सातामै ३९ लाखको सखरखण्ड

कर्णालीपत्र संवाददाता १ माघ २०७६, बुधबार १२:४१

पुनम विसी
सुर्खेत । माघे संक्रान्ति (माघी) लाई लक्षित गर्दै कर्णाली प्रदेशका लागि एक सातामा ३९ लाख रुपैयाँको सखरखण्ड (गञ्जी) आयात गरिएको छ । छिमेकी देश भारतबाट प्रति किलोग्राम ४५ देखि ५५ रुपैयाँका दरले ७ सय ७५ क्विण्टल सखरखण्ड भित्रिएको हो ।

गएको एक सातायता मात्रै भारतबाट आयात गरिएको उक्त सखरखण्ड रत्न राजमार्ग भएर सुर्खेत भित्रिएको हो । कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुका लागि भनेर भारतका विभिन्न स्थानबाट उक्त सखरखण्ड आयात गरिएको हो । स्थानीय मागका आधारमा आन्तरिक उत्पादनले नभ्याएपछि यति ठूलो मात्रामा सखरखण्ड भएको कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले जानकारी दिए ।

प्रदेशमा सखरखण्डको उत्पादन निकै न्यून रहेको कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाको भनाई छ । उनले भने, ‘केही नागरिकहरु आफ्नो परिवारलाई पुग्ने मात्र लगाउँछन् । बचेको परिमाण मात्र बिक्री वितरण हुन्छ ।’ कर्णालीमा ठूलो परिमाणका व्यवसायिक सखरखण्ड खेती नहुँने उनले जानकारी दिए ।

‘वर्षमा माघी तिहारमा मात्रै प्रयोग हुने सखरखण्डकै उत्पादन निकै न्यून भएपछि हामीले बजारको खपतलाई हेरेर छिमेकी देश भारतबाट आयात गर्न बाध्य भएका हौं ।’ कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले भने, ‘कर्णालीका जिल्लाहरु सुर्खेत, दैलेख, जुम्ला, कालीकोट, जाजरकोटलगायतका जिल्लाहरुका लागि सखरखण्ड आयात भएको हो । कृषि बजारमा रहेका फलफूल तथा तरकारी पसलहरुले मात्र उक्त परिमाणमा आयात गरेका हुन् ।’ उनका अनुसार कर्णालीको बजारलाई लक्षित गरेर भारतबाट आयात हुने तरुलको परिमाणमा भने कमी आएको छ । वीरेन्द्रनगरको कृषि बजारमा रहेका फलफूल तथा तरकारी पसलहरुले सुर्खेतको ३० क्विण्टल आन्तरिक उत्पादन र ४५ क्विण्टल तरुल चितवनको बजारबाट ल्याएर स्थानीय माग पूर्ति गरेको जनाएका छन् ।

के छ सम्भावना ?

प्रदेशमै खपत हुने कृषि वस्तु कर्णाली प्रदेशले आफै उत्पादन गर्न सक्दैन । धान–चामललगायतका प्राय खाद्यवस्तु छिमेकी प्रदेश र छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको छ । ८० प्रतिशतभन्दा बढी स्थानीय वासिन्दाको आत्मनिर्भर पेशाका रुपमा कृषि भएपछि पर्याप्त खेतीयोग्य जमिन, सिंचाइँ अभाव जस्ता समस्याका कारण स्थानीय उत्पादनले कर्णालीलाई मुस्किलले ९ महिना पुग्ने अनुमान स्वयम् सरकारी तत्थ्यांकले देखाएको छ । तर तरुल, सखरखण्ड जस्ता उत्पादनमा समेत कर्णाली परनिर्भर हुनु निकै दुःखद् कुरा भएको कृषि विज्ञ छवि पौडेलको ठहर छ ।

‘पाँगो तथा बलौटे माटो भएको जग्गामा तरुल र सखरखण्डको उत्पादन राम्रो हुन्छ ।’ कृषि विज्ञ पौडेल भन्छन्, ‘कर्णालीका प्रशस्त खोलाका बगर र खोला पसेको भू–भाग प्रशस्तै छन् । त्यो स्थानमा अन्य खेतिको उत्पाकतत्व कम हुने भए पनि सखरखण्डको उत्पादनको लागि निकै उर्भर मानिन्छ ।’ तर हाम्रो परनिर्भर कृषिकै कारण उत्पादनको सम्भावना बोकेको वस्तुमा समेत परनिर्भर हुनु परेको तर्क कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत रानाको छ । उनी भन्छन्, ‘तरुल र सखरखयडको उत्पादन कति हुन्छ भन्ने आँकडा प्रदेश सरकारसँग नभएकाले पनि यसको उत्पादन वृद्धिमा थप योजना तत्कालै कार्यान्वयन गर्ने अवस्था प्रदेश सरकारसँग छैन ।’

खेतीका लागि बिऊ पनि सहज र धेरै मलखादको आवयश्क नपर्ने भएका कारण कर्णालीमा तरुल र सखरखण्ड खेतीमा आत्म निर्भर हुने दावी कृषि विज्ञ पौडेलले गरे । उनले भने, ‘गरिवीको संज्ञा पाएको कर्णालीका बालबालिकामा कुपोषण नियन्त्रणका लागि सखरखण्ड उपयुक्त पनि हुने र बढ्दो बजारको माग पुर्ती गर्न पनि सकिने भएकाले प्रदेश र स्थानीय तहले यसको व्यवसायिक खेतीमा विशेष योजना ल्याउनुपर्छ ।’

के हो माघी ?

माघे संक्रान्तिका दिनलाई ‘पुसको पाक्य, माघको खाक्य’ पनि भन्ने चलन छ । पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिन बिहान सूर्य नउदाउँदै नुवाइ–धुवाइ गरी परिकार खाने चलन छ । यही दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । यही दिनलाई माघे संक्रान्ति, तलुवा संक्रान्ति र मकर संक्रान्ति पनि भन्ने गरिन्छ । घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी यस दिनका विशेष परिकार हुन् ।

माघ मध्ये हिउँदको एक महत्वपूर्ण महिना पनि हो । माघीको दिनदेखि सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बन्दै जाने देखिन्छ । यही दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथ गर्मी बढ्दै जाने मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-Paper (2076-10-02)

१ माघ २०७६, बुधबार १२:४१