युवाका प्राथमिकता निर्धारण गर्न सम्मेलन

कर्णालीपत्र संवाददाता २८ पुष २०७६, सोमबार १३:२४

सुर्खेत । कर्णाली प्रदेशका समग्र युवाहरूका प्राथमिकता निर्धारण गर्न प्रदेश स्तरीय युवा सम्मेलन शुरु भएको छ ।

प्रदेशका १० वटै जिल्लाका युवाहरूको सहभागिता रहेको सम्मेलनले युवाको क्षमता वृद्धि र विकासका साथसाथै युवालाई प्रदेश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने बारेमा छलफल गरेर कार्ययोजना निर्माण गरिने सम्मेलन आयोजक संस्था नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।

प्रदेशका २ सय ३० जना युवाहरू भेला गराएर दुइ दिनसम्म चल्ने सम्मेलनले युवाहरुलाई कृषि, पर्यटन, विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न गराउने लक्ष्यका साथ उक्त कार्य योजना निर्माण गर्न लागिएको हो ।
विभिन्न क्षेत्रमा संलग्न युवाहरूको सहभागितामा निर्माण गरिएको कार्य योजनाको कार्यान्वयनका लागि आयोजक संस्था र स्वयम् सम्मेलनमा सहभागी युवाहरूकै तर्फबाट प्रदेश सरकार, प्रदेशका योजना आयोग र संघीय सरकारलाई युवामैत्री नीति तथा कार्यक्रमको तय गर्न आग्रह गरिने अध्यक्ष बानियाँले बताए ।

आइतबारबाट शुरु भएको सममेलनको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले युवाहरूले तय गरेको कार्ययोजना अनुसार प्रदेश सरकारले आगामी वर्ष आफ्ना नीति तथा कार्यक्रम निर्माण गर्ने बताए । पहिलो पटक प्रदेशका सबै जिल्लाका युवाहरू भेला भएर आयोजना भएको सम्मेलनले तयार पार्ने कार्य योजना निकै ऐतिहासिक हुने जिकिर गरेका मन्त्री भण्डारीले युवाहरूले सरकारले लिएको समृद्धिको यात्रामा सँगै सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्राकृतिक रुपमा धनी कर्णाली सँधै भयानक गरिवीले विदेश जान भिजाका लागि लाइन लागेका युवालाई कर्णालीको माटोमै सुन फल्छ भन्ने सन्देश दिन प्रदेश सरकार अहोरात्र लागिरहेको छ,’ कर्णालीमा जन्मेका कर्मचारीलाई समेत कर्णालीमा आउन आग्रह गर्दा पनि नआएकोप्रति गुनासो पोखेका मन्त्री भण्डारीले मुलुकको निर्माण गर्ने ठेक्का राजनीतिज्ञको मात्रै नभएको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकेले सम्मेलनले निर्माण गर्ने कार्य योजना प्रदेशका युवा परिचालनका लागि कोशेढुङ्गा सावित हुने बताए । वर्तमान अवस्था बुझेर युवाहरूलाई सही तरिकाले परिचालन गर्ने रणनीति बनाउनुपर्नेमा जोड दिएका सचिव बिकेले प्रदेशको समृद्धिका सबैभन्दा ठूलो भूमिका युवाले नै खेल्न सक्ने ठोकुवा गरे ।

‘तथ्याङ्कअनुसार कर्णालीका ११ लाख युवामध्ये तीन लाखले मात्रै स्वदेशमा रोजगार पाएको देखिन्छ ।’ उनले भने, ‘बाँकी युवाहरू यात बेरोजगार छन् वा विदेश जानुपर्ने बाध्यता छ । ८५ प्रतिशत युवाहरू विदेश मात्रै जानुपर्ने बाध्यता छ । ५५ प्रतिशत मानिस पोषणबाट ग्रसित छन् भने ७ प्रतिशत मानिसहरू हप्तामा एक पटक भोकै सुत्नुपर्ने बाध्यता छ ।’
आइतबारबाट शुरु भएको सम्मेलन आज समापन हुने नेपाल युवा परिषद् कर्णाली प्रदेशका संयोजक इन्द्रजित सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रैथाने बालीको संरक्षणमा जोड देऊ

२८ पुष २०७६, सोमबार १३:२४
स्थानीय र परम्परागत बालीको विनाशले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन पोषण र गुण पनि हराउँदै गएको छ । पहिलो पटक, नेपालमा सन् १९६० को दशकमा उन्नत जातको बीऊ भित्रिएको हो, वर्णसंकर (हाइब्रिड) बीऊ देखिन थालेको त १९९० देखि मात्र हो । तर, यति छोटो अवधिमा आयातित बीऊबिजन देशका […]