प्रमाण पेश गर्न अदालतको आदेश

कर्णालीपत्र संवाददाता २३ माघ २०७६, बिहीबार १०:१४

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतस्थित सिटी बसपार्क व्यवस्थापनको विषयमा उच्च अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाकालाई आवश्यक प्रमाण पेश गर्न आदेश दिएको छ । उच्च अदालत सुर्खेतका न्यायधिस नारायणप्रसाद श्रेष्ठ र कामू न्यायधिस विनोद शर्माको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

बसपार्कको विषयमा यातायात व्यवसायीले उच्च अदालत सुर्खेतमा दायर गरेको रिट निवेदनमाथि उत्प्रेरक आदेश जारी गर्दै उच्च अदालतले सिटी बसपार्क सञ्चालन सम्बन्धमा भएका सबै कागजात र प्रमाण मागेको हो । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि बसपार्कमा पहिलादेखि नै विभिन्न व्यवसाय गरिरहेका ५४ व्यवसायीहरु अदालत पुगेका थिए । नगरपालिकाले पूर्वसहमतिको पालना नगरेको आरोप लगाउँदै बोलपत्र प्रक्रिया रद्द गर्न उनीहरुले रिट दायर गरेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी वीरेन्द्रबहादुर मल्लले जानाकारी दिए ।

उनका अनुसार बसपार्क सञ्चालनका विषयमा दुवै पक्षको बहसपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थापन प्रक्रिया तत्कालअघि नबढाउन आदेश जारी गरेको छ । पुरानो बसपार्कमा व्यवसाय गरिरहेका निवदेकहरुले नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई विपक्षी बनाई प्रक्रिया तत्काल रोक्न माग गर्दै गएको पुस १३ गते रिट दायर गरेका थिए ।

विसं २०६८ असार ३ गते नगरपालिका र व्यवसायीसहितको सर्वपक्षीय बैठकले पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई सिटी बसपार्क निर्माणपश्चात् व्यापार व्यवसाय गर्न दिने सहमति भएको थियो । उक्त सहमतिपत्र र बसपार्क निर्माणमा आर्थिक साझेदारीको विषयमा भएको सहमति कार्यान्वयन नभएपछि आफूहरु कानूनी उपचारका लागि अदालत पुगेको व्यवसायीहरुले बताएका छन् । नगरपालिकाद्वारा सूचीकृत व्यवसायीलाई प्राथमिकता दिदैं आन्तरिक प्रतिस्पर्धाबाटै बोलपत्र आह्वान गर्नुपर्ने माग व्यवसायीले राख्दै आएका थिए । गएको असोज ११ गते नगर कार्यपालिकाको बैठकले सिटी बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधी स्वीकृत गर्दै सोही अनुसारको प्रक्रिया चाल्न मंसिर १६ गते बोलपत्र आह्वान गरेको थियो ।

पुस २० गते खोलिएका बोलपत्रमध्ये नगरपालिकाले बढिबढाउँका आधारमा मासिक ३१ लाख राजश्व तिर्ने फर्मलाई सिटी बसपार्क सञ्चालनका लागि स्वीकृत गरेको थियो । बसपार्क सञ्चालन गर्नेले ५४ सटर, ग्यारेज, रेष्टुरेण्ट भाडाका साथै प्रवेश र पार्किङलगायतका शुल्क उठाउन पाउने अनुमति नगरपालिकाले दिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानाकारी दिए । प्रक्रियामा आएका पुराना व्यवसायीलाई प्राथमिकता दिने मात्रै निर्णय भएको उल्लेख गरेका ढकालले सर्वदलीय बैठकमा भएको निर्णय बमोजिम पुराना व्यवसायीलाई प्राथमिकता दिन्छौँ, तर ऐन–नियमअनुसार बोलपत्र प्रक्रियामा जानुको विकल्प छैन’, उनले भने, ‘नगर विकास कोषको करिब ७ करोड ऋणको सावाँ र ब्याज बुझाउनुपर्ने बाध्यता छ, पुरानै राजश्वमा भाडा दिन सकिँदैन ।’ करिब चार हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १ सय २० वटा बस अट्न सक्ने क्षमता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-24)

२३ माघ २०७६, बिहीबार १०:१४