप्परले किच्दा एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनले बजार क्षेत्रमा राखिएका अधिकांश क्षेत्रका ट्राफिक साइनहरु भाँचेको उल्लेख गरेका चौरासियाले सबैले सचेत र सजग नभएसम्म यो अभियान सफल नहुने तर्क गरे । उनकाअनुसार केही दिन अघि भएको आन्दोलनको क्रममा वीरेन्द्रनगरका २५ देखि ३० वटा बोर्डहरु क्षति भएका छन् । विभिन्न क्षेत्रसँगगको सहकार्यमा बनाएका भौतिक संरचनाहरु आन्दोलन तथा विरोधकर्ताले भत्काइदिँदा थप समस्या पर्ने गरेको छ ।

जेब्रा क्रसिङ प्रयोग बिहिन

बजार क्षेत्र निर्माण गरिएको जेब्रा क्रसिङ प्रयोग बिहिन भएका छन् । बजार क्षेत्रमा हिंड्ने पैदल यात्रुहरुले मन लाग्दी बाटो काटेर हिड्न थालेपछि जेब्राक्रसिङ प्रयोगबिहिन बनेका छन् । कतिपय पैदल यात्रुहरुले जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्ने थाहा नै छैन ।

भने कतिपयले जानाजान यस्तो गरिरहेको तर्क ट्राफिक प्रहरी कार्यालयले सुर्खेतको छ । सडकमा पर्याप्त मात्रामा जेब्रा क्रसिङ नहुनु, समय समयमा मेटिएर जानु जस्ता कारणले पनि पैदल यात्रुहरुले जेब्रा क्रसिङ प्रयोग गर्न छाडेको प्रवक्ता चौरासियाको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अँझै शुरु भएन विपिएच दोस्रो वर्षको पढाई

२४ माघ २०७६, शुक्रबार १०:०८
प्रतिष्ठानले पढाई शुरु नगर्दा गएको पुस ११ गतेबाट जाडो विदा दिएर माघ ११ गतेबाट कक्षा सञ्चालन गर्ने भनिएको भए पनि विपिएच दोस्रोे वर्षको पढाइ हालसम्म पनि शुरु भएको छैन् ।