गुठीको जग्गामा व्यक्तिको रजाई

कर्णालीपत्र संवाददाता २३ माघ २०७६, बिहीबार ०९:४८

जुम्ला । चन्दननाथ गुठीको जग्गाा अतिक्रमण बढ्दै गएको छ । जुम्लाका पहुँचवालालेनै ठूलो मात्रामा गुठिको जग्गा अतिक्रमण गरिसकेका छन् । गुठिको लालपुर्जामा रहेकै जग्गामा अवैधरुपमा चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् ।

जुम्ला, बाजुरा, हुम्ला कालीकोट र मुगु पाँच जिल्लामा रहेको चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जग्गा थियो । तर हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिर नजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण गुठीसँग छ । प्रमाण अनुसार गुठीसँग हाल ९७ रोपनी जगा मात्रै रहेको देखिन्छ । बाँकी करिब १ सय ८ रोपनी जग्गा विभिन्न व्यक्ति र समूहले अतिक्रमण गरेको खुलासा भएको छ । विभिन्न क्षेत्रमा आवद्ध भएको जिल्लाका पहुँचवाला व्यक्तिहरूलेनै गुठिको जग्गालाई केही समय भाडामा लिने र पछि भाडामा लिएकै आधारमा अतिक्रमण गर्दै लैजाने गर्दा अनपेक्षित रुपमा गुठीको जग्गा मासिँदै गएको गुठीका उपाध्यक्ष दया खत्रीको निस्कर्ष छ । उनी भन्छन्, ‘जग्गा फिर्ता ल्याउन गुठीको तर्फबाट मुद्दा मामिला समेत गरियो । तर त्यसले डाँडाकोटको जग्गा मात्रै फिर्ता हुने प्रक्रियामा रहेको छ ।’

गुठीका पूर्वअध्यक्ष गौरीनन्द आचार्य ठूलो परिमाणको जग्गा व्यक्तिले नामकरण गरिसकेको बताउँछन् । उनी भन्छन्, ‘२०५८ साल अघि नै गुठीको नाममा भएको जग्गाको अतिक्रमण बढेको देखिन्छ । बिडम्बना अहिले ती अतिक्रमित जग्गा कसले ग¥यो भन्ने विवरण भएका मिसिल गूठीसँग मात्रै होइन यसका तालुकी कार्यालय जिल्ला मातपोत र नापीसँग समेत छैनन् ।’ ‘नापीका बेला आफ्नो नाममा गरेका रहेछन् धेरैपछि रहस्य खुल्यो ।’ उनले थपे, ‘गुठीको नामको हडपिएको जग्गाको खोजि गर्न जति नै ताकेता गरे पनि खोजी कार्यले सफलता हात पार्न सकिएन ।’

गुठी सञ्चालक समितिका सचिवसमेत रहेका रमानन्द आचार्यका अनुसार कुडारीमा १ लाख १९ हजार ४ सय ५२, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कात्तिक स्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गकिलोमिटर जग्गा गुठीको नाममा छ ।

कसले गरे अतिक्रमण ?

परम्परागत बाइसे चौबिसे राज्यकै पालादेखिको आस्थाको धरोहर चन्दननाथ र भैरवनाथ गुठीको जग्गा जिल्लाका टाठाबाठाकै मिलेमतोमा चरम अतिक्रमण भएको तथ्य सार्वजनिक भएको छ । गुठीको सञ्चालक समिति र जिल्लाका विभिन्न राजनीतिक पहुँचका आधारमा धार्मिक आस्थाको धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिरको जग्गा अतिक्रमणमा परेको हो ।
चन्दननाथ नगरपालिका–१० का महाशंकर देवकोटाले नयाँ बसपार्क नजिक रहेको गुठीको चार रोपनी जग्गा ब्यक्तिगत नाममा नामसारी गरे । साहित्य र लेखन कार्यमा रुची भएका देवकोटा गुठीकै विभिन्न संरचनामा आवद्ध थिए ।

त्यस्तै चन्दननाथ–३ डाँडाकोट जैसिंह सार्कीले स्थानीय एक व्यक्तिलाई नेपाली सेनाको ब्यारेक नजिक रहेको गुठीको खेतियोग्य दुई रोपनी जग्गा बेचे । गुठीका पदाधिकारीसँग राम्रो सम्बन्ध भएका सार्कीले शुरुमा भोक चलन गर्दै पछि त्यसैलाई आफू बस्ने र नेपाली सेनालाई समेत सोही जग्गा बिक्री गर्ने आधार बनाए । देवकोटा र सार्की मात्रै होइनन् चन्दननाथ गुठीकै जग्गा अतिक्रण गरेर चन्दननाथ नगरपालिका–५ को खलंगाको बीच बजारका प्रविण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारीसहितको घर बनाएर बसे ।

