गाउँपालिकाका अध्यक्ष अख्तियारको नियन्त्रणमा

कर्णालीपत्र संवाददाता ११ माघ २०७६, शनिबार ११:३०

रमेश रावल
सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई आठ लाख घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिमार्फत भएको कामवापत घुस रकम लिदंै गर्दा अख्तियारको टोलीले केसीलाई सुर्खेतबाट नियन्त्रणमा लिएको हो । उनीसँगै अर्का चन्द्रबहादुर बस्नेतलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । बस्नेत गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् हुन् ।

सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा रकम लिदैँ गरेको अवस्थामा अध्यक्ष केसी र बस्नेतलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले बताए । दिउँसो २ बजे केसी र बस्नेतलाई स्थानीय कटकुवा स्वास्थ्य चौकी नजिकैबाट रकम लिदैँ गर्दा नियन्त्रणमा लिइएको प्रवक्ता सापकोटाको भनाई छ । जुनीचाँदे गाउँपालिका–५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात रकम भुक्तानीको लागि घुस माग गरेको उजुरी प्राप्त भएको र घुस रकम लिदंै गर्दा पक्राउ गरिएको आयोगको कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए । ‘घुसवापतको रकम लिदैं गरेको अवस्थामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरिएको र दुबै जना माथि थप अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए । केसी तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई दुई हजार सात सय ७० मत ल्याएर गाँउपालिकाको अध्यक्षमा विजयी भएका थिए । उनी हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटी सदस्यसमेत हुन । केसीसँगै गाँउपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पक्राउ पर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । विकास निर्माण अनुगमनको संयोजक उपाध्यक्ष रहने व्यवस्था छ । उपभोक्ता समितिसँग रकम मोलतोलाईमा उपाध्यक्षको श्रीमान् संलग्न रहनुले घटनामा उपाध्यक्ष आचार्यको पनि संलग्नताको आशंका गरिएको छ । तर, अख्तियार श्रोतले उपाध्यक्षको संलग्नता अनुसन्धानपछि मात्र थाहा हुने भएकोले अहिले नै यसै भन्न नसकिने
जनाएको छ ।

यसरी पक्राउ परे केसी

कर्णाली प्रदेश परिषद्को बैठक भाग लिन सुर्खेत आएका अध्यक्ष केसी बैठक नसकिदैं बिहीवार दिउँसो कार्यक्रम स्थलबाट निस्कें । उपभोक्ता समितिका पदाधिकारीसँग उनले कटकुवा स्वास्थ्य चौकी नजिकै रहेको चौरमा बसेर रकमको मोलतोल गरे । समितिका पदाधिकारीले आफूहरूले रकम दिन लागेको पहिले नै अख्तियारको टोलीलाई जानकारी गराइसकेका थिए । जब, उपभोक्ता समितिका पदाधिकारीले पूर्व सहमति अनुसार रकम दिन लागे सोही समयमा अख्तियारको टोलीले केसी र बस्नेतलाई नियन्त्रणमा लियो ।

भ्रष्टाचार हटाउँछु भन्थे उनी
आठ लाख रूपैयाँ घुससहित समातिएका केसीले २०७५ साउनमा जाजरकोटमा पत्रकार सम्मेलन गरेर गाउँपालिकालाई भ्रष्टचारमुक्त बनाउने अभियानमा लागेको बताएका थिए ।

‘गाउँपालिका अध्यक्षको हैसियतले जुनिचाँदेलाई भ्रष्टाचार मुक्त बनाउने योजनाका साथ योजनाको प्रोफाइल बनाउँदैछौं, नीतिगत काम गर्दैछौं । स्थानीय सरकार सञ्चालनका केही नीति ऐनहरू पारित गरेका छौं’, उनले भनेका थिए,

‘नयाँ संरचनामा जनप्रतिनिधिले निर्वाह गर्ने जनपक्षीय कार्यशैली र कार्यक्रमले जनतामा परिवर्तनको अनुभुति हुनेछ ।’ लगाउँपालिकामा भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइएको दावी गर्ने गरेका केसी शुक्रबार आफैँ भ्रष्टाचारमा मुछिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतसँगको सम्बन्ध चिसियो

११ माघ २०७६, शनिबार ११:३०
गृहमन्त्री रामहादुर थापा ‘बादल’ले पछिल्लो समय छिमेकी मूलुक भारतसँग नेपालको सम्बन्ध चिसिएको बताएका छन । कर्णाली प्रदेश स्तरिय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री थापाले नयाँ नक्सामा कालापानीको लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशमा देखाएको विषयमा भारतसँग नेपालको कुटनीतिक सम्बन्ध चिसिएको उल्लेख गरे ।