देउतीबज्यैको गुरुयोजना अलपत्र

कर्णालीपत्र संवाददाता ७ माघ २०७६, मंगलवार ११:२२

सुर्खेत । आवश्यक बजेट अभावमा देउतीबज्यै मन्दिरको गुरुयोजना निर्माण अलपत्र परेको छ । देउतीबज्यै पूर्वाधार विकास समितिले २०७४ चैत्र मा विभिन्न २२ वटा पूर्वाधार निर्माण गर्ने गरी गुरुयोजना तयार गरेपनि मन्दिर निर्माणको लागि आवश्यक बजेट जुटाउन नसकेपछि गुरुयोजना अलपत्र परेको हो । मन्दिरको आन्तरिक कोषमा प्रर्याप्त बजेट नभएपछि २२ वटा पूर्वाधारका काम मध्ये हाल ४ वटाको मात्रै निर्माण कार्य अघि बढेको छ । अन्य योजनाको काम शुरुवात हुन नसकेको मन्दिरको पूर्वाधार निर्माण समितिले जनाएको छ ।

गुरुयोजनामा समेटिएका यज्ञशाला, शिव मन्दिर, शौचालय, धारा, पानी ट्यांकी निर्माणको काम अघि बढेपनि अन्य योजनाका कामलाई शुरु गर्न नसकिएको समितिका अध्यक्ष मुकुन्दश्याम गिरीले जानकारी दिए । कूल ५ करोड लागत लाग्ने अनुमान गरिएको गुरुयोजनामा देउती बज्यै मन्दिरको मूलमुर्ति स्थापना गर्ने, गणेश मन्दिर, राधाकृष्ण मन्दिर, सनी मन्दिर, भैरव मन्दिर, हनुमान मन्दिर, स्टेज, सत्संग भवन, धर्मशाला, सुरक्षा तथा सचिवालय, साना सवारी साधन पार्किङ, साना सवारी प्रवेश, मार्वल फ्लोरिङ, फुल बगैँचा, स्नान गृह लगायतका पूर्वाधार निर्माण गर्ने कुरा उल्लेख थियो । समितिलाई हालसम्म अन्य कुनै निकायबाट पनि सहयोग नभएकाले गुरु योजनाको कार्यान्वयन हुन नसकेको हो । पूर्वाधार निर्माण समितिले २०७५ वैशाख ७ गते देखि १५ सम्म आयोजना गरेको धनधान्याञ्चल विराट महायज्ञ लगाएर आवश्यक रकम संकलन गर्ने लक्ष्य राखिएको थियो । तर उक्त महायज्ञबाट ३२ लाख ७१ हजार २ सय ४६ रुपैयाँ नगद संकलन र ५३ लाख ५९ हजार १ सय ५१ रुपैयाँको संरचना प्रतिवद्धता भएको थियो ।
समितिका कोषाध्यक्ष सुरजप्रसाद आचार्यले दिएको जानकारी अनुसार उक्त रकममध्ये केहि रकमले मन्दिर क्षेत्र वरिपरीको रंगरोगन, मन्दिरको जिर्णोउद्धार, पूजाआजाको कामलाई व्यवस्थित गर्ने काममा खर्च गरिएको छ । उनका अनुसार मन्दिरको संरचना प्रतिवद्धता गरिएका आधारमा पनि मन्दिर निर्माणको काम अघि बढाउन

लागिएको हो । ‘महायज्ञमा नगदभन्दा पनि प्रतिवद्धताहरु धेरै आएका हुन ।’ उनले भने, ‘केहिले आफ्नो प्रतिवद्धता अनुसार शुुरु गरिसके भने केहिको आउने
क्रममा छ ।’

समितिका अध्यक्ष गिरीले गुरुयोजना निर्माण गरे लगत्तै प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा अनुमानित लागतबारे जानकारी गराए पनि हालसम्म कुनै सहयोग नभएको जानकारी दिए । उनका अनुसार गत वर्ष नगरपालिकाले पूर्वाधार निर्माणको लागि १० लाख बजेट विनियोजन गरेपनि अन्तिममा उक्त रकम अर्कै ठाउँमा प्रयोग भएको थियो । गिरीले थपे, ‘सबै व्यक्तिगत लगानीबाट मात्रै पुरै संरचना बनाउन सकिदँैन । हामीले त एउटा अभियानको शुरुवात मात्र गरेका हौँ । यसमा सबैले निःस्वार्थ भावनाका साथ लाग्नुपर्छ ।’ उनले चालु आवमा प्रदेश सरकारबाट ४० लाख र संघीय सरकारबाट ६० लाख बजेट आएको सुनेपनि आधिकारिक रुपमा आफुसँग कुनै जानकारी नआएको हो ।

छानबिन समिति गठन

मन्दिरमा भेटी र रसिदबाट उठ्ने रकममा भएको अनियमितता भएका खबरका आधारमा वीरेन्द्रनगर नगरपालिकाले मन्दिरमा भएको अनियमितताको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । एकसाता भित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति गठन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए । समितिले माघ ४ गते शनिबारदेखि आउँदो शनिबारसम्म छानबिन गरेर प्रतिवेदन बुझाउने समयसीमा तय गरिएको जानकारी ढकालले दिए ।

नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलको संयोजकत्वमा गठन गरिएको समितिमा नगरपालिका राजस्व शाखा प्रमुख सन्तोष गौतम, आन्तरिक लेखा परिक्षण शाखाका अधिकृत खेमराज शर्मा रहेका छन् । यसअघि माघ एक गते कर्णालीपत्रले मन्दिरमा आर्थिक अनियमितता भएको भन्दै कर्णालीपत्रमा समाचार प्रकाशन भएको थियो । समितिले मन्दिर नगरपालिकाको मातहतमा आएदेखि हालसम्मको खर्च, आम्दानी विवरण सार्वजनिक गर्ने दावी प्रमुख प्रशासकिय अधिकृत ढकालले गरे । मन्दिरको नियमित आम्दानीको रसिद नगरपालिकाको खातामा इन्ट्रि गरेर मात्रै बिल काट्ने तयारी भइरहेको समेत बताए । माहालेखा परिक्षकले तोकिएको नयाँ बिलहरु छापाखानामा छाप्न दिइसकिएको र छापिसकेपछि नयाँ बिल प्रयोग गरिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्यौलमै लगानी सम्मेलन

७ माघ २०७६, मंगलवार ११:२२
तर पुस महिना गएर माघको दोस्रो साता लाग्दासमेत लगानी सम्मेलनको आयोजना भन्दा यसका बारेमा सरकारले छलफल समेत शुुरू गर्न नसकेपछि बजेटमा व्यवस्था भएको उक्त लगानी सम्मेलन अन्योल बन्दै गएको छ ।