‘पाप पखाल्न आमाबुवाको पुजा गरौं’

कर्णालीपत्र संवाददाता ५ माघ २०७६, आईतवार १५:००

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुजा गरेर पाप पखाल्नुभन्दा घरमा भएका आमाबुवाको पुजा गर्न सुझाव दिएका छन । शनिबार कर्णाली प्रदेशलाई देशकै पहिलो सहयोगापेक्षी सडक मानव मुक्त भोषणा कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो सुझाव दिएका हुन ।

‘हामी दुनियाँ भरको पाप गर्छौ । बुवाआमाभन्दा उनीहरूले कमाएको सम्पत्तिको माया गर्छौ । आमाबुवाकै नाममा भएको अंश हडप्न अदालतमा मुद्दा दायर गरेर थप आफ्नो नाममा लिने काम गर्छौ,’ उनले भने, ‘विदेशमा ट्रस्ट खोलिन्छ । छोराछोरीले आमाबुवाको शून्य लगानीमा नै काम शुरू गर्नुपर्छ तर हाम्रोमा कसलाई कसरी लुट्न, ठग्न सकिन्छ भन्नेमा मात्रै ध्यान जाने गरेको छ । यसले हामी कसैलाई कहीं पु¥याउँदैनौ ।’

हरेक व्यक्तिले जन्म किन लिएको भन्ने कुरा बुझ्न जरुरी रहेको उल्लेख गरेका मुख्यमन्त्री शाहीले सबैभन्दा पहिले हामीले हाम्रो जन्म केका लागि भएको हो बुझेर व्यवहार गर्नुपर्नेमा जोड दिए । घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहीले भने, ‘लुट्न, ठग्न, चोर्न, ढाँट्न, भ्रष्टाचार गर्न अथवा अरुबाट लिनकै लागि भन्दा हाम्रो जन्म अरुलाई लागि पनि भएको हो ।’ सबैले निःस्वार्थ रुपमा दिने कामको शुरूवात गर्न आग्रह गर्दै उनले चोर, ठग, भ्रष्टाचारी, फटाहाको बीचमा बसेर दश वर्षसम्म पनि कर्णालीमा समृद्धि नआउने ठोकुवा गरे । वर्तमान अवस्थाबाटै अघि दशौ वर्षसम्म पनि हामी केही सक्दैनौ,’ उनले भने, ‘सकरात्मक र केही गर्ने सोचले अघि बढे कर्णालीलाई १० वर्षमा कायापलट गर्न सक्छौं ।’

केहि दिन पहिले बृद्धबृद्धा उपस्थित भएको कार्यक्रममा आफूजाँदा उहाँहरुले भोली तिमि पनि बुढो हुन्छौँ । परिस्थितीले तिमि पनि असहाय बन्न सक्छौं । अहिले गरेको काम भोली तिम्रै लागि पनि हो । भन्ने प्रसंगले आफूलाई निकै संवेदनशिल बनाएको उल्लेख गरेका मुख्यमन्त्री शाहीले विविध कारणवश प्रदेशमा वेसहारा भई सडकमा जिवनयापन गरिरहेका व्यक्तिहरुको व्यवस्थापन गर्न र उनीहरूका आधारभूत आवश्यकता परिपूर्तीको योजनासहित प्रदेश सरकारले गैरसरकारी संस्थासँगको सहकार्यमा अभियानको थालनी गरेको बताए । ‘हामीले सकारात्मक सोचको विकास गरौं । सबैलाई सहयोग गरौं । सबैलाई माया गरौं ।’ शाहीले थपे, ‘कर्णालीका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिकाले अब सडकमा बस्नुपर्ने दिनको अन्त्य भएको दावी गरे ।

कार्यक्रमलाई संवधोन गर्दै सामाजिक विकास मन्त्री दल रावलले अभियानले नागरिकको मौलिक अधिकार प्राप्तीमा सघाउँ पुगेको बताए । ‘कर्णालीमा अव कोही सहयोगापेक्षी सडकमानव भेटिने छैनन् ।’ उनले भने, ‘आजबाट वेसहारा भई सडकमा जिवन जिउनु पर्ने वाध्यताको अन्त्य भएको छ ।’

घोषणा कार्यक्रममा मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले संयुक्त रुपमा घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । सहयोगापेक्षी सडक मानव मुक्त घोषणालाई प्रदेशमा कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीलाई घोषणा–पत्र हस्तान्तरण गरे ।

५० जनालाई आश्रममा

वीरेन्द्रनगर–१२ मा सञ्चालनमा रहेको मानव सेवा आश्रममा हाल ५० जना सहयोगापेक्षी सडक मानव आश्रय लिईरहेका छन् । सडकमा जिवन विताइरहेको अवस्थामा सर्खेतलगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट उनीहरुलाई उद्वार गरिएको हो ।
सडकमा मागेर खाने र सडकमै रात बिताउनेको उद्धार गरेर उनीहरूलाई आश्रममा ल्याइएको जानकारी दिएका सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले भने, ‘कुल १ सय ५० जनाको उद्धार गरिएको थियो । अन्य एक सय जनालाई परिवारको जिम्मा लगाइएको छ । परिवारलगायत अन्य कोही आफन्त नभएकाहरुको उद्वार गरी आश्रय दिइएको हो ।’

देउती बज्यै मन्दिर परिसर ‘मगन्तेमुक्त’

सुर्खेतको प्रमुख धार्मिक स्थल गंगामाला देउती बज्यै मन्दिर परिसरलाई मगन्तेमुक्त बनाइने भएको छ । मन्दिर परिसरमा बसेर आर्थिक सहयोग रकम माग्नेहरुलाई मानव सेवा आश्रममा ल्याइने भएपछि मन्दिर मगन्तेमुक्त हुने दावी सरकारी पक्षले गरेको छ । जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरमा होडिंङबोर्ड स्थापना गर्दै मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-10-06)

५ माघ २०७६, आईतवार १५:००