कर्णाली क्षेत्रका जिल्लाका विभिन्न ठाँउमा रहेको अरबौ मूल्य पर्ने गुठीको जग्गामा निश्चित व्यक्ति र गुटको मात्रै रजाई हुँदै गएको हो । गुठिको नाममा दर्ता भएको कुल २ सय ५ रोपनी जग्गाा मध्ये १ सय ८ रोपनी जग्गा अतिक्रमणमा परेर विभिन्न व्यक्तिले आफ्नो नाममै नामसारी गरिसकेको स्वयम् गुठीकै पदाधिकारीले स्वीकार्ने गरेका छन् ।

सेराज्युलाको छेउमा घर लगाएको गुठीको जग्गा आफ्नो भन्दै जुम्लाका नव गिरीले मुद्दा गरेपछि जिल्ला अदालतले उनलाई जितायो, तर उच्च अदालतले भने गुठीलाई जिताएपछि विवाद कायमै छ । सेराज्युलो नजिकै वीर श्रेष्ठ र विष्णु श्रेष्ठको घरसमेत गुठीकै जग्गाभित्र पर्ने स्रोतले कर्णालीपत्रलाई जानकारी दियो । गुठीको जग्गामै कालि दमाईको नाममा जनता आवास कार्यक्रमबाट पाएको घर निर्माण भएको छ । गुठीको जग्गा अतिक्रमण गरेर खेलकुद विकास समितिको कार्यालय बनेको छ । जुन अहिले समितिकै नाममा नामसारी भैसक्यो । त्यस्तै जुम्ला उद्योग वाणिज्य संघ, कर्णाली खस संग्रहालय र नगरपालिकाद्वारा निर्माण गरिएको पार्किङस्थल र जिल्ला अदालतको भवन निर्माण गरिएको स्थानसमेत गुठीकै नामको जग्गा हो ।

छानबिन भयो कारबाही भएन

गुठीको जग्गामा तीब्र अतिक्रमण भएपछि २०७१ सालमा कालीबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन गरियो । समितिले २५ जेठ ०७१ मा गुठी व्यवस्थापन समितिलाई बुझाएको प्रतिवेदनअनुसार गज्र्याङकोट र गुठीचौरमा ३ हजार ५ सय ७३ वर्गमिटर जग्गा अतिक्रमण गरेर ५ जनाले घर बनाएको विषय उल्लेख छ । प्रतिवेदनमा दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंश बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले गुठीको जग्गा हो भन्ने थाहा हुँदाहुँदै पनि घर बनाएको खुलाइएको छ । त्यस्तै, चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा अतिक्रमण भएको छ । गुठीकै जग्गामा चन्दननाथ–३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो बनाएको तत्थ्यलाई प्रतिवेदनले प्रष्टै रुपमा किटानी गरेको छ । गुठीकै जग्गा अतिक्रमण गरेर बसुन्धरा नगरकोटी, तिल सुनार र दत्त सुनारले टहरासमेत बनाएका छन् । यी सबै मापदण्ड विपरीतका संरचना भएको समितिले उल्लेख गरेको छ । तर प्रतिवेदनले किटानी गरेको अतिक्रमित गुठीको जग्गा फिर्ता गर्ने बारेमा अहिलेसम्म कुनै पहल भएको छैन । यसबाट प्राप्त हुने कर पनि कहाँ जान्छ के हुन्छ भन्नेमा कुनै लेखा जोखा छैनन् । जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ । कम समयका लागि गुठीको जग्गा भाडामा लिने तर धेरै समयसम्म भोक चलन गर्ने, गुठीकै जग्गामा स्थायी संरचना निर्माण गर्ने र पछि विस्तारै त्यही जग्गा हडप्ने प्रवृतिका कारण गुठीको नाममा रहेको जग्गा अतिक्रमणमा पर्दै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमाण पेश गर्न अदालतको आदेश

२३ माघ २०७६, बिहीबार ०९:४८
उच्च अदालत सुर्खेतका न्यायधिस नारायणप्रसाद श्रेष्ठ र कामू न्यायधिस विनोद शर्माको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो ।